वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

अनेरास्ववियू बर्दिया जिल्ला अध्यक्ष पंगेनीद्वारा अर्जुनको अभिभावकत्व ग्रहण

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बिहिबार, बैशाख २०, २०७५ ।    

सौगात श्रेष्ठ/बगनाहा (बर्दिया) ।
नयाँ शैक्षिक सत्रको भर्ना अभियान सञ्चालन भइरहँदा विभिन्न तहका ब्यक्तीहरुद्वारा गरिब तथा जेहेन्दार एवम् फरक पृष्ठभुमिका बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्ने शिलशिला चलि रहेको छ । यसैक्रममा ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँका स्थायी बासिन्दा अनेरास्ववियूका जिल्ला अध्यक्ष, युवा समाजसेवी एवम् शिक्षाप्रेमी महेन्द्र पंगेनीले आज एक कार्यक्रमका बिच एक छात्रको अभिभावकत्व ग्रहण गरेका छन् ।

अनेरास्ववियू बर्दिया जिल्ला अध्यक्ष तथा उद्योग बाण्ज्यि संघ भुरिगाउँका महासचिव युवा समाजसेवी, शिक्षाप्रेमी महेन्द्र पंगेनीले चुरे माद्यमिक विद्यालय, बगनाहा बर्दियामा कक्षा ९ मा अध्ययनरत ठाकुरबाबा नगरपालिका–३, गिदरपुर निवासी गरीब एवम् बिपन्न समुदायको बालक अर्जुन थारुलाई १२ कक्षा सम्म पढाउने गरि अभिभावकत्व ग्रहण गरेका हुन् । अभिभावकत्व ग्रहण गरेका पंगेनीले अर्जुनलाई माध्यमिक तहसम्म अध्ययनका लागि लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

आयोजित कार्यक्रमका बिच पंगेनीले छात्र अर्जुन थारुलाई झोला, पोशाक, कपी र कलम हस्तान्तरण गर्दै आफुले समाजबाट धेरै कुरा लिएको र अब आफुले सक्ने मात्रामा समाजलाई पनी केहि दिनु पर्छ भन्ने सोंचाईका साथ अभिभावकत्व ग्रहण गरेको बताए । पढाई खर्च व्यहोर्ने अभिभावक पाउँदा निकै खुशी लागेको विद्यार्थी अर्जुनले बताए । पढाइ प्रती आफु प्रतिवद्ध रहेको बताउँदै अर्जुनले भने, ‘ शिक्षामा लगानी गर्ने अभिभावक पाएको छु । ढुक्क हुनुहोस् लगानी खेर फाल्ने छैन ।’

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी युवा समाजसेवी तथा शिक्षाप्रेमी सुरेश पन्तले बर्दियाको शिक्षा क्षेत्रका लागी आफुले आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने बताए। राज्यले प्राविधिक शिक्षालाई विशेष महत्व दिन नसकेकाले धेरै युवाजनशक्ति बेरोजगार हुनु परेको र जसको कारणले राज्यलाई ठुलो नोक्सानी भई रहेको बताउँदै ग्रामिण क्षेत्रमा चुरे माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरुले सुरुवात गरेको प्राविधिक धारको अध्यापनको प्रशंसा समेत गरेका छन् ।

विद्यार्थीको अभिभावकत्व ग्रहण गरि विद्यार्थीलाई ढुक्क भएर अध्ययन गर्ने अवस्था सिर्जना गरेकोमा धन्यवाद ज्ञापन गर्दै चूरे माद्यमिक विद्यालयका विद्यालय वब्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद खनालले विद्यालयले अगाडि वढाएका विभिन्न कार्यक्रममा सहयोग गरि विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्न सहयोग गर्न अनुरोध गरेका छन् ।

आर्थिकरुपले विपन्न भएकै कारण धेरै बालबालिकाहरुले बिचैमा पढाई छाड्ने गरेको कुरालाई स्मरण गर्दै यस किसिमको कार्यले आर्थिक अभावकै कारण पढाई छाड्न बाध्य हुने बालबालिकाहरुलाई ठुलो मद्दत पुग्ने भएकाले आफुले सक्ने जती सहयोग गर्न पछाडी हट्न नहुने चुरे माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक यज्ञ नेपालले बताए ।

दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै सरकारले विशेष रुपमा विद्यालय भर्ना अभियान सुरु गरेको हो । एक व्यक्तिले कम्तीमा एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै सरकारको अभियानमा सघाउ र्पुयाउन  सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: