वि.सं.   सोमवार, बैशाख ९, २०७६   तदनुसार  22 April 2019

उद्यमी बन्दै बर्दिया राजापुरका युवा महिला

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, माघ ५, २०७५ ।    

मुरली गोडिया/राजापुर।
नेपालमा पछिल्लो समय वैदेशिक रोजगारीमा जाने लहड चलिरहेका बेला सिप सिकेर जाँगर गरे स्वदेशमै आम्दानी गर्न सकिने बर्दिया राजापुरका युवा महिलाहरुले चरितार्थ गरिदिएका छन् । गाउँघरमै प्रशस्त पाईने वेतबाँसको सदुपयोग तथा चाउमिन उद्योग संचालन गरेका उनीहरुले महिलाले पनि लगानी सहितको अवसर पाए स्वदेशमै काम गरेर पुरुष सरह आर्जन गर्न सक्ने प्रमाणित गरिदिएका हुन् । उनीहरुले गाउँघरमै पाईने वेतवाँसको सामाग्री उत्पादन गरी आयआर्जन गर्न थालेका हुन् । वेतबाँसको तालिम लिएर धेरै फाईदा पुगेको र आर्थिक उपार्जनले घरमा समेत सहयोग पुगेको उनीहरु वताउँछन् । उद्योगबाट बेरोजगार भएको अवस्थामा रोजगारी मिलेको अनुभुति गरेका युवामहिलाहरु राजापुर क्षेत्रमा बेतवाँसको उद्योग संचालन गर्ने पहिलो समूह हुन् । उद्योग संचालन गरेको एक बर्षको अवधिमा ३ लाख रुपैया बराबरको सामाग्री विक्री गरेपछि आफुहरुको हौसला झनै बढेको राजापुर नपा ४, बर्दियाकी जयन्ती चौधरीको भनाई छ ।
बेतबाट निर्माण गरिएका मुढा, ढकिया, कपडा स्टेण्ड लगायतका घरायसी सामाग्री गुलरिया, नेपालगञ्ज, कोहलपुर, टिकापुर, काठमांडौ लगायत भारतको सीमा जोडीएका शहरहरुमा समेत विक्री हुने गरेको चौधरी बताउँछिन । वैदेशिक रोजगारीमा गएमात्र प्रशस्त कमाई हुने नेपाली युवाहरुको सोचलाई बर्दिया राजापुरका युवामहिलाहरुले विपरित सावित गरिदिएका छन् । राजापुरका युवामहिलाहरुले चाउमिन उद्योग समेत संचालन गरेका छन् । शुरुमा चाउमिन सम्वन्धी तालिम लिँदा सामान्य भएपनि चाउमिन बनाउन सिकेपछि केही गर्न सक्छु भन्ने उनीहरुमा हिम्मत बढेको छ । चाउमिन बनाउन, पकाएर विक्री गर्न सिकेपछि आमदानी बढेको उनीहरु बताउँछन् । उत्पादन गरेको चाउमिन स्थानिय ओराली बजार, खाता, टपरा, गोला लगायतका बजारहरुमा विक्री हुने गरेको राजापुर नपा ६ वेलुवाकी दुर्गा थारुले बताइन ।
प्लान नेपालको सहकार्यमा राईजिङ्ग आईडल्स बाँके नामक गैरसरकारी संस्थाले युवा महिलाहरुको क्षमता विकाससँगै आयआर्जनमा पहुँच बृद्धि गर्ने कार्यक्रम संचालन गर्दै आएको छ । विगत ३ बर्षदेखि ठाकुरबाबा, बारबर्दिया र राजापुर नगरपालिकाका युवा महिलाहरुको क्षमता विकाससँगै आयआर्जनमा पहुँच बृद्धि गर्ने कार्यक्रम संचालनमा छन् । युवा महिलाहरुलाई आयआर्जनमा संलग्न गराउँदै सिपमुलक तालिमका माध्यमबाट स्वरोजगार बनाउने लक्ष्य सहित राजापुर नगरपालिकाका वडा नम्वर ६ मा १६ जनालाई चाउमिन उत्पादन केन्द्र तथा राजापुर नपा वडा नम्वर ४ मा वेत फर्निचर उद्योग मार्फत ५ जना युवामहिलाले बेतका फर्निचर उत्पादन गर्दै आएका राईजिङ्ग आईडल्स बाँकेका कार्यक्रम अधिकृत विष्णु अधिकारीले बताए । बर्दिया जिल्ला तराई भएपनि विविध कारणले ओझेलमा परेको पाईन्छ । यहाँका अधिकांस युवाहरु वेरोजगार समेत छन् । राज्यले समृद्धिको नारा घन्काईरहेको अवस्थामा वैदेशिक रोजगारीमा जानेक्रम न्युनिकरण गर्दै युवाहरुलाई स्वदेशमै उद्यमी बनाउन लगानी गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...