बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको ‘महाहन्ट’ स्विप अपरेशन सुरु
ठाकुरद्वारा,बर्दिया।
बर्दिया राष्ट्रिय निकुञ्जमा हुने अवैध गतिविधि नियन्त्रण गर्न नेपाली सेनाले ‘महाहन्ट’ नामको स्विप अपरेशन सुरु गरेको छ। निकुञ्ज र चुरेपहाडका मध्यवर्ती क्षेत्रमा हुने काठ, ढुँगा तस्करी, चोरी शिकार लगायत अवैध घुसपैठ नियन्त्रण गर्न स्विप अपरेशन सुरु गरिएको हो।
स्विप अपरेशनमा शिवदल गण ठाकुरद्वाराका सबै फौज, विशेष फौज बहिनी अन्तर्गत भैरवनाथ गणको फौजहरू र इन्टेलिजेन्ट विभागका टीमहरू परिचालन गरिएको शिवदल गण ब्यारेक ठाकुरद्वाराका गणपति प्रमुख सेनानी चन्द्रप्रसाद चापागाईले जानकारी दिए। मिशन अन्तर्गत सुरक्षाकर्मीहरू दिनरात ड्यूटी गर्ने छन्।
अपरेशन सुरु भएपछि अवैध गतिविधि नियन्त्रण भइरहेको सेनले बताएको छ। ‘निकुञ्जको कोर एरियाबाट ३ नाल भरुवा वन्दुक, १५ राउन्ड गोली, सुकुटी, शिकार खेल्ने बन्दोबस्तीका सामानहरू सहित एक महिला पक्राउ परेकी छन्’ प्रमुख सेनानी चापागाईले भने,’निकुञ्ज भित्र अवैध प्रवेश गरेका सयौं जना मानिस पक्राउगरी निकुञ्जलाई बुझाइएको छ।’
निकुञ्जले लोपोन्मुख वन्यजन्तुको चोरी शिकार लगायत अवैध गतिविधि नियन्त्रणलाई केन्द्रीत गरी अपरेशन सुरु गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। ‘अभियान अन्तर्गत चितवन—पर्सा, बर्दिया—बाँके कम्प्लेक्स तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्विप अपरेशन भैरहेको छ’ उनले भने ‘लोपोन्मुख वन्यजन्तु बाघ, गैंडाको चोरी शिकार नियन्त्रण गर्ने विशेष योजनामा छौं।’
यसपटक विगतका भन्दा फरक शैलीबाट निकुञ्जहरूमा स्विप अपरेशन भइरहेको उनले बताए। ‘अपरेशनमा प्रविधिको प्रयोग गरिएको छ’ उनले भने,’पछिल्लो समय निकुञ्ज क्षेत्रहरुमा अवैध गतिविधिहरू बढ्न थालेकाले अभियान संचालन गर्नु परेको हो।’ यो खबर अन्नपुर्ण पोस्टबाट लिएका हौँ ।