वि.सं.   बुधबार, साउन १, २०७६   तदनुसार  17 July 2019

गाउँबस्तीमा माघीको रौनक

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ ।    

सुदीप अधिकारी/बर्दिया ।
पश्चिम तराईका गाउँबस्तीमा यतीखेर माघीको रौनक छाएको छ । माघी थारु समुदायको ठूलै पर्व भएकाले अहिले पश्चिम तराईका बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरका थारु बस्तीमा माघी पर्वको रौनक बढेको हो । थारु गाउँबस्तीमा यतीखेर निकै चहलपहल बढेको छ । माघीकै अवसरमा यहाँका गल्ली चोक सफा परिएका छन् । कामका लागि बाहिर गएकाहरुको घर फर्कनेको लर्को छ ।

कामबाट घर फर्केका युवाहरु माघीमा रमाइलो गर्ने योजना बुन्दै छन् । घरको मुली, महिला माघीको जोरजाममा जुटेका छन् । साँझ पर्नासाथ गाउँबस्ती गीतसंगीतले गुञ्जायमान हुन्छ । दसैँमा घर नर्फेकाहरु पनि माघीमा घर आएका छन् । चोक चौतारोमा युवाहरुको भिड छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमासमेत मान्ने गर्छन् । यो पर्वलाई थारु समुदायले बरका तेउहार ९ ठूलो पर्व ०का साथै नयाँ वर्षको रुपमा मनाउँछन् । ठाकुरबाबा १ का हरिप्रसाद थारु भन्छन् ‘ माघी हाम्रो लागि नयाँ बर्ष हो । माघीलाई हामी ठूलो पर्वको रुपमा मनाउँछौ । वर्ष भरि जो जँहा भए पनि माघी मनाउन भने घर फर्कने गर्छन् । ’

माघीको अवसरमा थारु संस्कृती झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुन थालेको छ । गाउँ थारुबस्तीमा युवायवतीहरु माघीमा मघौटा, सखिया र हुरदंगाा नाच नाच्ने गर्छन् । तर हिजोआज थारु संस्कृती झल्कने नृत्यहरु हराउँदै जान लागेको स्वयम थारु अगुवाहरु स्वीर्कछन् ।

युवाहरुमा शहर बजारको संस्कृतीको प्रभाव बढ्दो छ । केही समययता यसलाई बचाउने खालका कार्यक्रम पनि ठाउँठाउँमा हुन थालेको बताउँदै स्थानिय मानबहादुर थारु थप्छन् ,‘ माघी थारु समुदायको विशेष पर्व हो । माघीकै अवसर पारेर गाउँघरमा थारु संस्कृतीको जर्गेना गर्न विभिन्न क्रियाकलाप हुने गर्छन् ।’ थारुहरुले माघीमै वर्ष दिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजना अनुसार नै परिवारका सदस्यहरु सबै आआफनो काममा लाग्छन् ।

माघीकै अवसर पारेर जिल्लाका विभिन्न स्थानमा माघी महोत्सव कार्यक्रम पनि आयोजना गरिएको छ । राजापुर, बासँगढीमा माघी महोत्सव चलिरहेको छ । ठाकुरबाबा मन्दिर परिसरमा पनि माघी महोत्सवको तयारी भइरहेको छ ।

थारु समुदायमा माघी मनाउने छुट्टै प्रचलन छ । माघे संक्रान्तिका दिन गाउँको चोकमा आगोको धुनी बालिन्छ । थारु समुदायमा माघे संक्रान्तीको अघिल्लो दिन रातभर जाग्रम बसेर भजन कृतन गर्ने डफ ९एक प्रकारको डम्फु० बजाउने चलन छ । र माघे संक्रान्तीका दिन विहानै नजीकैको खोला नदिमा गई नुहाउँने गरिन्छ । यो दिन खोला नदीमा गइ नुहाउँदा वर्ष भरिको पाप पखालिने जन विश्वास छ । नुहाइवरी आफुभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आर्शीवाद लिने र साथीभाइसँग अंकमाल गरि माघीको शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।
यो पर्वमा थारुजातीले विशेष परिकारको रुपमा ढिकरी (चामलको पिठोबाट बनाइने परिकार), माछा, घोघी, सुँगुर वा वंगुरको मासु र जाँड खाने र खुवाउने चलन छ ।

यसैगरी माघीमा गाउँका सबै जना जम्मा भएर वर्ष दिनका लागि बड्घर–मैटहवा९गाउँको अगुवा०,चौकिदार र गुरुवा चयन गर्ने गरिन्छ । यो परम्परा समुदायमा हुने गरेको लोकतान्त्रिक अभ्यासको गतीलो उदाहारण पनि हो । माघीमा चयन गरिने अगुवाले वर्ष दिन भरी गाउँको विकास निमार्ण, सुरक्षा, सुचना, कुलोपानी र पूजाआजामा अगुवाइ गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्:


Loading...