सामुदायिक वनमा रूख काट्दै गरेको भिडियो सार्वजनिक भएपछि…
बाँसगढी, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सतखलुवा जागृति सामुदायिक वनमा दुई दर्जन भन्दा बढी रूख कटान भएका छन । बारबर्दिया नगरपालिका–९, मा रहेको सामुदायिक वनमा आरा, बञ्चरो र हँसिया प्रयोग गरी रूख काटिएको भेटिएको छ । विगतमा पनी सो वनमा रुखहरु काटिँदै आए पनि त्रासका कारण आफुहरु बोल्न नसकेको स्थानियहरुले बताएका छन् । सामुदायिक वनमा रूख कटान गरेको भिडियो सार्वजनिक भएपछि बर्दिया राष्ट्रिय निकुञ्जले आवश्यक कारबाहीका लागि कदम चालिएको बताएको छ ।
समितिका पदाधिकारीहरुकै मिलेमतोमा खयर र अस्नाका रूख काटिएको वनका हेरालु सोमप्रसाद थारूले बताए । काँचो र सुकेका रूख समितिको निर्णय बिना फँडानी गरिएको थारुले बताए । रूख कटानको सूचना बर्दिया राष्ट्रिय निकुञ्जलाई गराएको भन्दै वन हेरालु थारूलाई समितिका पदाधिकारीले धम्क्याएका छन । वन संरक्षण गर्ने पदाधिकारीबाटै फँडानी भएपछि स्थानीयले निकुञ्जलाई जानकारी गराएका हुन । विवाहका लागि भन्दै समितिका पदाधिकारीले रूख कटान गरेको स्थानीयले बताएका छन ।
उता बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत अशोक कुमार भण्डारीले सतखलुवा जागृति सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीलाई ३ दिनभित्र मुख्यालय ठाकुरद्वारामा उपस्थित हुन पत्राचार गरेको बताए ।