वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

कर्मचारीको अभावले स्थानीय तहको सेवा प्रभावित

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, बैशाख २२, २०७५ ।    

कर्मचारी कम हुँदा सेवाग्राहीको काम ढिला हुने र धेरै दिन धाउनु पर्ने अवस्था हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

भुरिगाउँ, बर्दिया ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै बर्ष दिन पुग्न लाग्दा पनि सरकारले स्थानीय तहमा प्रशासनिक समुहका कर्मचारीहरु नपठाउँदा काम गर्न कठिनाई भएको छ ।

संघीयताको कार्यन्वयनमा मुख्य भुमिका राख्ने र आम जनतालाई परिर्वतनको प्रत्यक्ष अनुभूति गराउने वडा कार्यालयहरुमा सचिवको आपुर्ती हुन नसक्दा काममा कठिनाई आएको हो ।  बर्दियाका ६ वटा नगरपालिका र २ वटा गाँउपालिकाको जम्मा ७५ वटा वडा कार्यालय सञ्चालनका लागि हाल सम्म सरकारले निर्धारण गरेको प्रशासनिक समुहको ना.सु. (पाँचौ तह) को जनशक्ति जम्मा १८ जना मात्र कार्यरत रहेको र बाँकी वडाहरुमा सम्बन्धीत नगरपालिका तथा गाउँपालिकाबाट बैकल्पिक जनशक्ति प्रयोग गरि कार्य सञ्चालन गरिएको जिल्ला समन्वय अधिकारी बिश्वामित्र कुईकेलले बताए ।

साविक गाविसमा रहेका गाविस सचिवहरु बाहेक सरकारले थप प्रशासनिक जनशक्ति अहिले सम्म पनि पठाउन सकेको छैन । प्रशासनिक जन शक्ति नहुदा हाल पालिकाहरुले काम चलाउनका लागि केही वडामा संयुक्त वडा कार्यालय सञ्चालन गरि दुई वा तिन वटा वडा सम्म पनि एउटै ब्यक्तिबाट  कार्यसञ्चालन भईरहेको छ ।  त्यसबाट पनि सम्भव नभएका वडाहरुमा अधिकृत एक जना०, खरिदार (चौथो तह), सामाजिक परिचालक, महिला तथा बालबालिका कार्यालयका कर्मचारी लगाएतले बर्दियका कार्यालयहरु सञ्चालन गरिहेको अवस्था छ । नगरपालिका तथा गाउँपालिकाका पदाधिकारीहरुलाई कर्मचारी आपुर्तिको बिषयमा जिज्ञासा राख्दा हामीलाई एकदमै आवश्यक परेको जनशक्ति वडा सचिव हो । त्यसलाई सरकारले आपुर्ति गर्न सकेको छैन ।

यस्तै अन्य विषयगत कार्यालयका कृषि, स्वास्थ्य, शिक्षा, पशु सम्बन्धी कार्यालयबाट कर्मचारीहरु पठाईएको छ तर गेरुवा गाँउपालिका र बारबर्दिया नगरपालिकामा महिला तथा बालबालिका कार्यालय संग सम्बन्धित कर्मचारी पुग्न सकेको छैन ।  आफुहरुलाई गाउँपालिकाको कार्य सम्पादन गर्न आवश्यक जनशक्ति कमि भएको गेरुवा गाँउपालिकाका अध्यक्ष जानसिंह केसीले बताए । गेरुवा गाँउपालिकामा ६ वटा वडा मध्य ३ जना मात्र वडा सचिव रहेका छन् ।

बारबर्दिया नगरपालिकामा ११ वटा वडा मध्य ४ जना मात्र वडा सचिव रहेको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए । बारबर्दिया नगरपालिकामा हाल ३८ वटा कर्मचारी आवश्यक भएकोमा हाल १५ जना मात्र कर्मचारी जनशक्ति रहेको प्रमुख थारुले बताए ।  यसैगरी ठाकुरबाबा नगरपालिकामा पनि केही वडामा सचिव नहुँदा एउटै सचिवले दुई वटा वडा सम्हाल्नु पर्दा समस्या भएको नगर प्रमुख घननारायण श्रेष्ठले बताए । बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका जस्तै बर्दिया जिल्लाको ८ वटै स्थानिय तहमा जनशक्तिको अभाव रहेको छ । कर्मचारी कम हुँदा सेवाग्राहीको काम ढिला हुने र धेरै दिन धाउनु पर्ने अवस्था हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्: