वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

बर्दियामा बाघको संख्या बढ्यो (देशै भरिको विवरण सहित)

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, अशोज ७, २०७५ ।    

प्रेम बुढा/ठाकुरद्वारा,बर्दिया ।
गत पौषमा देशैभरि क्यामेरा ट्र्यापिङ प्रविधीबाट गरिएको बाघ गणनाको तथ्यांक आईबार सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तथ्यांक अनुसार बर्दियामा बाघको संख्यामा बृदि भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेर ८७ पुगेको हो । सन् २०१३ मा गरिएको गणनामा बर्दियामा ५० बयस्क बाघ भएको पुष्टि भएको थियो ।

झण्डै ५ बर्षको अवधीमा बर्दियामा ३७ वटा बाघ थपिएको निकुञ्जका निमित्त प्रमुख अशोक भण्डारीले जानकारी दिए । उनका अनुसार-‘बढेको संख्या अपेक्षिकृत नै हो ।’ बर्दियामा आहारा प्रजातिको संख्या राम्रो भएका कारण बाघको संख्या बढेको हुन सक्ने संरक्षणकर्मीहरुको दावी छ । त्यस्तै बाँके राष्ट्रिय निकुञ्जमा समेत बाघको संख्या वृद्धि भएको पाईएको छ । त्यहाँ बाघको औसत संख्या २१ पुगेको छ । फोटो पहिचान भएको संख्या बाँके निकुञ्जमा १७ छ । त्यस्तै यस अघि १२० वटा बाघ रहेको तथ्यांक सार्वजनिक भएको चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा आसपासका क्षेत्रमा संख्या घटेर ९३ मा झरेको छ । त्यहाँ ८५ वटा बाघको फोटो पहिचान भएको छ । त्यस्तै पर्सा राष्ट्रिय निकुञ्जमा १८ तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ पाइएको हो । क्यामेरा ट्रयापिङ विधीबाट विभिन्न ग्रिडमा राखिएका आधुनिक क्यामेराले निकुञ्जमा रहेका बाघको तस्विर खिचेको थियो । क्यामेरामा कैद भएका तस्बिरमा बाघको पाटा गनेर संख्या पत्ता लगाइएको हो । क्यामेरा ट्रयापिङ विधी प्रयोग हुनु पुर्व बाघको पाईला हेरर संख्या निर्धारण गर्ने गरिन्थ्यो । बाघको संख्या बढेका निकुञ्जका संरक्षणकर्मीहरुले वृद्धि भएको संख्याले उर्जा थपेको भन्दै खुशियाली मनाएका छन ।

प्रतिक्रिया दिनुहोस्: