वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

ताराताल टु त्रिपुरेश्वर : बर्दियाली किशोरको खेलकुद सपना

        छापाबाट   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन २४, २०७४ ।    

ताराताल, बर्दिया । 
विद्यालयमा राम्रो विद्यार्थीमा गनिन्छन्, माधवकुमार चौधरी। स्कुले जीवनका लागि महत्वपूर्ण खुड्किलोका रूपमा रहेको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा सँघारमै आइपुगेको छ। तर, बर्दियाको ग्रामीण भेगबाट मीठो सपना साँचेर काठमाडौं हानिएका एक किशोर भने त्यही सपना पूरा गर्न दिनरात नभनी त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको फन्को मार्न व्यस्त छन्।
‘टुप्पी बाँधेर’ पुस्तकका पानामा घोत्लिँदै एसईईको तयारीमा व्यस्त हुनुपर्ने बेला बर्दियाको मधुवन नगरपालिका तारातालका १७ वर्षीय यी किशोर आफूले देखेको ‘फरक सपना’ साकार पार्ने योजनालाई मूर्त रूप दिने अभियानमा छन् ।
बिहान ८ बजे दशरथ रंगशाला पुग्दा माधवकुमार चौधरी अन्य खेलाडीसँगै आयु सक्किएका कारण आफ्नो धर्म छाड्दै गएको दशरथ रंगशालाको ‘सेन्थेटिक ट्र्याक’मा लगातार फन्को लगाउन व्यस्त थिए। ट्र्याककै एक छेउमा प्लास्टिकको कुर्सीमा बसेर एथलेटिक्स प्रशिक्षक धनीराम चौधरी माधवको समयमा आएको सुधारलाई ‘स्टप वाच’मार्फत मापन गर्दै थिए। घडीले करिब १० बजाउनै लाग्दा पसिनाले निथ्रुक्कै भिजेर ट्र्याकबाट बाहिरिँदै गर्दा उनले विगतको तुलनामा आफ्नो प्रदर्शनमा निकै सुधार आएको सुनाउन पनि भ्याइसकेका थिए। माधवलाई करिब डेढ महिनादेखि मध्यम दूरीको दौडको कला सिकाउँदै आएका प्रशिक्षक धनीरामले पनि उनको भनाइलाई समर्थन गरे।
हो, चैत ८ गतेदेखि सुरु हुने एसईई परीक्षाको तयारीमा घोत्लिनुपर्ने माधव यति बेला दशरथ रंगशालाको ट्र्याक नाप्न व्यस्त छन्। ‘खेलकुद पनि त एउटा स्कुल नै हो नि, त्यसैले म अहिले आफ्नो सपना पूरा गर्न दक्ष प्रशिक्षकबाट खेलकुदकै कखरा सिक्दैछु’, माधव फरक तर्क अघि सार्छन्। यद्यपि एसईईको तयारीलाई पनि उनले चटक्कै भुलेका भने छैनन् रे।
बर्दियाको मधुवन नगरपालिकास्थित नेपाल राष्ट्रिय नमुना माविमा अध्ययनरत माधव सानैदेखि अध्ययन र खेलकुद दुवैमा अब्बल थिए। राम्रै अंकसहित एकपछि अर्को कक्षा उक्लँदै गएका माधवको खेलप्रतिको लगाव देखेर विद्यालयका शिक्षकले पनि उनलाई त्यसमा हौस्याउँदै गए।
‘ऊ (माधव) पढ्नमा पनि राम्रो विद्यार्थी हो तर राष्ट्रपति रनिङ सिल्ड खेलकुदमा उसको प्रदर्शन देखेर हामीले उनको क्षमताको फरक पाटोलाई चिन्ने अवसर पायौं। त्यसपछि हामीले नै उसलाई खेलकुदमा अघि बढ्ने सम्भावनाको ढोका खोलिदिएका हौं’, बर्दिया पुग्दा माधवको बारेमा जानकारी दिदै विद्यालयका शिक्षक कृष्णबहादुर थापा भन्छन्।
सुरुमा राष्ट्रपति रनिङ सिल्डमा उनी लामो दूरीको दौडमा भाग लिन्थे। तर, जति प्रयास गर्दा पनि पाँच हजार मिटर दौडमा सफलता हात पार्न नसकेपछि उनले शिक्षककै सुझावमा मध्यम दूरीको दौडमा आफूलाई केन्द्रित गर्ने योजना बनाए। ‘सुरुमा पाँच हजार मिटर दौडमा भाग लिँदा हार मात्र हात लाग्यो तर मैले हरेश खाइनँ, अझ मेहनत गर्दै गएँ। त्यसपछि गुरुहरूको सल्लाहमा कम दूरीको दौडमा भाग लिएँ र सफलता पनि हात पार्न थालेँ’, माधव आफ्ना खेलयात्रा सम्झन्छन्।
२०७१ सालमा भएको जिल्लास्तरीय सातौं राष्ट्रपति रनिङ सिल्डमा पहिलोपटक भाग लिएका माधव पाँच हजार मिटर दौडमा १२औं स्थानमा आएका थिए। पक्कै पनि यो उनका लागि निराशाजनक नतिजा थियो तर उनले हिम्मत हारेनन्। विद्यालयकै खेलकुद शिक्षक कृष्णबहादुर थापाको रेखदेखमा अझ कडा अभ्यास गर्दै गए।
अनि, २०७२ सालमा भएको आठौं राष्ट्रपति रनिङ सिल्डमा उनले पाँच हजार मिटर दौडलाई चटक्कै छाडेर तीन हजार मिटर र १५ सय मिटर दौडमा भाग लिने निर्णय गरे। ती दुवै स्पर्धामा उनले पहिलो स्थान पनि हासिल गरेर देखाए। सानैदेखिको खेलाडी बन्ने बलियो इच्छाशक्ति अनि लगातारको अभ्यासका कारण उनले त्यसपछिका राष्ट्रिपति रनिङ सिल्डमा पनि आफ्नो स्पर्धामा अरू कसैलाई छेउ पर्न दिएनन्।
जिल्लास्तरीय प्रतियोगितामा तीन हजार र १५ सय मिटर दौडमा दौडिए पनि क्षेत्रीय स्तरको प्रतियोगितामा भने उनले आठ सय मिटर दौडलाई आफ्नो लक्ष्य बनाउने निर्णय गरे। उनको त्यो योजना सफल पनि भयो र उनी क्षेत्रीय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय खेलकुद परिषद्ले आफ्नै नाममा पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय स्तरको ‘राखेप च्याम्पियनसिप’मा पनि छनोट भए।
राखेप च्याम्पियनसिप भने उनका लागि अगाडि बढ्ने बाटोमा ठूलै तगारो थियो, जहाँ उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको समेत अनुभव बटुलिसकेका आफूभन्दा सिनियर खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो। ‘राखेप च्याम्पियनसिपमा छनोट भएपछि आफूभन्दा सिनियर खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्छ भनेर निकै डर लागेको थियो। तर, गुरुहरूले सम्झाएपछि मैले अझ बढी मेहनत गर्न थालेँ’, माधव भन्छन्।
अन्ततः त्यो क्षण पनि आयो, जुन क्षण उनले सानैदेखि देखेको सपनालाई मूर्त रूप दिने दिशामा अगाडि बढ्न निर्णायक साबित हुँदै थियो। राखेप च्याम्पियनसिपअन्तर्गत इटहरीमा भएको एथलेटिक्स प्रतियोगितामा उनले आफ्नो भएभरको क्षमता खन्याएर प्रतिस्पर्धा गरे। उनको बलियो इच्छाशक्ति र परिश्रमले काम गर्‍यो। आफूभन्दा थुप्रै सिनियर खेलाडीसँग दौडिए पनि उनी प्रतियोगितामा चौथो हुँदै नेपालमै आयोजना हुने भनिएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को छनोटका लागि सञ्चालन गरिएको बन्द प्रशिक्षणमा पुग्न सफल भए।
माधवले राम्ररी बुझेका छन्, उनी यति बेला जुन स्थानमा पुगेका छन् त्यो आफूले देखेको सपनालाई साकार पार्ने ‘आधा बाटो’ मात्र हो। उनका लागि अबको यात्रा झनै विकट र चुनौतीपूर्ण छ। कुनै पनि खेलाडीले देख्ने सपना भनेको राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु नै हो। त्यसमा पनि सागजस्तो महत्वपूर्ण प्रतियोगितामा छनोट हुन चानचुने तयारीले पुग्दै पुग्दैन। त्यसैले पनि यति बेला मुखमै आइसकेको एसईई परीक्षालाई समेत कम प्राथमिकतामा पारेर सागमा छनोट हुने लक्ष्यसहित उनी आफ्नो गाउँघरभन्दा निकै टाढा दशरथ रंगशालाको ट्र्याकमा खलखल्ती पसिना बगाउँदै छन्।
‘माधवको प्रदर्शनमा क्रमशः निखार आउँदै छ। हामीले पनि उनलाई देशका लागि सम्भावना बोकेको खेलाडीका रूपमा लिएका छौं। उनको टाइमिङमा पनि सुधार आएको छ’, पछिल्लो समय माधवलाई प्रशिक्षण दिँदै आएका धनीराम भन्छन्। इटहरीमा भएको राखेप च्याम्पियनसिपमा आठ सय मिटरको निर्धारित दूरी दुई मिनेट ०३.६ सेकेन्डमा पूरा गरेका माधव अहिले त्योभन्दा कम समयमा लक्ष्य नाघेर अघि बढ्ने तयारीमा छन्।
बाँकी रह्यो उनको अध्ययनको पाटो, जसको तयारी पनि उनले खेलसँगै अगाडि बढाउँदै लगेका छन्। माधवको अध्ययनको चिन्ता उनको विद्यालयका शिक्षकसँगै खेल गुरुहरूलाई पनि उत्तिकै छ, त्यसैले त धनीराम पनि उनलाई मौका मिल्नासाथ अध्ययनमा व्यस्त रहन सुझाव दिन्छन्। ‘एसईईको तयारीका लागि मैले किताब पनि सँगै लिएर आएको छु। अभ्यासबाट फुर्सद पाउनासाथ म परीक्षाको तयारीमा व्यस्त हुन्छु’, माधव भन्छन्।
खेल क्षेत्रमा अगाडि बढ्न आफूले चालेको हरेक पाइलामा परिवारका सदस्यको ठूलो योगदान रहेको उनी बताउँछन्। कृषिमा आश्रित उनको परिवारमा बुवा जेतप्रसाद थारू र आमा फुला रानीका अतिरिक्त दुई दिदी पनि छन्। दुवै दिदीको विवाह भइसकेकाले उनका आमाबुवाको भविष्यको एकमात्र सहारा माधव नै हुन्। उनका बुवाआमा अरूको जग्गा अधियाँमा लिएर खेती गर्छन्।
‘बुवाआमाले मबाट निकै आशा गर्नुभएको छ। एसईईको मुखमा पढाइ छाडेर यसरी खेलकुदमा लाग्दा उहाँहरूलाई नराम्रो त पक्कै लागेको होला तर देशका लागि खेल क्षेत्रबाट केही गरेर देखाउने मेरो सपनामा उहाँहरू कहिल्यै पनि तगारो बन्नुभएको छैन’, माधव भन्छन्। उनी चैत ३ गतेतिर एसईई परीक्षाका लागि केही समय प्रशिक्षण रोकेर जिल्ला फर्कने तयारीमा छन्।
देशविदेशका कुनै चर्चित खेलाडीको नामसमेत नसुनेका माधवलाई आखिर पढाइ नै दाउमा राखेर खेल क्षेत्रमा लाग्न क ले हौस्यायो त ? प्रश्न भुइँमा खस्न नपाउँदै उनको जवाफ आउँछ, ‘सानैदेखि मैले देखेको सपना आर्मी बन्नु हो। गाउँघरमा आर्मी बन्न निकै कडा व्यायाम गर्नुपर्छ भन्ने सुनेको थिएँ। त्यही सपना पूरा गर्न म खेलकुदमा होमिएँ।’ उनले थपे, ‘तर, अहिले आएर मेरो जीवनको लक्ष्य फेरिएको छ र म अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक जितेर देशको गौरव बढाउन चाहन्छु।’

विद्यालय ; जहाँबाट माधवका सपना हुर्कन थाले

‘सबै विद्यार्थी एकै खाले हुँदैनन्। सबैका आआफ्नै क्षमता र सपना हुन्छन्। हामीले पनि उनीहरूको क्षमतालाई चिनेर सोही अनुरूपको वातावरण बनाइदिन सक्नुपर्छ’, माधव अध्ययनरत नेपाल राष्ट्रिय नमुना माविमा सामाजिक शिक्षा र खेलकुद पढाउने शिक्षक कृष्णबहादुर थापा भन्छन्। पक्कै पनि माधवलाई बर्दियाको तारातालबाट काठमाडौंसम्म चुनातीपूर्ण यात्रा गराउनमा उनको विद्यालयको पनि उत्तिकै ठूलो योगदान छ।
खासगरी २०७० सालसम्म विद्यालयमा खेलकुदको खासै गतिलो वतावरण थिएन। विद्यालयस्तरका विभिन्न प्रतियोगिताको तयारी गर्न पनि खेल मैदानको अभाव थियो। तर, विस्तारै विद्यार्थीका लागि अध्ययनसँगै शारीरिक तन्दुरुस्ती पनि उत्तिकै महत्वपूर्ण पक्ष हो भन्ने मान्यताका आधारमा विद्यालयले पनि यसतर्फ रुचि बढाउँदै लग्यो।
त्यसपछि विद्यालयले स्कुल भवनको पूर्वतर्फ आफ्नै स्वामित्वमा रहेको तीन बिघा जग्गालाई खेलकुद मैदानका रूपमा विकास गर्ने योजना बनायो। ‘हामीले आफ्नो तीन बिघा जग्गा खेतीका लागि अरूलाई अधियाँमा लगाएका थियौं। त्यसबाट वार्षिक २० हजार रुपैयाँ आउँथ्यो। अर्कोतिर हाम्रा विद्यार्थीका लागि खेलकुद मैदानको अभाव थियो। त्यसैले हामीले आफ्नै जग्गामा खेलकुद मैदान बनाउने निर्णय गर्‍यौं ।’ विद्यालयका प्रधानाध्यापक पूर्णचन्द्र पोखरेल भन्छन्।
२०७३ सालमा विद्यालयको सोही जग्गामा गजबको खेलमैदान निर्माण गरिएको छ। अहिले स्कुलका विद्यार्थी त्यहाँ फुटबल, एथलेटिक्स, भलिबल लगायतका खेल खेल्छन्। खेलकुद मैदानको पूर्वतिर प्यारापिट बनाउने योजना पनि विद्यालयले तयार पारिसकेको छ। पछिल्लो समय विद्यालयका विद्यार्थीले राष्ट्रपति रनिङ सिल्डमा पनि कबड्डी, एथलेटिक्स, फुटबल र भलिबलमा उत्कृष्ट प्रदर्शन गर्नै आएका छन्। यसबाट विद्यालय सञ्चलक समितिलाई पनि हौसला मिलेको छ।
‘विद्यालय समयपछि गाउँघर चहारेर हिँड्ने विद्यार्थी अहिले यही ग्राउन्डमा खेल्न व्यस्त हुन्छन्। आफ्ना छोराछोरी अध्ययनसँगै खेलकुदमा सक्रिय भएपछि अभिभावक पनि खुसी छन्। हामी विद्यार्थीको रुचिअनुसार उनीहरूलाई विभिन्न खेलमा लाग्न हौसला बढाउँछौं’, प्रधानाध्यापक पोखरेल भन्छन्। पछिल्लो समय विद्यालयबाट ‘ड्रप आउट’ हुने विद्यार्थीको संख्या पनि निकै घटेको उनको ठम्याइ छ।
‘केही समय अघिसम्म प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थीले बीचैमा पढाइ छाड्ने परम्परा थियो। कोही पढाइ छाडेर कमाउनका लागि भारत पस्थे भने कोही आफ्ना अभिभावकसँग गाउँमै काममा लाग्थे तर हामीले अध्ययनसँगै खेलकुदको गतिविधि बढाएपछि ड्रप आउटको समस्या निकै घटेको छ’, पोखरेल भन्छन्।
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको खेलकुद विज्ञान प्रतिष्ठानका प्रमुख नवीन उप्रेती पनि दक्ष खेलाडी उत्पादनका दृष्टिले विद्यालय महत्वपूर्ण स्थान भएको बताउँछन्। ‘दक्ष र प्रतिभावान् खेलाडी उत्पादन गर्न विद्यालयहरू महत्वपूर्ण स्थान हुन्। विद्यार्थीको क्षमता र रुचिअनुरूप उनीहरूलाई अध्ययनसँगै खेलकुदमा पनि सक्रिय गराउन सके भविष्यमा राष्ट्रले प्रतिभावान् खेलाडी पाउन सक्छ’, उनी भन्छन्। यसका लागि राष्ट्रिय खेलकुद परिषद्ले पनि विद्यालयलाई दक्ष प्रशिक्षक पठाएर खेल शिक्षकलाई तालिम दिने, खेल सामग्री उपलब्ध गराउनेजस्ता योजना अघि सारेको उप्रेती बताउँछन्।
-अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्: