वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

फिल्ड र व्यवस्थापन खर्च नपाएको श्रोत व्यक्तिहरुको गुनासो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, फाल्गुन २१, २०७४ ।    

सुदीप अधिकारी/बर्दिया।
बर्दिया जिल्लाका श्रोत व्यक्तिहरूले फिल्ड भत्ता र स्रोतकेन्द्र व्यवस्थापन बापत रकम नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष सुरु भएको आठ महिना बित्न लाग्दा पनि स्रोत व्यक्तिहरूले भत्ता र व्यवस्थापन खर्च पाएका छैनन् । चालू आर्थिक वर्ष २०७४/७५ को साउन महिनादेखि हालसम्म फिल्ड भत्ता र स्रोत केन्द्र व्यवस्थापन खर्च नपाउँदा काम गर्न गाह्रो भएको स्रोत व्यक्तिहरूको भनाई छ ।
सरकारले स्रोत व्यक्तिहरूलाई तलबबाहेक मासिक १ हजार ८ सयका दरले फिल्ड भत्ता दिने व्यवस्था गरेको छ । तर यहाँका स्रोत व्यक्तिले आठ महिना बित्दा पनि फिल्ड भत्ता पाउन सकेका छैनन् । भत्ता नपाउँदा फिल्डमा गएर काम गर्न अप्ठ्यारो पर्न थालेको स्रोत व्यक्तिहरूको गुनासो छ । गोजीको रकमले मोटरसाइकलमा इन्धन हालेर फिल्ड जानुपर्ने बाध्यता रहेको ठाकुरबाबा नगरपालिकाअन्तर्गत बगनाहा स्रोत केन्द्रका स्रोत व्यक्ति नन्दराम अधिकारीले गुनासो गरे । ‘केही समय त पकेटकै खर्चले थेग्न सकिन्छ तर यति लामो समय भयो फिल्ड भत्ता पाइएको छैन, कति दिन पकेटकै पैसाले थेग्ने ?’ स्रोत व्यक्ति अधिकारीले भने ।
शिक्षा कार्यालयमा पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको स्रोत व्यक्तिहरूको गुनासो छ ।
औपचारिक बैठक र अनौपचारिक भेटघाटमा पनि रकम निकासाका लागि अनुरोध गर्दा पनि शिक्षा कार्यालयले वास्ता नगरेको एक स्रोत व्यक्तिले बताए । यसैगरी शिक्षा कार्यालयले स्रोत केन्द्र व्यवस्थापन खर्च पनि हालसम्म निकासा नगरेको स्रोत व्यक्तिहरूले बताएका छन । शिक्षा कार्यालयले स्रोत केन्द्र व्यवस्थापनबापत पटकपटक गरी वार्षिक ६५ हजार रुपैयाँ दिने व्यवस्था छ । तर हालसम्म पनि शिक्षा कार्यालयले व्यवस्थापन खर्च शीर्षकमा एक रुपैयाँ पनि निकासा नदिएको स्रोत व्यक्तिहरू बताउँछन् ।
शिक्षा कार्यालयले दिने व्यवस्थापन रकमबाट स्रोत केन्द्र स्तरमा गोष्ठी, सेमिनार, प्रधानाध्यापक बैठकलगायतका क्रियाकलाप सञ्चालन गर्ने गरिन्छ । तर हालसम्म निकासा नहुँदा आफूहरूले आफ्नो खल्तीको रकम खर्च गरेर काम गर्नुपरेको स्रोत व्यक्ति नन्दराम अधिकारीले बताए ।
बर्दिया जिल्लामा १० स्रोत व्यक्ति छन् । एउटा स्रोत व्यक्तिले संस्थागत र निजी विद्यालय गरी औसतमा ४० वटा विद्यालय निरीक्षण गर्नुपर्छ । अनुगमन तथा विभिन्न तथ्यांक संकलन गर्न स्रोत व्यक्तिहरू विद्यालय पुग्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्: