वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

ठाकुरबाबामा विषादीमुक्त सप्ताह सम्पन्न ; कृषकहरुविच अन्तर्कृया

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, जेष्ठ २०, २०७५ ।    

बिमला ढकाल/भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका कृषि शाखाको आयोजनामा नगरपालिकाका बिभिन्न स्थानहरुमा विविध कार्यक्रम गरी विषादि मुक्त सप्ताह सम्पन्न भएको छ । विषादिले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले विषादिको असरका बारेमा जनचेतना फैलाउने उद्देश्यले जेष्ठ १३ गतेबाट शुरु भएको विषादि मुक्त सप्ताह कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
सप्ताहको अन्तिम दिन शनिबार भुरीगाउँको कृषि हाटबजार संकलन केन्द्रबाट विषादि जहर हो, औषधि होईन, विषादि मुक्त सप्ताह सफल पारौँ, प्राङगारीक खेती एवं जैविक खेती, कृषकहरुको उन्नती र प्रगति भन्ने नारा सहित निकालिएको र्‍यालीले भुरीगाउँ बजारको मुख्य चोक परिक्रमा गरेको थियो ।
समापन कार्यक्रममा बोल्दै वडा नम्बर १ का वडाध्यक्ष श्यामलाल थारुले प्राङगारीक मलको प्रयोग गरेर कृषि फर्म दर्ता गर्ने कृषकलाई ५० प्रतिशत करमा सहुलियत दिन सकिने र महिलाहरुका लागी ५० प्रतिशत छुटको समेत ब्यवस्था गरिएको बताए । प्राङगारिक क्षेत्र निर्माणमा नेतृत्वदायी भुमीका निर्वाह गर्न स्थानिय सरकार तयार रहेको थारुले उद्घोष गरे । प्राङगारीक क्षेत्र निर्माण गर्न सके सकरात्मक सन्देशको प्रवाह हुने र पर्यटकहरुमा वृद्धी गर्न सकिने कार्यक्रमका सहभागीहरुको धारणा रहेको थियो ।
एक हप्ताको अवधीमा ठाकुरद्धारा, बकुवा, मोहनपुर, बगनाहा र भुरीगाउँमा भएको कार्यक्रममा झन्डै ५ सय जना कृषकहरुसँग विषादिको असरका बिषयमा अन्तरकृया गरिएको प्रविधिक सहायक तथा विषादि मुक्त सप्ताहका संयोजक विरेन्द्र राउतले बताए ।
ठाकुरबाबा नगर स्तरीय कृषक समुह समन्वय समितीका अध्यक्ष शान्ता भण्डारीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रममा ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष श्यामलाल थारुको प्रमुख आतिथ्यता रहेको थियो । कृषि शाखा प्रमुख राम अवतार हरिजन, भुरीगाउँ खानेपानी उपभोक्ता समितीका अध्यक्ष मणिराज जैशी, वडा स्तरीय कृषक समन्वय समितीका अध्यक्ष तथा प्रतिनिधीहरु, जेष्ठ नागरिक चौतारीका अध्यक्ष कण्ठ कठायत, प्राबिधीक साहायक विरेन्द्र राउत, कृषि शाखा प्रविधिक साहायक धुर्वराज वम लगायत ८६ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: