वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

पढाईलाई छेकेन उमेरले : ४८ वर्षमा कक्षा ८ को परिक्षा दिदैं अम्बिका

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, चैत्र ३, २०७४ ।    

सुदीप अधिकारी/ठाकुरबाबा ।
उमेरले ४८ वर्ष पुगिन अम्बिका थारु । सानो छँदा भेडाबाख्राको गोठालो र बुझने हुँदा घरको चुलोचौकोमै स्कूले उमेर बिताएकी बर्दिया ठाकुरबाबा नगरपालिका– ३ नेउलापुरकी अम्बिकाको दैनिकी आजभोली भने फेरीएको छ । यतीखेर उनी चुलोचौकोका साथै कितावसँग पनि रमाउन थालेकी छन् । उनी अहिले स्कुले उमेरको अधुरो पढाईलाई पुरा गर्ने अठोटका साथ कक्षा ८ को परीक्षा दिइरहेकी छन् ।
२६ वर्ष अघि कक्षा ७ पास भए लगत्तै घरजम गरेपछि टुटेको पढाईलाई अम्बिकाले अहिले निरन्तरता दिएकी छन् । तीन सन्तानकी आमा अम्बिका गत वैशाखमा स्थानिय सरस्वती आधारभूत विद्यालय नेउलापुरमा कक्षा ८ मा भर्ना भएकी थिइन् । अहिले उनी त्रिभुवन मावि परीक्षा केन्द्रबाट कक्षा ८ को स्थानिय तह स्तरिय परीक्षामा दिइरहेकी छन् ।

आधारभूत तह कक्षा ८ को परीक्षा दिँदै ४८ वर्षीया अम्बिका थारु

सामान्यतया नातीनातिना स्याहेर बस्ने उमेरमा पनि पढन थालेपछि इच्छा भए पढाईलाई उमेरले छेक्दैन भन्ने कुरालाई उनले सावित गरिदिएकी छन् । उनका जेठा छोरा कक्षा १२ पास गरेर कोरियन भाषा सिक्दैछन् । माइली र कान्छी छोरी क्रमश ११ र १० मा पढ्दै छन् ।
आधारभूत तह अध्ययन् पुरा गर्ने उमेर भनेको १२÷१३ वर्षसम्म हो । तर, उमेरले पाँच दशक पुग्नै लाग्दा पनी अधुरो पढाईलाई पुरा गर्ने उनको यो अठोटलाई सबैले स्यावासी दिएका छन् । यो उमेरमा पनि अधुरो पढाईलाई पुरा गर्ने अठोट लिएर स्कूल जानु अत्यन्तै अनुकरणिय काम रहेको स्थानिय शिक्षक प्रदिप भण्डारीले बताउँछन् ।
अम्बिकाको माइत सदरमुकाम गुलरिया हो । पढने उमेरमै बा आमाले बिहे गरिदिएपछि उनको पढाई टुटेको थियो । ‘ पढ्ने उमेरमा बिहे भयो । बिहेपछि घर व्यवहारले च्याप्यो । छोरा छोरीलाई हुर्काउन, पढाउनमै समय बित्यो । अहिले छोराछोरी हुर्के, पढे । अनि मैले पनि टुटेको पढाई पुरा गर्ने अठोट लिए, अम्बिकाले सुनाइन् । पढने उमेर गयो भनेर बस्नु भन्दा पढनका लागि उमेरले छेक्दैन भन्ने लागेर पढाई सुरु गरेकी हुँँ,’ उनले थपिन् । आफु पढन थालेपछि छोराछोरी र श्रीमान दंग परेको उनले सुनाइन् ।
पढाई गर्न लाज मान्न हुदैन भन्दै अम्बिकालाई उनका पतिले पनि निकै हिम्मत दिएका छन् । उनका पति खेतीकिसानी गर्छन् । समाजसेवा गर्न रुची राख्ने स्वभाव भएकी अम्बिका अहिले महिला स्वयमसेविका छिन । स्वयमसेविका भएकाले पनि पढाइलाई निरन्तरता दिने मनसायले पढन थालेको बताउँदै अम्बिकाले भनिन्,‘ तालिम गोष्ठिमा जानु पर्छ । तथ्याङ्क भर्नु पर्छ । सबैले पढाईको योग्यता सोध्छन् । त्यसैले पनि पढ्ने इच्छा जगाएको हो ।’ धेरै नसकेपनि एसईई पास गर्ने उनको अठोट छ ।
यो उमेरमा पढ्दाका केही तिता अनुभव पनि उनीमा छ । ‘ समाजका केहीले यो उमेरमा पढेर के गर्न खेजेकी हो भन्थे । सुरुसुरुमा त आफुलाई पनि अप्ठ्यारो लाग्यो । अब त केही अप्ठ्यारो लाग्दैन ।’ आफुले पढन थालेपछि गाउँका २÷४ जना महिलाले पनि पढन इच्छा गरेको अम्बिकाले सुनाइन् ।
अम्बिका जस्तै ठाकुरबाबा नगरपालिका–१ डुम्रेनी गाउँका ३५ वर्षीय दिर्ग टमटाले पनि यतिखेर कक्षा ८ को परीक्षा दिइरहेका छन् । पारिवारिक कारणले उनले बिचमै पढाई छाडेका थिए । पढाई छाडेर रोजगारका लागि भारत पसेका टमटाले पटकपटक गरि करिव दश वर्ष मुम्बईमा बिताए । मुम्बईमा काम गर्ने क्रममै विरामी भएर उनी थला परे । विरामीले अपांगता भएका टमटा अहिले गाउँमै छन् । अहिले आएर पढाईको महत्व बुझेपछि फेरी पढाई सुरु गरेको टमटा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्: