वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

नागरिक संवाद : पत्रकारिता क्षेत्रमा पनि शुद्धिकरणको जरुरी छ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, असार २३, २०७५ ।    

गुलरिया (बर्दिया) ।
नेपाल पत्रकार महासंघको सहकार्य तथा जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा नागरिक संवाद तथा सार्वजनिक सुनुवाई कार्यक्रम गुलरियामा सम्पन्न भएको छ ।

नागरिक संवाद तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्राले पत्रकारिता क्षेत्रलाई जीवित राख्नका लागि कुनै पनि समाचार सम्प्रेषणपूर्व प्रमाणिकरण गरेर मात्रै सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । पत्रकारहरुमा कुनै न कुनै राजनैतिक आस्था रहेतापनि लेखन तथा समाचार सम्प्रेषणमा त्यसको कुनै पनि प्रभाव पर्न नहुने मिश्राले बताए ।

लोकतन्त्रको प्राण पत्रकारिता भएकाले पत्रकारिता मर्यो भने लोकतन्त्रनै निष्प्राण हुने भन्दै पत्रकारितालाई स्वतन्त्र रुपमा अगाडी बढानु पर्ने सहभागी पत्रकार तथा नागरिकहरुले धारणा राखेका छन् ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मीन बमले आयोजित कार्यक्रम मार्फत पत्रकार तथा आम नागरिकहरुबीचको सम्बन्ध र समाजको रुपान्तरणका लागि अर्थपूर्ण रहेको बताईन् । आफ्नो धारणा राख्ने क्रममा बमले सधैं अरुका मात्रै कथाव्यथा लेखिरहने पत्रकारहरुले आफ्ना कुराहरु पनि सञ्चारमाध्यममार्फत प्रवाह गर्नुपर्ने कुरामा जोड दिईन ।

पत्रकारिता क्षेत्रलाई पनि शुद्धिकरणको जरुरी भएको बताउँदै विज्ञापनका लागि नगर प्रमुख, उप–प्रमुख लगायत स्थानीय निकायका जनप्रतिनिधीहरुसँग दलाली गर्ने प्रवृत्ति रहेको तर स्थानीय निकायहरुमा परिचाल भैरहको करोडौं रकमको सदुपयोग र दुरुपयोगका बारेमा नलेखिने गरेको औल्याउँदै नेपाली काँग्रेसका जिल्ला नेता विद्या प्रसाद खनालले पत्रकारहरुले माफिया र तस्कर तथा कालो धनलाई सेतो बनाउन लागिरहेकाहरुका षड्यन्त्रका विरुद्धमा शसक्त भएर लेख्नुपर्ने बताए ।

पत्रकारहरुले ज्यानको जोखिम मोलेर पत्रकारिता गरिरहेका हुनाले उनीहरुको जीवनको बीमा राज्यले गरिदिनुपर्ने कुरा औँल्याउनुहुँदै अलपत्र असारे विकास निर्माण तथा अवैज्ञानिक र अस्त व्यस्त भौतिक संरचना निर्माण गरेर बजेट सक्ने क्रियाकलापका बारेमा पत्रकारिताको माध्यमबाट भण्डाफोर गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी विश्वामित्र कुईकेल, गैर सरकारी महासंघ जिल्ला अध्यक्ष विष्णु तिमिल्सिना, प्रेस चौतारीका डिल प्रकाश गौतम, प्रेस यूनियनका यमनाथ घिमिरे लगायतले आ–आफ्ना धारणाहरु राखेका थिए । नेपाल पत्रकार महासंघमा आवद्ध जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: