वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

छोटी भन्सार सञ्चालन नहुँदा करोडौँको राजश्व संकलन हुन सकेन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, भदौ ३०, २०७५ ।    

भन्सार बन्द रहँदा चोरी पैठारीका कारण वार्षिक झन्डै पाँच करोड राजस्व संकलन गुमाउनु परेको छ ।

मिन अधिकारी/राजापुर (बर्दिया) ।
भन्सार कार्यालय बर्दियामा जनशक्ति अभावका कारण १८ वर्षदेखि बन्दरहेका जिल्लाका आधा दर्जन छोटी भन्सार सञ्चालनमा आएका छैनन् ।

द्वन्द्वकालमा बन्द भएका भन्सार जनशक्ति अभावमा पुर्नस्थापना नहुँदा राजस्व संकलन प्रभावित भएको छ । भन्सार बन्द रहँदा चोरी पैठारीका कारण वार्षिक झन्डै पाँच करोड राजस्व संकलन गुमाउनु परेको छ । मूल भन्सार कार्यालय राजापुरका प्रमुख ओपेन्द्र हमालले जनशक्ति अभावमा छोटी भन्सार सञ्चालन गर्न नसकिएको बताए । अहिले मूल भन्सार राजापुर र छोटी भन्सार ताराताल र गुलरियामा १७ कर्मचारी छन् । बन्द भन्सार सञ्चालन गर्न करिब ५० कर्मचारीको आवश्यकता रहेको बर्दिया अनलाईन संगको कुराकानीमा उनले बताए ।

‘सबैभन्दा बढी तस्करी हुने कोठियाघाट र पडेरिया हुन्,’ प्रमुख हमालले भने, ‘त्यहाँ तत्काल छोटी भन्सार कार्यालय सञ्चालन गरिएमा अवश्य राजस्व वृद्धि हुन्छ ।’ द्वन्द्वकालमा पडेरिया, गणेशपुर र पश्चिम छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगन्ज नाकामा रहेका छोटी भन्सार अन्यत्र स्थानान्तरण गरिएका थिए । जमुनीस्थित पडेरिया नाका द्वन्द्वकालपछि सञ्चालनमा आएको थियो । तर, जनशक्तिको अभाव देखाउँदै एक दशकअघि बन्द छ ।

नाकाबाट लाखौं रुपैयाँका दैनिक उपभोग्य खाद्यान्न लगायत हार्डवेयरका सामान खुलेआम तस्करी हुँदा राजस्व उठ्न सकेको छैन । छोटी भन्सार नभएका कारण राजस्वमा ठूलो असर परेको भन्सारका अधिकारीहरू बताउँछन् । ‘प्रशासनको सहयोग बिना तस्करी नियन्त्रण हुनै सक्दैन,’ प्रमुख हमालले भने, ‘पूर्व र पश्चिमका छोटी भन्सार नहुँदा चोरी तस्करी बढेको छ ।’ व्यापारिक स्रोतका अनुसार भारतबाट आयात गरिएका शतप्रतिशत सामानको भन्सार गरिँदैन । केही मात्रामा गरिए पनि सामान कम देखाएर राजस्व र भन्सार बुझाउने गरिएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ को असार मसान्त सम्म २ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरिएको राजापुर भन्सार कार्यालयले जनाएको छ । भन्सारले चालु आर्थिक वर्षमा ३ करोड ६५ लाख राजस्व उठाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्: