वि.सं.   बुधबार, बैशाख १२, २०७५   तदनुसार  25 April 2018

स्वर्ग खोज्न बर्दिया आउनुस् …

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, चैत्र १३, २०७४ ।    

शब्द: श्रेष्ठ समनश्री / तस्बिर: महेन्द्र विष्ट ।
स्वर्गको बयान सायदै अर्थपूर्ण होला ईन्द्रको अगाडी । बर्दियाको सुन्दरता यसरी सधैं ओझेलमा रह्यो कि आँखामा मिराजको मृगतृष्णा सधैं रह्यो हामीमा । र चाहार्‍यौँ कताकता ! ईन्द्र भईकन पनि स्वर्गको खोजीमा यती भौतारियौँ कि मानौँ हामीसँग अलिकती मिठो सुख स्पर्श गराउने कुनै पवन नै चलेन आजसम्म ।

हाय तिम्रो सुन्दरता !

तस्बिर सौजन्य: दीपक राजवंशी

बर्दिया आँफैमा प्रकृतीले भरिपूर्ण स्थल हो भन्दा कसैको मत फरक नहोला । पुर्वमा बबई हेर्नुस् वा पश्चिमको कर्णालीको आँचलमा पुग्नुस् । पुर्वको बह्रैयातालको मनोरमतालाई नयनमा कैद गर्नुस् वा पश्चिमको तारातालको किम्बदन्ती सुनेर दंग पर्नुस् । या श्रद्दाको मनभरी आव्ह्वान बोकेर ठाकुरबाबाको दैलोमा पुग्नुस् या गुलरियाको बगलामुखी वा राजापुरको महाकालेश्वर शिव मन्दिरमा लाग्ने दर्शालुको भिड हेर्नुस् । र घुम्नुस् बर्दियाको फाँटैफाँट उक्लिएर चूरे छिरेको बर्दिया राष्ट्रिय निकुन्ज । मनले अझै मानेन भने सत्खलुवा छिर्नुस्, जीवनको अर्को कथा शुरु गर्न । वा बास बसेरै रस्वादन गर्नुस् बर्दियालीपनको, डल्ला होमस्टे वा सत्खलुवा होमस्टे वा बगनाहाको गोबिन्दपुर होमस्टेमा । र यस्तै यस्तै कती कती… म वर्णन गरुँ कसोरी ?


जे होस् मनमा स्वर्गिय आनन्द दिने शितलता यहीँ छ, तपाईंहामीले नदेखेर मात्र । तपाईंहामीले महशुस नगरेर मात्र । तपाईंहामीले स्वत:स्फुर्त पाएको वरको उपयोग गर्न नजानेर मात्र ।

पछील्लो समय होमस्टेको अवधारणा आएसंगै स्थानिय मनोरमताले यौवनको श्वास फेर्न पाएको केही हदसम्म महशुस भएको छ । डल्लाले तहल्का मच्चाईसकेको छ, ह्यारीको स्वागत गरेबाटै । बारबर्दिया-९ खैरेनीमा रहेको सत्खलुवा ताल होमस्टे सञ्चालनमा आएको केही वर्ष बित्दा नबित्दै सत्खलुवा सिमसार क्षेत्रले आफ्नो उचाँई लिन थालेको छ । केही समय अघि महानायक राजेश हमालको स्वागत गरिपनी सकेको छ सत्खलुवाको आँगनले । अब पालो गोबिन्दपुर होमस्टेको छ, हेरौँ ।
बर्दिया अनलाईनले बर्दियाको पर्यटन, पर्यावरणिय स्थलको प्रचारप्रसार र आफ्नो स्थानको उत्थानमा हरकदम लागिपरिरहेको यहाँहरु सबैमा विदितै छ । विभिन्न स्थानहरुको सुन्दरतालाई यहाँको नजरसम्म पुर्‍याउने क्रममा आजको यो अंकमा सत्खल्लुवा ताल आसपासका तस्बिरहरु राखेका छौँ ।

नजिकको तिर्थ हेला गर्ने हाम्रो चलन चरितार्थ नगरौं । कम्तिमा एक पटक पुग्नुस् आजै सके सपरिवार, नसके तपाईं आँफै ।

 

प्रतिक्रिया दिनुहोस्: