वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

थारू जतिमा लोप हुँदै गइरहेको नृत्यको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, मंसिर ६, २०७५ ।    

– रेशम थापा/बर्दिया ।
थारू जाति पूर्व-मेचिदेखि पश्चिम महाकाली सम्म छरिएर रहेका छन् । थारू जातिको उत्पत्तिका सन्दर्भमा कतिपय विद्वानहरू यो जातिको पुर्खालाई मंगोलियन हुन् भनेर भन्दछन् भने कति यसलाई आर्य राजपूतका वंशज मान्दछन् । थारू जातिका उत्पत्तिको विषयमा अध्ययन, खोजी लामो समयदेखि चल्दै आएको छ । नेपालमा थारू जातिको बसोबास लिच्छविकालदेखि नै हुँदै आएको भन्ने प्रमाण चापागाउँको शिवदेव प्रथमको अभिलेखमा ‘स्थरुद्रङ्ग’को उल्लेख छ ।

रूको उत्पत्तिका विषयमा यो भनाइ पनि सुनिने गरेको छ, ‘चितौर, (राजपुताना) मा मुसलमानको आक्रमण भएपछि राजपूतहरूले १२औँ शताब्‍दीतिर घरका महिलाहरूलाई सुरक्षाका निम्ति उत्तर पहाडतिरका जंगलहरूमा पठाए । ती महिलाहरूले धेरै प्रतीक्षाको अन्तरपछि पनि श्रीमान फर्केर नआएपछि त्यहीँका निम्न जातिका र आफूसँग आएका नोकरचाकरहरूलाई श्रीमानका रूपमा स्वीकारेर घरजम गरे, यिनीबाट जन्मेका सन्तान नै ‘थारू’ भए । यसर्थ थारू जातिमा थरुनी घरमुली हुन्छन् । यो जाति मातृसत्तात्मक जाति हो । थारूहरू थरुनीलाई ‘रानी’ भन्दछन् । थारू जातिमा मातृसत्तात्मक प्रचलन अब रानाथारूमा मात्र सीमित हुन पुगेको छ ।

पश्चिम नेपालको बाँके, बर्दिया, कैलाली, कञ्‍चनपुर, सल्यान, दाङ र देउखुरीमा थारू जातिको बाहुल्यता बढी नै पाइन्छ । कुचिला, दनुवार, छरिया, दंगोरिया, कठरिया, रकटियाराना, खुनहा, सुनहार र राजि थारू जातिका थर हुन् । यी थारूमा कुचिला थरका थारूलाई माथिल्लो दर्जा दिने गरेको पाइन्छ । कुचिलाहरू जनै लगाउँछन् तर कुखुरा,सुगुर,जाँड, खाँदैनन् । यद्यपि यिनीहरू रक्सी खान्छन् । दाङबाट दंगोरिया, कठरबाट कठरिया र रझटबाट रझटिया थारू भएका हुन् । यिनीहरू हाँस ,कुखुरा र सुँगुर पालेर त्यसको मासु खान्छन् । यिनीहरू स्याल र काग पनि खान्छन् ।

दंगोरिया (दङ्गाली) धेरैजसो दाङ, देउखुरी, सल्यान , बाँके र बर्दियामा छन् । दंगोरियाले रानाथारूभन्दा आफूलाई बढी उन्नत जातको थारू ठान्दछन् । रानाथारू पनि आफूलाई द‌ंगोरिया भन्दा उन्नत नै ठान्दछन् । आफैँमा थारू समुदाय चाड, पर्व संस्कृतिमा सम्पन्न समुदाय हो । मघौटा नाच, सखिया नाच, लठ्ठी नाच, तरबार नाच , छोक्रा नाच, बर्का नाच, मुङग्राहुवा नाच, झुम्रा नाच, हुर्दुङवा नाच, राम झुम्मर नाच,दस्या नाचका साथै चाडपर्व थारू समुदायका मौलिक पहिचान हुन् । विशिष्ट सांस्कृतिक तथा मौलिक पहिचान बोकेको संस्कृति मध्येको एक हो सखिया नाच । विशेष गरी दंगोरिया (दङ्गाली) थारू समुदायमा सखिया नाचको प्रचलन रहेको पाइन्छ ।

कृष्णजन्म अष्टमिदेखि दसैँको पाँचौँ दिन अर्थात् कुजाग्रत पूर्णिमाको दिनसम्म सखिया नाच नाच्ने प्रचलन भएता पनि हालका दिनमा दसैँभन्दा १०/१५ दिन अगाडिबाट सखिया नाच्न सुरु गर्ने गरेको देखिन्छ । गुरुवाको थानमा आफ्ना कुलदेवताको पूजा गरिसकेपछि कुलदेवताको अनुमतिबाट त्यही दिनदेखि सखिया नाच नाच्न सुरु गरिन्छ । यस नृत्यको गीतमा कृष्ण भगवानको जीवन गाथा पाइन्छ । सखी अर्थात् साथीहरूले पंक्तिबद्द भई नृत्यमा सहभागिता जनाउँदछन् । सखिया नृत्य अरूवेला रातिमा मात्र नाच्ने गरिन्छ भने अष्टमीदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म दिउँसो परम्परागत पहिरन फरिया, चोलिया, सुतिया, कन्सेरी, पोते,माला र टौक आदि लगाई शृंगार गरेर नाच्ने गरिन्छ ।

गीत गाउँदै नाच्ने सखिया नाचलाई ‘मेर्री’ नाच भनिन्छ ,यसमा केटीहरू गीत गाउँदै नाच्छन् । अर्को मादलको तालमा नाच्ने सखिया नाचलाई ‘पैया’ भनिन्छ । यसमा मादलको तालमा सबै सखीहरू अर्थात् थरुनीहरू एकै किसिममा खुट्टाको ताल मिलाएर नाच्ने गर्दछन् । अन्तमा ‘गिदाहा पैया’ यसमा सबै थरुनीहरू गीत गाउँदै पैया लाग्ने गर्दछन् । पैयामा खुट्ठाको ताल मिलाइन्छ । यस नृत्यमा गीत गायन अगुवा र पछुवाको व्यवस्था गरिएको हुन्छ । त्यसैगरी मादल बजाउनका लागि अगुवा थारू र पछुवा थारूको व्यवस्था गरिएको हुन्छ । कुनै कारणले गर्दा नृत्यमा अगुवा थारू उपस्थित हुन नसकेको अवस्थामा पछुवाले मादल बजाउने गर्दछ भने पछुवा नहुँदा अगुवाले मादल बजाउने गर्दछ ।

सखिया नाच नगरे गाउँमा अनिकाल पर्ने, महामारी फैलने जनविश्वास रहेको छ । यो नृत्य सुरु गर्नुपूर्व गुरुवाको अनुमति लिनुपर्ने र गुरुवाले मन्त्र फुकिदिने चलन रही आएको छ । मघोटा नाच जस्तो सखिया नाच छोडुवा हुँदैन । मघौटा नाच गाउँ,टोल जहाँ मन लाग्यो त्यही माया प्रेमका गीत गाई नाच्ने प्रचलन पाइन्छ । सखिया नाच निश्चित आफ्नो टोल मात्र नाच्ने गरिन्छ जसको गीतमा महाभारतको कृष्णलीलाको बारेमा वर्णन गरिएको हुन्छ । साथै नर्तकीहरूलाई दृष्टात्माबाट बचाउन गुरुवाको पनि व्यवस्था गरिएको हुन्छ । यदि अर्को टोल वा गाउँमा नाच्नुपर्ने भएमा गुरुवाको अनुमति लिएर मात्र नाच्न पाइने प्रचलन रहेको छ । सखिया नाचमा सुरुका दिन फर्सीको पात हातमा लिएर नाचिन्छ भने दोस्रो दिनदेखि केही दिनसम्म सनपाटको फुर्का हातमा लिएर मजिरा बजाउँदै नाचिन्छ । सखिया नाचका क्रममा नाचेको प्रत्येक १०/१० दिनमा ‘चुकी’ खाइन्छ भने कोजाग्रत पूर्णिमासम्म नाचेर अन्तमा सबै गाउँका भद्र भलादमी, गुरुवा, बडघर र सबै गाउँलेलाई बोलाएर ‘ख्यारा’ खाइन्छ ।

पहिला-पहिला हरेक थारू समुदाय,टोल टोलमा नाचिने यो नृत्य वर्तमान समयमा केही छिटफुट ठाउँमा मात्र नाच्ने गरेको पाइन्छ । सदियौँदेखि नाच्दै आएको सखिया नृत्य विस्तारै हराउँदै गएको छ । पहिला कृष्णजन्म अष्टमिदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने यो नृत्य हालका दिनमा १०/१५ दिनमा मात्र सीमित हुन पुगेको स्थानीय शिक्षक चन्द्रलाल चौधरी बताउँछन् । अधिकांश दंगाली थारूहरूले विस्तारै यो नृत्य गर्न छोडिसकेका छन् । नयाँ पुस्तालाई यो संस्कारको महत्व थाहा नहुनु, सखिया नृत्यमा गाइने गीत गाउन नजान्नु र आयातित संस्कृतिमा आकर्षित हुनुले सखिया नाच हराउँदै गएको यथार्थता सखिया नाचका जानकार चन्द्रलाल चौधरी बताउँछन् ।

थारूहरू सखिया नाचको क्रममा होस् वा चुकी खाने क्रममा जाँड खाने, होहल्लाा मच्चाउने,थरुनीमाथि दुर्वव्यहार गर्नेजस्ता असामाजिक कार्यले गर्दा पनि यो नृत्यप्रति थरुनीहरूको रुचि घट्दै गएको स्थानीय हरि चौधरी बताउँछन् । थारूहरूले नै यसरी आफ्नो मौलिकता बिर्संदै जाँदा विस्तारै यो संस्कृति मात्र नभई सभ्यता नै लोप हुँदै जाने कुरामा शंका नगर्न सकिन्न । थारूहरूको यो मौलिक संस्कृति बचाउन थारू समुदाय मात्र नलागी स्थानीय सरकारले पनि विशेष चासोको साथ सकारात्मक पहल कदमी गर्न जरुरी देखिन्छ । कुनै पनि जातजातिको सभ्यता,संस्कृति,मौलिकता भाषाको संरक्षण, सम्वर्द्धन,र प्रवर्द्धन गर्नु स्थानीय सरकारको दायित्व हो । यसर्थ पनि थारू जतिमा लोप हुँदै गइरहेको यो विशिष्ट मौलिक पहिचान बोकेको सखिया नृत्यको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो ।

सन्दर्भसूचीहरु :
थारू जाति एक अध्ययन – डा.मोदिनीप्रसाद शर्मा
थारू जाति र तिनको संस्कृति – ईश्वर बराल

प्रतिक्रिया दिनुहोस्: