वि.सं.   बुधबार, अशोज २९, २०७६   तदनुसार  16 October 2019

ठाकुरबाबामा लागू भयो स्थानीय पाठ्यक्रम ‘हाम्रो ठाकुरबाबा’

        सुदीप अधिकारी   |   प्रकाशित मिति: बुधबार, जेष्ठ ८, २०७६ ।    

भुरिगाउँ/बर्दिया
ठाकुरबाबा नगरपालिकाले आफनो नगर क्षेत्रका विद्यालयमा लागू गर्ने गरि स्थानीय पाठ्यक्रम तयार पारेको छ । पाठ्यक्रमलाई ‘हाम्रो ठाकुरबाबा’ नामाकरण गरिएको छ । यो पाठ्यक्रम कक्षा १ देखि ५ सम्मका बालवालिकाका लागि तयार पारिएको हो । नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि ५ सम्म यो स्थानिय पाठ्यक्रम लागू गरिएको छ ।

ठाकुरबाबा नगरपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रम ( कक्षा १–५ )

स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्र २०७६ देखि नगर क्षेत्रका २७ वटा सामुदायिक विद्यालयमा लागू भएको छ । नेपाल सरकारको नियमानुसार आधरभूत तहसम्म स्थानिय विषय बस्तु समेटेर एक सय पूर्णाङ्कको स्थानिय पाठ्यक्रम तयार पारी लागू गर्न सकिने प्रवधान छ । सोही बमोजिम ठाकुरबाबा नगरपालिकाको भौगोलिक, ऐतिहासिक र आर्थिक अवस्थाको ज्ञान र सिप हासिल गराउने उदेश्यले स्थानीय पाठ्यक्रम तयार गरिएको नगरपालिकाले जनाएको छ ।

यो पाठ्यक्रमबाट कक्षा १ देखि ५ सम्मका बालवालिकामा ठाकुरबाबा नगरपालिका भित्रका सामाजिक, भौगोलिक, सास्कृतिक वैशिष्ट्यको पहिचान र सम्मान भावको विकास गर्न , यस क्षेत्रका ऐतिहासिक र प्राकृतिक सम्पदाहरुको संरक्षण, प्रवर्धन र विकासमा सहभागिता, स्वास्थ्य, प्रकृतिक विपत्तिप्रति सचेत रहने सक्षमताको विकास हुने उदेश्य लिइएको छ । पाठ्यक्रमबाट बालबालिकामा हरित, स्वस्थ, सफा, शान्त र सुरक्षित विद्यालयको विकासमा जिम्मेवारपूर्ण आचरणको विकास हुने लक्ष्य लिइएको छ ।
स्थानिय पाठ्यक्रममा स्थानीय भूगोल र समाज, स्थानीय संस्कृती र प्रविधी, यहाँका महत्वपूर्ण सम्पदाहरु, विद्यालय र वातावरण, हामी र हाम्रो स्वास्थ्यका साथै स्थानिय सरकार र सामाजिक संस्थाका विविध विषय बस्तुहरु समेटिएको छ । कक्षा १ देखि ५ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रमको साप्ताहिक पठन पिरियड ४ र कूल पाठ्यभार १ सय २८ कायम गरिएको छ । यो पाठ्यक्रमको पूर्णाङ्क एक सय तोकिएको छ ।
स्थानिय पाठ्यक्रम २०७६ बैशाख २५ गतेको नगर कार्यपालिकाबाट स्वीकृत तथा बैशाख २९ गतेको चौथो नगरसभाबाट अनुमोदन भई लागू गरिएको हो । विगतमा स्थानिय पाठ्यक्रम नहँदा यहाँका समाुदायिक विद्यालयहरुले स्थानिय पाठ्यक्रम अन्र्तगत एच्छिक अंग्रेजी विषय पढाउँदै आएका थिए ।
यस अघि स्थानीय पाठ्यक्रम निमार्ण नभएता पनि बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा कार्यरत विद्यालय वातावरण संरक्षण शिक्षा सञ्जाल(सेन्स)नेपालले वन, वन्यजन्तु र वातावरण संरक्षण सम्बन्धी गतिबिधी समेटेर मध्यवर्ती क्षेत्रका केही विद्यालयहरुमा कक्षा ५ र ६ का लागि वातावरण संरक्षण शिक्षाको पाठ्यक्रम लागू गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...