वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बर्दियामा निर्माणाधिन हुलाकी सडकमा जोखिम कम गर्न प्रहरी सकृय

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०७५ ।    

प्रेम बुढा/मधुवन ।
निर्माणाधिन गुलरिया-भुरिगाउँ र बेलुवा-राजापुर हुलाकी सडक खण्डमा पछील्लो समय चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै गएको छ । तिब्र गति, ओभरटेक र सडकमा बनाईएका ब्रेकरका कारण यात्रुले अनाहकमा ज्यान जोखिममा राखेर हिंड्नुपरिरहेको स्थानियको गुनासो छ । केही परिदृश्यहरु हेरौँ:
घटना-१
गत असोज १२ गते मधुवन नगरपालिकाकी ४८ वर्षिया सुनिता चौधरी ना ५ ख ३६९४ नम्बरको बस चढेर सानोश्रीबाट गुलरीया जादै थिईन । बसको गति धेरै थियो । कालोपत्रे गर्न ठिक्क पारिएको भुरीगाउँ गुलरीया सडक खण्डमा राखिएको ब्रेकरमा बस उफ्रियो । बसको सन्तुलन विग्रिदा उनको बस भित्रै ढाड भाँचियो । प्रहरीको रोहबरमा गाडीधनिले उपचार गर्ने सम्झौता भएपछि उनी हाल औषधी गरेर घरमा बसीरहेकी छन। ३ महिना पछि उनलाई डाक्टरले फेरी बलाएको छ ।
घटना-२
त्यस्तै गएको असोज १४ गते राजापुरबाट सदरमुकाम गुलरीया जादै गरेको बस मधुवनको खाता क्षेत्रमा दुर्घटना भयो । दुर्घटनामा परि कैलाली टिकापुर नगरपालिका १ का ६० बर्षिया विर बहादुर दमाईको ज्यान गयो ।
घटना-३
मंसिर ६ गते विहिबार नेपालगन्जबाट गोला जादै गरेको ना ३ ख ८५५४ नम्बरको बस खैरापुरमा दर्घटना भयो । घटनामा बाँसगढी माछागडका ४५ वर्षीय कर्ण बहादुर सुनारले अकालमै ज्यान गुमाउनु पर्‍यो ।
यी केही प्रतिनिधि घटनाहरु मात्र हुन । पछिल्लो समय बर्दियास्थित निर्माणाधिन हुलाकी सडकमा राखिएको ब्रेकरका कारण दुर्घटना हुन थालेपछि ईलाका प्रहरी कार्यालय सानोश्रीले ड्राईभरहरुलाई गति सिमित गर्न आग्रह गरेको छ ।
हुलाकी सडकमा चल्ने यात्रु बाहक बस, ट्रिपर तथा अन्य सवारी साधनका चालकहरुले तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना हुन सक्ने भन्दै पहिलो चरणमा सम्झाईबुझाई गर्ने अभियान चलाईएको सानोश्री प्रहरी प्रमुख गणेशमान खड्काले बताए । उनका अनुसार ‘हुलाकी सडकमा चालककै लापरबाहिले पछिल्ला घटनाहरु भइरहेका छन् । यसलाई रोक्नु पर्छ भन्ने उद्धेश्यले चालकलाई गाडी विस्तारै चलाउन भनिएको छ ।’ गति कम नगर्ने चालकलाई कार्वाही गरिने उनको भनाइ छ । हुलाकी सडकको दुर्घटना न्यूनिकरण गर्न प्रहरी र ट्राफिक प्रहरी सयूक्त रुपमा खटिएका हुन् । हुलाकी सडकमा कालोपत्रेका लागि सव—वेस तथा वेसको काम भइरहेको छ भने वेसको सम्पूर्ण काम सकिएको सानोश्रीदेखि खैरापुर क्षेत्रमा कालोपत्रे गर्न ठिक्क पारिएको खण्डमा ब्रेकर राखिएको छ । उक्त सडक खण्डमा काम गरिरहेको गणपति ग्रुप कन्सट्रक्सनले तीव्र गतिका कारण कालोपत्रे गर्न ठिक्क पारिएको बाटो विग्रिने भन्दै करिब ५० मिटरको दुरीमा ब्रेकर राखेको छ । चिसो मौसम कालोपत्रेका लागि अनुकुल नहुने भन्दै कालोपत्रे गर्न थालिएको हुलाकी सडकको कालोपत्रे माघपछि हुने ठेकेदार कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्: