वि.सं.   आइतवार, कार्तिक ४, २०७५   तदनुसार  21 October 2018

नेपालगन्ज–कोहलपुर रेल सेवाको काम धमाधम चल्दै

        छापाबाट   |   प्रकाशित मिति: सोमवार, चैत्र १२, २०७४ ।    

नेपालगन्ज,बाँके ।
नेपालगन्ज हुँदै कोहलपुरसम्म रेल सेवा सञ्चालन गर्ने योजनाअन्तर्गत धमाधम काम अघि बढिरहेको छ । भारतीय प्राविधिकको टोलीले हालै सीमा बजार रुपैडिहाको नेपालगन्ज रोडबाट कोहलपुरसम्म ‘लिक’ रेखांकन सकेको छ ।
अब लागत रकम, आवश्यक भौतिक संरचना र रेल सेवाले छुने बस्तीको पहिचानलगायत काम थालिँदै छ । नेपाल रेल विभागका सब–इन्जिनियर रमेश यादवले दुई–तीन दिनमै अन्तिम अध्ययनको काम पूरा हुने बताए । उनी भारतीय टोलीलाई सघाउन नेपालगन्ज आएका हुन् । ‘एक सातामै अध्ययन सकिने भनिए पनि एक–दुई दिन बढी लागेको छ । केही दिनमै सबै काम पूरा हुन्छ,’ उनले भने, ‘प्राविधिक टोलीले भारतको केन्द्रीय सरकारलाई प्रतिवेदन बुझाएपछि थप काम अघि बढ्नेछ ।’
टोलीले रुपैडिहास्थित रेलवे स्टेसन र कोहलपुरसम्मको साढे १८ किमि दूरीमा रेखांकन सकेको हो । जसअनुसार पिप्रहवा, पुरैना, पुरैनी, राँझा, हबल्दारपुर र रझेनालगायत गाउँ छिचोलेर ‘लिक’ राखिनेछ । रेल बस्तीभित्र भने नलगिने सब–इन्जिनियर यादवले बताए । ‘यात्रुको सुविधाका लागि रेल सञ्चालन गरिने हो । त्यसैले गाउँछेउसम्म लिक बन्छ । बस्ती नै उठ्ने गरी हुँदैन,’ उनले भने ।
रेल सञ्चालनका लागि भारतको गोरखपुर र गोन्डाबाट प्राविधिक टोली आएको छ । टोलीले नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सीधै राँझासम्म लिकको रेखांकन गरेको छ । राँझा विमानस्थल नजिकैको सोल्टी होटल छेउबाट पश्चिमतर्फ ‘लिक’ डाइभर्सन गरिनेछ । नेपालगन्ज–कोहलपुर फोर लेन सडकमा आकाशेपुल निर्माण गरिनेछ । राँझा विमानस्थलको पश्चिम हुँदै कोहलपुरसम्म रेलसेवा विस्तारको योजना छ । नेपाली अधिकारीहरूले भने सुक्खा बन्दरगाह निर्माणस्थल जयपुरबाट सीधै कोहलपुरसम्म रेल सेवा विस्तारका लागि सुझाव दिएका छन् । तर, यसअघि नेपालगन्ज रोडबाट कोहलपुरसम्म रेल विस्तार गर्ने भन्दै दुई मुलुकबीच सहमति भइसकेकाले त्यसो हुने सम्भावना कम छ ।
नेपाल सरकारको सचिवस्तरीय निर्णयले रेल सेवा विस्तारका लागि ‘फाइनल लोकेसन सर्वे टोली’ गठन गरेपछि काम अगाडि बढेको थियो । ०७४ साउन ५ गतेको सचिवस्तरीय निर्णयले टोली गठन गरेको थियो । भारतीय पक्षले कोहलपुरसम्म रेलवे सेवा विस्तार गर्नुुको कारण नेपालले सञ्चालन गर्ने मेची–महाकाली रेलवेसँग जोड्नु रहेको जनाएको छ ।
तर उक्त परियोजनाको नाम भने नेपालबाट नेपालमै रेलवे सेवा सञ्चालन राखिएको छ । नेपालगन्जसँग जोडिएको भारतको रुपैडिहादेखि त्यहींको गोन्डासम्मका लागि छोटी लाइन (सानो) रेल सञ्चालन हुँदै आएको छ । गोन्डा र गोरखपुर यस्तो रेलवे स्टेसन हुन् जसले सिंगो भारतलाई जोडेका छन् ।
– ठाकुरसिंह थारुको यो समाचार हामीले कान्तिपुरबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: