वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

ठाकुरबाबा नगरपालिकाको पेरहनीमा स्वास्थ्य केन्द्रको स्थापना

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक १३, २०७५ ।    

नगरपालिकाले गर्भवती महिलाहरुलाई आन्तरिक स्रोतबाट रु. १,०००/– नगदै उपलब्ध गराउने भएको छ । सुनौलो हजार दिनका आमाहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने नगरपालिकाले जनाएको छ ।

सौगात श्रेष्ठ/बर्दिया ।
ठाकुरबाबा नगरपालिका–२, पेरहनीमा स्वास्थ्य केन्द्रको स्थापना भएको छ । मंगलबार एक कार्यक्रमका बिच नगरप्रमुख घननारायण श्रेष्ठले स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् । स्थानियहरुलाई घरआँगनमै सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य केन्द्रको स्थापना गरिएको हो । स्वास्थ्य केन्द्रको स्थापनाका लागी वडा नं. २ को कार्यालयले यस आर्थिक वर्षमा २ लाख २५ हजार रुपैयाँ बजेट छुट्याएको वडा नं. २ का वडा अध्यक्ष हरिराम थारुले बताए ।

ठाकुरबाबा नगरपालिका शहरी स्वास्थ्य केन्द्र, पेरहनीको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठ ।

पेरहनी लगायतका गाउँका स्थानियहरु बिरामी हुँदा ओराही तरेर उपचारका लागी भुरीगाउँ जान बाध्य थिए । पेरहनीमा स्वास्थ्य केन्द्रको स्थापना भए संगै उपचारका लागि भुरिगाउँ जाने स्थानियहरुलाई सहज भएको छ । स्वास्थ्य केन्द्रको उद्घाटन भए संगै स्वास्थ्य केन्द्रबाट उपचार सेवा सुरु भएको छ । नगरपालिका भित्रका स्वास्थ्य संस्थामा पाईने औषधीहरु अब स्थानियले स्वास्थ्य केन्द्रबाटै लिन सक्ने वडा अध्यक्ष थारुले जानकारी दिए ।

नगरपालिका भित्र हाल ४ वटा वडाहरुमा स्वास्थ्य संस्था संचालनमा रहेका छन्, भने अन्य वडाहरुमा शहरी स्वास्थ्य क्लिनिक संचालनको तयारी भई नगरपालिकाको कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधिहरुको खरिदका लागी नगरपालिकाको आन्तरिक स्रोतबाट २० लाख रुपैयाँ छुट्याएर खरिदको प्रक्रिया अघि बढाईएको नगरप्रमुख घननारायण श्रेष्ठले बर्दिया अनलाईन संगको कुराकानीमा बताए ।

यस्तै नगरपालिकाले गर्भवती महिलाहरुलाई आन्तरिक स्रोतबाट पहिलो पटकको जाँचमा रु. ५००/– र चौँथो पटकको जाँचमा रु. ५००/– गरि रु. १,०००/– नगदै उपलब्ध गराउने भएको छ । सुनौलो हजार दिनका आमाहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने नगरपालिकाको कार्यालय सैनवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: