वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

निकुञ्‍जमा पानी सुक्दा वन्यजन्तुलाई समस्या

        छापाबाट   |   प्रकाशित मिति: बुधबार, चैत्र २८, २०७४ ।    

‘हात्ती, गैंडा, बाघ गर्मीको समयमा पानीमा आहाल बस्ने गर्छन् तर निकुञ्जभित्र पानीको स्रोत सुकेपछि वन्यजन्तुको दिनचर्या फेरिएको छ ।’

गुलरिया (बर्दिया) ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेका पानीको मूल सुक्न थालेपछि वन्यजन्तुलाई समस्या हुने गरेको छ । तराईमा दिनहुँ तापक्रम वृद्धि भइरहेकाले निकुञ्जभित्र पानीको मूल सुक्न थालेको हो । हात्तीलाई तर्न हम्मे पर्ने सौराहा खोलामा समेत पानी सुकेको प्रकृतिपथ प्रदर्शक अनुराम चौधरीले बताए । ‘तीनकुने, लालमाटी, हात्ती तथा गैंडा मचानमा रहेका खोला पनि सुकेका छन्’, उनले भने, ‘हात्ती, गैंडा, बाघ गर्मीको समयमा पानीमा आहाल बस्ने गर्छन् तर निकुञ्जभित्र पानीको स्रोत सुकेपछि वन्यजन्तुको दिनचर्या फेरिएको छ ।’ पर्याप्त पानी नहुँदा वन्यजन्तु तनावमा हुने गरेको चौधरीको भनाइ छ ।

पर्याप्त पानी नपाएर जनावर तनावमा परी भौंतारिने गरेका छन् । अधिकांश ठूला जनावरलाई पिउने पानीको अभाव छ । हात्तीलाई नुहाउन पानी छैन । गैंडालाई घोलमा आहाल बस्नुपर्छ तर घोल सुकेका छन् । जलचरलाई पनि उत्तिकै समस्या छ । गोही त विस्थापित नै भइसकेका छन् । बाघ पानीमा बस्न रुचाउँछ तर पानी नहुँदा समस्यामा परेकोे छ । निकुञ्जभित्र पानी अभावले छरिएर बसेका वन्यजन्तु साँघुरिन थालेका छन् ।

‘पर्यटक लिएर निकुञ्जभित्र जाँदा जनावर पानी अभावका कारण भौंतारिरहेको देखिन्छन्’

पानी सुक्ने क्रम बढेपछि जलचर, उभयचरलगायत पक्षी प्रजातिसमेत विस्थापित हुन थालेको छ । एकातिर बढ्दो गर्मीले पानीको मुहान सुक्ने क्रम बढ्दै छ भने अर्कोतिर पुल, सडक, नहर आदि निर्माण कार्यले पनि पानीको मुहान बन्द भएको स्थानीय पर्यटन व्यवसायी कृष्णप्रसाद भट्टराई बताउँछन् । ‘पर्यटक लिएर निकुञ्जभित्र जाँदा जनावर पानी अभावका कारण भौंतारिरहेको देखिन्छन्’, उनले भने, ‘गाउँघरतिर धारामा समेत पानी सुक्न थालेपछि स्थानीयलाई पनि समस्या हुन थालेको छ ।’

निकुञ्जभित्र पानीको अभाव रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले बताए । ‘हामीले घोलमा पानी पुर्याउन सोलार पम्प प्रयोगमा ल्याएका छौं’, उनले भने, ‘कृत्रिम रूपमा केही समस्या समाधान प्रयास भए पनि पानीको माग अपर्याप्त भएकाले समस्या छ ।’ साहका अनुसार गेरुवा नदीमा ढुंगा थुप्रिएकाले पानीको बहाव निकुञ्जतर्फ चढ्न सकेको छैन । ढुंगा हटाउने प्रयास भइरहेको उनले जानकारी दिँदै भने, ‘संरक्षण क्षेत्रमा काम गर्ने केही संस्थाले पानीका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।’

– यादब आचार्यको यो समाचार हामीले अन्नपूर्णबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: