वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

कृष्णसारको संरक्षणका लागि मन्त्रालयले सहयोग गर्छ : मन्त्री बस्नेत

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, बैशाख २३, २०७५ ।    

सौगात श्रेष्ठ/गुलरिया (बर्दिया) ।
बर्दियामा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षणका लागि वन तथा वातावरण मन्त्रालयले सक्दो सहयोग गर्ने वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले प्रतिबद्धता ब्यक्त गरेका छन् । ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुरमा स्थापना भएको गोविन्दपुर जैविकमार्ग होमस्टेको उद्घाटनका लागी बर्दिया आएका मन्त्री बस्नेतले कृष्णसार संरक्षण क्षेत्रले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

कृष्णसार संरक्षणका लागि रणनीति तथा कार्ययोजना बनाएर काम गर्न संरक्षणकर्मीहरूलाई सुझाव दिँदै जनतालाई संरक्षणप्रति अपनत्व महसुस गराईनु पर्ने बताए । कार्यक्रममा सहभागी भएका स्थानीयहरूले कृष्णसार संरक्षण क्षेत्रभित्रका वस्ती व्यवस्थापनका लागि बलियो पर्खाल बनाईनु पर्ने र बाढीमुक्त क्षेत्र बनाईनु पर्ने माग गरेका छन् ।

फरक प्रसंगमा बोल्दै मन्त्री बस्नेतले संविधान पूर्ण रूपमा कार्यान्वयन भएमा कोहि पनी नागरिकहरु रोजगारीका लागि विदेश जानु नपर्ने समेत बताएका छन् । संविधान कार्यान्वयनको क्रममा रहेको बताउँदै मन्त्री बस्नेतले सबै नागरिकहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न पहल गरिने बताएका हुन् । आगामी आर्थिक वर्षका लागि बजेटमा जनताले महसुस गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागेको पनि मन्त्रि बस्नेतले बताएका छन् ।

कृष्णसार संरक्षित क्षेत्र गुलरिया नगरपालिकाको वडा नं १, २, ३ र ४ को क्षेत्रमा कूल १६.९५ वर्ग किलो मिटरमा फैलिएको र कृष्णसारको वासस्थान ५.२७ वर्ग किलोमिटरमा मात्र बसोबास रहेको छ । संरक्षित क्षेत्रमा हाल भाले ५८ पोथी १३० र बच्चा २० गरी २०८ वटा कृष्णसार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: