वि.सं.   मङ्लबार, साउन १, २०७५   तदनुसार  17 July 2018

ठाकुरबाबाका निजी शिक्षक र कर्मचारीको तलब स्थानिय तहले दिनु पर्ने माग

        सुदीप अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, बैशाख २५, २०७५ ।    

सुदीप अधिकारी/भुरिगाउँ (बर्दिया) ।
नेपाल शिक्षक महासंघ ठाकुरबाबा नगरकार्य समितिले ठाकुरबाबा नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा कार्यरत निजी शिक्षक र कर्मचारीहरुको तलब स्थानिय तहले उपलब्ध गराउनु पर्ने  माग गरेको छ । विद्यालयमा स्रोत अभाव हुँदा निजी शिक्षक तथा कर्मचारी व्यवस्थापन गर्न समस्या भएको भन्दै महासंघले उनीहरुको तलब स्थानिय तहबाट माग गरेको जनाएको छ ।

शिक्षक महासंघ ठाकुरबाबा नगरकार्य समितिका अध्यक्ष किरुलाल थारुले सोमबार निजी शिक्षक र कर्मचारीको तलबसहित अन्य ६ बुँदै माग राख्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । तत्कालिन जिल्ला शिक्षा कार्यालयले पिसिएफ शिक्षक कोटा अनुदानवापत दिदैँ आएको रकम कटौती गरेपछि विद्यालयहरुले शिक्षकलाई व्यवस्थापन गर्न समस्या परेको बताउँदै आएका छन् । पिसिएफ अनुदान बन्द भएपछि विद्यालयले निजी स्रोतबाट तलब दिँदै आएका थिए । लामो समयसम्म निजी स्रोतले शिक्षक धान्न नसक्ने भएपछि स्थानिय तहबाट स्रोत माग गरिएको शिक्षक महासंघका अध्यक्ष किरुलाल थारुले बताए ।

ठाकुरबाबा नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालय छन् । जसमा करिव ५० जना शिक्षक निजी स्रोतमा रहेको महासंघले जनाएको छ । ज्ञापन पत्रमा शैक्षिक कार्यविधी मस्यौदा समितिले पेश गरेको कार्यविधी पारित गरि शैक्षिक क्षेत्रमा देखिएको अन्यौल तत्काल हटाउन माग गरिएको छ ।

यसैगरि नगर भित्र संचालन हुने सम्पूर्ण शैक्षिक गतिविधीहरुमा महासंघसँग समन्वय तथा छलफल गरिनु पर्ने माग गरिएको छ । नगर शिक्षा कार्याविधि पारित नहुँदै गरिएको काज सरुवाप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । महासंघले विज्ञप्तीमा नगर शिक्षा कार्यविधि तत्काल पारित गरि सर्वजनिक गर्नेसमेत माग गरेको छ । महासंघको तर्फबाट नगरपालिकासहित ९ वटै वडा कार्यालयमा ज्ञापन पत्र बुझाएको शिक्षक महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: