वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

विमा रकममै सहमति गर्न प्रशासनले दबाव दिएको पिडितको गुनासो

        प्रेम बुढा   |   प्रकाशित मिति: आइतवार, बैशाख ९, २०७५ ।    

प्रेम बुढा/मधुवन (बर्दिया) ।
राजापुर नगरपालिका—८, धोविनिपुरमा बसको ठक्करबाट ज्यान गुमाएकी बविता शाहीका आफन्तले प्रशासनले पेल्न खोजेको गुनासो गरेका छन ।

उचित राहतको माग गर्दै विरोधमा उत्रिएका उनीहरुले विमा वापत पाउने रकममै सहमति गर्न प्रशासनले दबाव दिएको गुनासो गरेका हुन् । पीडितले पाउने क्षतिपूतिको सम्बन्धमा पटक पटक भएका छलफल निष्कर्षमा पुग्न नसक्दा राजापुर क्षेत्रमा ३ दिन देखि नियमित रुपमा सार्वजनिक यातायात चल्न सकेका छैनन् ।

शान्तिबजारबाट काठमाण्डौको लागि छुटेको ना ७ ख ९०५ नम्बरको कृष्णसार यातायात समितिको बसले ठक्कर दिदा बैशाख ७ गते शुक्रबार ११ बर्षिया शाहीको घटनास्थल मै ज्यान गएको थियो । यातायात समितिले यात्रु विमा बापतको ५ लाख बाहेक अरु ३० हजार सम्म दिन सकिने बताएको बुझिएको छ । तर पिडितहरुले विमा बापतको ५ लाख बाहेक अरु १५ लाख पाउनु पर्ने अडान लिएपछि समस्या लम्बिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमूख जनक भट्टराईले जानकारी दिए ।

पिडितले मागेको रकम धेरै भएकोले विमा वापत पाउने रकममा सहमति गर्न आग्रह गरेको तर दबाव नदिएको भट्टराईले बताए । ‘सडकको आफ्नै साइड मा हिडेकी बच्चालाई गलत साइडमा आएर ड्राइभरको लापरबाहीले मारेको छ ।’ स्थानीय छिमेकी राम प्रसाद ढुंगानाले आक्रोशित हुँदै भने ‘भेडा बाख्रा मारेको हो र रु मृतक बबिताको बुवा लामो समय देखि भारतबाट घर नफर्केको तथा आमा नभएकोले मामाघरमा बस्दै आएकी थिइन् । उनको एक दाजु र सानो भाइ छन् ।

आमाबुवा नभएकोले प्रशासनले सानो भाइको भविष्यको लागि सोच्नु पर्ने स्थानीयको माग छ । बर्दिया अनलाईनसँग कुरा गर्दै छिमेकी ढुंगानाले भने ‘ बालकको नाममा खाता खोलेर विमाको रकम र माग बमोजिमको रकम राखिदिएको आउने ब्याजबाट उसको पढाई खर्च र भविष्य व्यवस्थापन हुन्थ्यो ।’ तर त्यस तर्फ प्रशासनले नसोचेको उनको भनाई छ । ठक्कर दिने बसलाई राजापुर प्रहरी कार्यालयमा लैजादा प्रहरीले क्षतिपूर्तिको विषयमा दिएको आश्वासन र अहिले प्रहरीले पीडितलाई गरेको व्यवहारले पीडित नै मर्कामा परेको स्थानीयको गुनासो छ । क्षतिपूर्तिको विवाद टुंगिन नसक्दा मृतक शाहीको शव प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्: