वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

रंगमञ्चमा कोल्टे फेर्दै थारु नाटक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, पुस १९, २०७५ ।    

“हरेक मान्छेमा माया, मोह, वासना र लालसा हुन्छ, त्यसलाई समायोजन गर्न सक्दा जीवन फुल्ने घररुपी फुलवारी मनोरम हुन्छ ।

-शुशिल चौधरी
रंगमंच ललितकला मध्येको बहुरंगी क्षेत्र हो । संगीत, कलाको समिश्रणबाट अत्यन्त मनोरम ढंगबाट विषयवसतुको प्रस्तुति गरिने भएकोले रंगमंचले हरेक व्यक्तिलाई आकृष्ट गर्ने गर्दछ । रंगमञ्चले चलचित्र क्षेत्रको आधारभूमिको रुपमा पनि कार्य गर्दछ । विश्व रंगमंचको इतिहासलाई नियालेर हेर्ने हो भनेपनि नाट्य क्षेत्रबाट स्थापित कलाकारहरु नै रंगीन पर्दामा छाएका छन् । साठीको दसकपछिको नेपाली चलचित्र हेर्ने हो भने रंगमञ्चबाट उभ्रिएका कलाकाहरु नै चलचित्रमा स्थापित भएका छन् । दयाहांङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने र राजन खतिवडा त्यसका ज्वलन्त उदाहरण हुन् ।
राजधानीमा पंचायती व्यवस्थामा पनि सर्वनाम र गुरुकुलजस्ता नाट्य समूहहरु रंगमञ्चको उन्नयनका लागि क्रियाशील रहेका थिए । छयालिस सालको परिवर्तन पछि भने रंगमंचले गति लिन थाल्यो । अशेष मल्ल, सुनिल पोखरेल, अशोक शर्मा, निशा शर्मा, सरोज खनाल, माला शर्मा, बीरेन्द्र हमाल, अनुप बराल, रमेश रंजन झा, दिया मास्के यस्तो नाम हो जसले नेपाली रंगमंचलाई सही दिशा दिए । साठीको दसक पछि मण्डला थिएटर हाँकिरहेका राजन खतिवडा र शिल्पी नाटकघरका पिलर घिमिरे युवराज, राजकुमार पुडासैनी, सरीता गिरी, अरुणा कार्की, पशुपति राई, सरस्वति थारु, प्रदीपकुमार चौधरी, प्रणव आकाश, इन्द्र चौधरी लगायतका कलाकारहरु छन् ।
राजधानीका नाटकघरहरुमा किराँत, खस, मिथिला र अन्य हिमाली मिथक समेटिएका धेरै नाटकहरु मञ्चन भइसकेका छन् । राजधानीमा मंचन भएका खगेन्द्र संग्रौला लिखित ‘मंगलीको अधुरो क’ र शिल्पी थिएटरको संयोजनमा तयार भएको नाटक ‘दहिटान ढेंकी’ थारु भाषामा नभए पनि थारु समुदायको कथा र मिथक बोकेका नाटक थिए । थारु भाषा, संस्कृति र मिथक बोकेको नाटक भुरभुरा रहर थियो, जुन नाटक २०७३ मा सर्वनाम थिएटरमा मञ्चन भयो, जसको लेखन सुशील चौधरीले गरेका थिए । निर्देशन प्रणव आकाशले गरेका थिए । विगत दुई दसकदेखि बर्दिया जिल्लामा गठन भएको कचहरी नाट्य समूह (कनास) बर्दियाले थारु भाषामा कचहरी नाटक गरेर मुक्त कमैया पुनस्थापना, लैगिक समानता, स्थानीय स्रोत व्यवस्थापन सम्बन्धी द्वन्द्व लगायतका विषयमा बहस चलाएको थियो । त्यसपछिका दिनमा पश्चिम नेपालमा कचहरी नाटकको बहार नै आएको थियो । राजापुरको भिमेश्वरी नाट्य समूह, र शान्तिका लागि युवा संजाल, राजापुरमा आवद्ध कलाकारहरुले नाटक क्षेत्रको नेतृत्व गरे । घनिराम थारु, बालिका चौधरी, सुमित्रा चौधरी, जुना खड्का, पहारी चौधरी, शिवानी थारु, रमेश चौधरी, चन्द्र चौधरी, सुनिता चौधरी लगायतका कलाकारहरु स्थापित भए । हाल सैडान नाटक घर, राजापुरले थारु चर्चित लोककथामा आधारित नाटक ‘हिट्वा’ को मञ्चन थालेको छ । सुशील चौधरीद्वारा लिखित नाटक हिट्वा फागुनमा साँस्कृतिक संस्थानको आयोजनामा सुर्खेतमा हुनगइरहेको राष्ट्रिय नाटक महोत्सवमा नाटक हिट्वा प्रदेश नं ५ बाट छनोट भएको छ । थारु भाषाको नाटकको विकासमा यो परिघटना ऐतिहासिक छ । यस परिवेशमा प्रणव आकाशको नाटक करोटले सर्वनाम नाटक घरमा तहल्का मच्चाइरहेका छ ।
थारु भाषाको शब्द “करोट” को अर्थ कोल्टे फेर्नु हो । साँच्चै नै नेपाली समाज “करोट” लिने अर्थात कोल्टे फेर्ने क्रममा छ । नेपालको राजनीतिले कोल्टे फेरिसकेको छ । आर्थिक, सामाजिक तथा साँस्कृतिक “करोट” फेर्नु पर्ने बेला आएको छ । यसै परिवेशमा काठमाण्डौको कालिकास्थान स्थित सर्वनाम नाटक घरमा साँस्कृतिक कोल्टे फेराईको प्रयास भइरहेको छ, सप्तरंगी इन्द्रेणीजस्तो हाम्रो नेपाली समाजमा ललितकलाको माध्यमबाट नेपाली पहिचान निर्माण गर्न कटिवद्ध छन् कलाकारहरु । ख्याल बगालको आयोजना र सर्वनामको सहकार्य साथै थारु फिल्म्स प्रोडक्शनको सहआयोजना रहेको नाटक करोट लामो प्रतीक्षापछि मैले पनि हेरें । नाटकले मेरो रंगमंचीय मनोभावको तापमान बढाइदियो । निर्देशकको हैसियतले प्रणवले यथाचित मेहनत गरेका छन् । कथाको मुख्य पात्र सुकराम (इन्द्र चौधरी) श्रीमति सोन्या (सुनिता) ले भेटाएको सुनका कारण अनेक रंगीन सपना बुन्न थाल्छ, त्यसैका कारण उसले विरामी आमा, गर्भवति सोन्या र हृदयदेखि माया गर्ने दाई र भाउजुलाई बिर्सेर भर्खरै मेहनतले बनाएको घर अलग बस्नका लागि फोड्छ । नाटकमा आमा (उर्मिला थारु) ले विरहमा ‘टिली रंग टिली रंग बसिया….’ मैना गीत गाउँदा गाउँदै देहत्याग गर्दा कस्को मुटु ननिचोरिएला । सोरिहान सन्ह्ली (भूमिका थारु) सुनका कारण घर फोर्नु गलत भएको र आफुलाई सुन भेट्टाएमा नलिने भनेपनि माछा मार्दा खोलामा पाउँदा उनको मनोभावमा स्वार्थले फणा उठाउँदा उनको अनुहारमा देखापर्ने लालसा हेर्न लायक छ । निरज चौधरीले हास्य रसमा खेलेर दर्शकलाई पीडामा पनि हंसाएका छन् । दिपक (मंगर्रा) र शान्ति (जगमोति) ले पनि न्याय गरेका छन, आफ्नो चरित्रलाई । निर्देशक प्रणवले सामान्य तर भव्यता दर्शाउने मंचको परिकल्पना गरेर नाटकलाई जिवन्त बनाएका छन् । नाटकमा प्रयोग गरिएको नृत्यमा गतिको भाव र शैली सुधार गर्न सकिने ठाउँ छ । केही दृश्यहरु खुल्न सकेका छ्नन । संवाद र लाइट र साउण्डमार्फत जोड्न सक्दा नाटक थप सरस हुन सक्दछ ।
हरेक मान्छेमा माया, मोह, वासना र लालसा हुन्छ, त्यसलाई समायोजन गर्न सक्दा जीवन फुल्ने घररुपी फुलवारी मनोरम हुन्छ । लालसा यस्तो चिज हो, जब कसैको मनमस्तिष्कमा हावी हुन्छ, माया, प्रेम र जीवनको जिम्मेवारीको बारलाई भत्काएर फरक धारमा हिंडन थाल्छ । स्वर्गजस्तो घर, खण्डहरमा परिणत हुन्छ । करोट नाटकले यही प्रवृतिप्रति चोटिलो प्रहार गरेको महसुस गरें मैले । नेपाली राजनीतिले संरचनागत कोल्टे फेरेपनि मनोभावनागत करोट फेरेको महसुस आम जनताले गरिरहेका छैनन् । त्यसैले यो नाटक एक परिवारको मात्र होइन, आम समकालीन समाजको मनोदशाप्रति नै तिखो प्रहार गरेको छ । नाटक समाकालीन समाजप्रतिको परिशीलन हो, स्रष्टा र कलाकारहरुको सम्यक दृष्टिबाट उतारेको दर्पण दृष्टिगोचर गर्न आवश्यक छ । त्यसबाट समाजलाई गति दिन सघाउँदछ । नेपाली समाजको क्यानभासमा रंगभर्ने अभियानमा लामबद्ध रंगकर्मीहरुलाई प्रोत्साहन र हौसला दिन पनि नाटक हेर्न आवश्यक छ ।

(लेखक थारु भाषा संस्कृति संरक्षणका अभियन्ता हुन् ।)

प्रतिक्रिया दिनुहोस्:


Loading...