वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

ठाकुरबाबा नगरपालिकाको सबै सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, जेष्ठ २६, २०७५ ।    

सौगात श्रेष्ठ/ठाकुरबाबा (बर्दिया) ।
ठाकुरबाबा नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयको व्यवस्थापन समिति भंग गरेको छ ।

माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहतमा आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख घननारायण श्रेष्ठले बताए । यो संगै अब सम्बन्धित वडाका वडा अध्यक्ष वा सदस्यमध्येबाट एकजना सामुदायिक विद्यालयको ब्यवस्थापन समितिकोे अध्यक्ष हुनेछन् ।

साविकको विद्यालय व्यवस्थापन समिति भंग भए संगै नगरभित्रका सामुदायिक विद्यालयलाई नियमावलीमा भएको व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समिति पुनःगठन तथा विद्यालयस्तरमा गर्नुपर्ने अन्य व्यवस्था तत्काल कार्यान्वयन गर्न ठाकुरबाबा नगरपालिकाले पत्राचार गरिसकेको र सामुदायिक विद्यालयमाहरुमा नयाँ व्यवस्थापन समिति गठनको प्रक्रिया शुरु गरेको नगरपालिकाको कार्यालय, सैनवारले जनाएको छ ।

निर्वाचित जनप्रतिनिधी नै आजको सन्दर्भमा उपर्युक्त पात्र रहेको र विद्यालय विकासको मुख्य जिम्मेवारी पनि जनप्रतिनिधी कै रहेकोले विद्यालयको ब्यवस्थापन नगरपालिकाले गर्दा प्रधानाध्यापक तथा शिक्षकहरुलाई शैक्षिक कार्यमा ध्यान केन्द्रित गर्न सहज हुने र जसका कारण शैक्षिक गुणस्तर कायम गर्न टेवा पुग्ने नगरपालिकाले विश्वास लिएको नगरप्रमुख श्रेष्ठले बताए ।

संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्थाअनुसार यस्तो निर्णय भएको बताउँदैे स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ३ को उपदफा २ खण्ड ‘ज’ को सात ७ नं बुँदामा विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापनको व्यवस्थालाई नगरपालिकाले कार्यान्वयनमा ल्याएको नगरप्रमुख श्रेष्ठले बताए ।

यता केही अभिभावक तथा शिक्षापे्रमीहरुले कार्य व्यस्ततामा रहने जनप्रतिनिधीलाई विद्यालय व्यवस्थापन समितीको अध्यक्ष बनाउनु उपयुक्त नहुने तर्क गरीरहेका छन् । कुनै वडामा ५ वटा सम्म सामुदायिक विद्यालय भएको र सबै विद्यालय व्यवस्थापन समितीको अध्यक्ष जनप्रतिनिधी हुँदा विद्यालयको शैक्षिक गुणस्तरमा ह्रास आउन सक्नेमा समेत अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् ।

ठाकुरबाबा नगरपालिका भित्र माद्यमिक ६, आधारभुत ८ र प्राथमिक १८ गरी ३२ वटा सामुदायिक विद्यालयहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: