वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

घोषणाको १८ वर्ष : मुक्तकमैया अझैँ पुनःस्थापना हुन सकेन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, साउन ३, २०७५ ।    

भावुक योगी/बर्दिया ।
सदरमुकाम गुलरियामा १९ औँ मुक्तकमैया दिवस मनाईएको छ । बुधबार दास प्रथाको अवस्थामा रहेका कमैयाहरुलाई सरकारले कमैँया मुक्त घोषणा गरेको १८ वर्ष पुगेको छ । शेर बहादुर देउवा प्रधानमन्त्रि हुँदा २०५७ श्रावण २ गते मुक्त कमैँया घोषणा गरीएको थियो । बिगतका वर्षहरुमा जस्तै श्रावण २ गते कमैयाहरु मुक्त भएको दिनलाई यस बर्ष पनि मुक्त कमैया दिवसको रुपमा मनाईएको हो ।

मुक्तकमैँया घोषणा भएपछी सरकारले मुक्त कमैँयालाई पुनःस्थापना गर्ने भनेपनि १८ वर्ष हुँदा सम्म पनि बर्दिया र कैलालीमा अझैँ पुनःस्थापना हुन सकेको छैन । २०५७ साल साउन २ गते सरकारले कमैँया मुक्ती घोषणा गरेपछी साविकको मध्य तथा सुदुर पश्चिम क्षेत्र हालको प्रदेश नम्बर ५ र ७ मा पर्ने दाङ्ग, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोवास गरीरहेका मुक्त कमैँयाहरुले हरेक वर्ष दिवसको रुपमा मनाउने गर्छन् ।

विगतका वर्षहरुमा मुक्तकमैयाहरु संग काम गर्ने गैरसरकारी संस्थाहरु, त्यस सवाल संग सम्बन्धी जनवर्गीय संगठनहरुले मनाउने गरेकोमा यस बर्ष सरकार र  गैरसकारी संस्थाहरुले संयुक्त रुपमा मनाएका छन् । प्रदेश नम्बर ५ भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय, जिल्ला समन्वय समिति बर्दिया र भूमि सुधार कार्यालय बर्दिया समेत अन्य २० वटा गैरसरकारी संस्था तथा जनसंगठनहरुले संयुक्त आयोजनामा एकैठाँउमा यस वर्ष दिवस मनाईएको छ ।

दास प्रथाको रुपमा जमीन्दारको खेत अधिया लगाउने र जमीन्दारको घरमा कमैँया भएर बसीरहेकालाई नेपाल सरकारले कमैया मुक्तीको घोषणा संगै उनिहरुलाई पुनःस्थापना गर्ने भन्दै ५ कठ्ठा जग्गा, घर बनाउन १० हजार नगद र ३५ क्युफिट काठ दिने घोषणा पनि गरेको थियो । तर १८ वर्ष वितिसक्दा सम्म पनी अधिकाँशले जग्गा मात्र पाएको गुनासो पोखीरहेका छन् ।

दाङ्ग, बाँके र कञ्चनपुरमा मुक्त कमैँयाहरु पुनःस्थपना भईसके तर बर्दिया र कैलालीमा अझैँ पुनस्थापना हुन बाँकी छन । बर्दियामा मुक्त कमैँया ११ हजार ८ सय ७५ मध्ये अझैँ ३५ जना पुनःस्थापना हुन बाँकी छन् भने कैलालीमा पनि झण्डै २ सय जना पुनःस्थापना हुन बाँकी रहेको मुक्त कमैया पुनःस्थापना केन्द्रका केन्द्रिय सदस्य एवं कमासु दिगो विकासका अध्यक्ष बिन्तिराम थारुले बताए ।

सरकारले मुक्तकमैयाहरुहरुलाई जग्गाधनी पुर्जा त दियो, तर घर निर्माणका लागि दिने भनेको न त ३५ क्युफिट काठ दिएको छ, न त त्यसको साटो नगद रकम नै दियो । अनि जग्गाधनी पुर्जा बैँकमा धितो राख्न नपाउँदा पनि समस्या भएकाले बैँकमा धितो राख्न मिल्ने व्यवस्था हुनुपर्ने मुक्तकमैया पुनःस्थापना केन्द्रका केन्द्रिय सदस्य एवं कमासु दिगो बिकासका अध्यक्ष बिन्तिराम थारुको माग छ ।

सुरुमा केही मुक्तकमैयाले ५ कठ्ठा र ३ कठ्ठा जग्गा पाए, त्यसपछि १ कठ्ठा, र अहिले सरकारले रोजेको ठाँउमा २ लाख मुल्यमा ५ देखि १५ धुर सम्म जग्गा किनेर पुनस्थापना गर्ने र घर निर्माण संगै काठका लागि एक लाख ५५ हजार नगद दिन थालेको छ । तर बर्दियामा मुक्त कमैँयाको परीचयपत्र पाएका १० हजार ७ सय ९७ मध्ये अहिलेसम्म १० हजार ७ सय १४ जना पुनःस्थापना भैसकेका र परीचयपत्र पाएका पुनःस्थापना हुन बाँकी ८३ जना भएपनि सम्पर्कमा आएका २२ जना मात्रै छन् । तिनिहरुलाई यसै वर्ष भित्र पुनःस्थापना गरीसक्ने भुमीसुधार कार्यालय बर्दियाका भुमीसुधार अधिकारी कृष्ण प्रसाद ज्ञवालीको भनाई छ ।

१८ वर्ष अघि सरकारले कमैया मुक्तीको घोषणा गरेपनि उनीहरुले सरकारबाट पाउनुपर्ने जमीन लगायत आधारभुत कुराहरु अझैँ सम्म पाएका छैनन् । सरकारले ५ जिल्लामा गरी झण्डै २८ हजार मुक्तकमैया परिवार पहिचान गरेकोमा बर्दिया र कैलालीका केही मुक्त कमैँयाहरुलाई अझैँ पुनःस्थापना गर्न बाँकी छ । पुनःस्थापना संगै शिक्षा, स्वास्थ्य, रोजगार जस्ता अधिकारबाट समेत वञ्चित हुन नदिन मुक्त कमैयाहरुको आधारभूत आवश्यकताहरु पूरा गर्न सरकारले ढिलो नगरी बेलैमा ध्यान दिन आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: