वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

पेंडुलम घडीको सिद्धान्त

        प्रकाश जंग थापा   |   प्रकाशित मिति: सोमवार, जेष्ठ २१, २०७५ ।    

चेलोले भन्यो, ‘मैले नकारात्मक रुपमा प्रतिक्रिया देखाएको भए रब्बीलाई दुश्मन र उनकी पत्नीलाई शुभचिन्तक मान्ने थिएँ । तर त्यो क्षण म साक्षीको रुपमा रहँदा रब्बी हाम्रो शुभचिन्तक बन्ने सम्भाव्यता देखेँ । आज नभए पनि निकट भविष्यमा उनी साथी बन्न सक्छन् । उनकी पत्नीबाट भने केही आशा गर्न सकिन्न । उनी साथी बन्न सक्दिनन् ।’

हामी सबैले पेंडुलम घडी देखेका छौँ । पेंडुलम अगाडि र पछाडि अथवा दायाँ र बायाँ गरेको देखेका पनि छौँ । पेंडुलम घडीको सिद्धान्त बारेमा हामी सायदै जानकार छौँ । जब पेंडुलम दायाँ दिशातिर जान्छ, त्यसले बायाँ दिशामा फर्कन चाहिने ऊर्जा बटुलिसकेको हुन्छ । त्यसैगरी पेंडुलम बायाँ दिशातर्फ जाँदा दायाँ दिशातिर फर्कन चाहिने ऊर्जा बटुलिसकेको हुन्छ । यही संयन्त्रमा पेंडुलम अगाडि–पछाडि गरिरहन्छ । यो सिद्धान्तलाई यसरी पनि विश्लेषण गर्न सकिन्छ । आज कसैले हामीलाई प्रेम/प्रशंसा गर्छ भने उनले निकट भविष्यमा घृणा / आलोचना पनि गर्न सक्छ । यसका लागि हामी तयार हुनु जरुरी छ । आज घृणा/आलोचना गर्नेले पछि प्रेम /प्रशंसा गर्ने सम्भावना पनि उत्तिनै बढिरहन्छ । मात्र, हामी धैर्य हुन सक्नुपर्छ ।
ओशोले ‘दि आर्ट अफ लिभिङ’ पुस्तकमा एउटा कथा सुनाएका छन् । हसिद नामक एक जना यहुदी रहस्यवादीले एउटा पुस्तक लेखेका थिए । पुस्तक क्रान्तिकारी थियो । अर्थोडक्स धार्मिक नेताहरुले पुस्तक रुचाएनन् । त्यो समयको सबैभन्दा ठूला धार्मिक नेताले आफ्नो पुस्तक पढून् भन्ने उनी चाहन्थे । उनले आफ्ना चेलालाई सो पुस्तक अर्का ठूला धार्मिक नेतालाई उपहारस्वरुप प्रदान गर्ने जिम्मा लगाए । चेलोमा रहस्यमय भाव झल्कियो । धार्मिक नेताले कस्तो प्रतिक्रिया दिने हुन् भन्नेमा डर भएको कुरा लेखकसामु राखे । मिस्टिक लेखकले आफ्ना चेलालाई भने, ‘धार्मिक नेताबाट जे जस्तो प्रतिक्रिया आए पनि केही प्रतिक्रिया दिनु पर्दैन । धार्मिक नेताले पुस्तक पाउँदा कस्तो व्यवहार देखाउँछन्, त्यसको साक्षी/अवलोकनकर्ता भएर जस्ताको तस्तै बताऊ ।’
चेलो त्यो समयका ठूला धार्मिक नेता रब्बीको घर पुगे । रब्बी आफ्नी पत्नीसँग आँगनमा रमाइरहेका थिए । मिस्टिक चेलाले रब्बी सामु गएर भने, ‘मलाई मिस्टिक हसिदले पठाउनु भएको हो । उहाँले तपाइँका लागि पुस्तक उपहार पठाउनु भएको छ ।’ हसिदको नाम सुन्नेबित्तिकै धार्मिक नेता रब्बी रिसले आगो भए । पुस्तक भुइँमा फ्याँक्दै भने, ‘तिमी यहाँ आउने हिम्मत कसरी गर्‍यौ ? तुरुन्त फर्की हाल । मेरो नजरमा नपर्नु । मलाई यस्तो वाहियात पुस्तक पढ्ने फुर्सद छैन । कुनै पनि हालतमा पढ्ने पनि छैन ।’ उनको यस्तो नकारात्मक व्यवहारबाट मिस्टिकका चेला खिन्न भए । उनलाई केही भन्न मन नलागेको होइन, केही गर्ने कि भन्ने सोच नआएको पनि होइन तर चेलो आफ्ना गुरुको आदेश मान्न बाध्य थिए । यसर्थ केही नबोली रब्बीको गतिविधि हेरिरहे ।
रब्बीकी पत्नीले सम्झाउँदै भनिन्, ‘किन यति साह्रो रिसाउनु भएको ? तातो रिस गरेर हुन्छ ? लाइब्रेरीमा हजारौँ पुस्तक छन् । यो एउटा पुस्तक पनि त्यहीँ राखिदिनुस् न ! पछि फ्याँक्न मन लागे पनि फ्याँक्नु होला । किन विचरा चेलाको मन मन दुखाउनु हुन्छ ? यस्तो नकारात्मक प्रतिक्रियाको कुनै आवश्यकता छैन ।’
यति सुनेपछि चेलो धार्मिक नेताकी पत्नीप्रति कृतज्ञता प्रकट गर्न चाहन्थे तर उनलाई मिस्टिकको निर्देशनले बाँधेको थियो । त्यसकारण मूकदर्शक भएर बसिरहे । एक छिनपछि चेलोले बिदाइ लिन चाह्यो । रब्बी र उनकी पत्नीले चेलोलाई एकै स्वरमा जिज्ञासा राखे, ‘खै त ? तिमीले केही पनि भनेनौ नि ! अरु विशेष काम पनि थियो कि ?’
चेलोले भन्यो, ‘म यहाँ साक्षीको रुपमा मात्रै आएको हुँ । यहाँ जे हुन्छ, त्यसको रिपोर्ट दिनुपर्छ मैले तर यहाँबाट जानुभन्दा पहिले केही भन्न चाहन्छु । यो मेरो जीवनकै पहिलो अनुभव हो । आजसम्म अवलोकनकर्ता बनेको रेकर्ड थिएन । आज मलाई जीवनभर साक्षी÷अवलोकनकर्ता भएको भए भन्ने अनुभूत भएको छ ।’ यति भनेपछि उनी आफ्ना मिस्टिक गुरु सामु गए । उनले रब्बीको घरमा भएका घटनाको फेहरिस्त वर्णन गरे ।
हसिदले सोधे, ‘तिमीले कुनै प्रतिक्रिया दिएनौ ?’
‘म त केवल अवलोकनकर्ता मात्र थिएँ,’ चेलोको जवाफ थियो ।
हसिदले पुनः सोधे, ‘त्यो घटनाको तिमीले के निष्कर्ष निकाल्यौ त ? तिमीले त्यहाँ रब्बीको प्रतिक्रिया दिनेबित्तिकै आफ्नो धारणा व्यक्त गरेको भए के हुन्थ्यो ?’
चेलोले भन्यो, ‘मैले नकारात्मक रुपमा प्रतिक्रिया देखाएको भए रब्बीलाई दुश्मन र उनकी पत्नीलाई शुभचिन्तक मान्ने थिएँ । तर त्यो क्षण म साक्षीको रुपमा रहँदा रब्बी हाम्रो शुभचिन्तक बन्ने सम्भाव्यता देखेँ । आज नभए पनि निकट भविष्यमा उनी साथी बन्न सक्छन् । उनकी पत्नीबाट भने केही आशा गर्न सकिन्न । उनी साथी बन्न सक्दिनन् ।’
‘कसरी ?’ हसिद जिज्ञासु बने ।
चेलोले थप्यो, ‘रब्बीले रिसको झोँकमा पुस्तक भुइँमा बजारेका थिए । उनको व्यवहार हिंसात्मक थियो । मलाई पूर्ण विश्वास छ, पछि उनले पश्चताप गर्ने छन् । आज नभए पनि निकट भविष्यमा प्रायश्चित गर्नेछन् । अनि पुस्तक पनि पढ्ने छन् । उनकी श्रीमतीले शान्त स्वभावमा लाइब्रेरीमा हजारौँ पुस्तक भएको र यो एउटा थपिँदो के फरक पर्छ र भनिरहेकी थिइन् । त्यसकारण उनले पुस्तक पढ्छिन् भन्ने मलाई कत्ति पनि लाग्दैन । यसर्थ उनी हाम्रो दुश्मन हुन् । रब्बी भने हाम्रो साथी बन्न सक्छन् ।’
हसिद मुस्कुराए अनि भने, ‘तिमीले पेंन्डुलम घडीको सिद्धान्त राम्रोसँग बुझ्न सक्यौ ।’
जीवनमा हामी प्रतिक्रिया व्यक्त गर्न हतारिन्छौँ । तर्क गरेर भरसक माथि नै हुन चाहन्छौँ । जित्न चाहन्छौँ । तर कहिल्यै अवलोकनकर्ता बन्न चाहन्नौँ । ओरालो कटेपछि आउने भनेको उकाली नै हो । धैर्य भएर घटनाहरुलाई अवलोकन गर्ने बानी बसालौँ ।

प्रतिक्रिया दिनुहोस्: