वि.सं.   आइतवार, कार्तिक ४, २०७५   तदनुसार  21 October 2018

खाडीबाट फर्केर बाख्रापालनमा मनग्गे आम्दानी गर्दै प्रेम

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, जेष्ठ २१, २०७५ ।    

बर्दिया जिल्लाकै नमुना बाख्रा फार्मको रुपमा चिनाउने गरी मेहेनत गरीरहेको उनले बताए ।

खगेन्द्र दाहाल/ठाकुरबाबा, (बर्दिया) ।
अहिलेका युवाहरुमा रोजगारी भन्ने वित्तिकै कि त सरकारी जागिर कि त विदेश नै सोच्छन् । सबै युवाहरु पनि कमाउन यी दुई बाटोमै दौडिरहेका छन् । धेरैजसो विदेशबाट असफलता हातमा लिएर पनि फर्केका छन् । कति फेरी फर्के भने कतीले विदेशमा हण्टर खाँदै आफ्नै ठाउँमा रोजगारीको सम्भावना देखि लगानी गरेर स्थापित हुन्छन ।
पेढे-लेखेर जागिर खाने र विदेशमा मात्रै पैसा कमाउनु पर्छ भन्ने मान्यतालाई बर्दियाका एक युवा किसानले भने तोडेका छन् । पटक पटक असफलता हात लागेपछि अन्त्यमा पशुपालन व्यवसाय अपनाएका बर्दियाका प्रेम लामिछानेले बाख्रापालन व्यवसायबाटै मनग्य आम्दानी लिन थालेका छन् ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ का लामिछानेको अहिले आफ्नै बाख्रा फार्म छ । २८ वर्षिय युवा किसान लामिछाने व्यवसायमा आउनुअघि वैदेशिक रोजगारीमा थिए । विदेशमा हुँदा पैसा कमाएपनि उनले आफ्नै ठाउँजस्तो सम्मान र सहज वातावरण नपाउँदा यतै बस्ने निधो गरे ।
अंग्रेजी विषयमा डिग्री गर्न काठमाडौ छिरेका प्रेम घरको आर्थिक अवस्था निकै कमजोर भएपछि उतैबाट झण्डै चार बर्ष जति बैदेशिक रोजगारीमा साउदि अरब पुगे, काम गरे र पैसा पनि कमाए । विदेशमा १६ घण्टा सम्म कठोर परिश्रम गर्न परेको सुनाउँदै उनले भने, ‘सोचेजस्तो विदेशमा पैसा कमाउन सजिलो रहेनछ, धेरै दुःख गर्नुपर्छ, केही भइहालेमा पनि आफ्नो भन्ने कोही छैन । त्यसैले मैले आफ्नै ठाउँमा केही गर्ने सोच अनुसार बाख्रा पाल्ने निधो गरेँ ।’


विदेशबाट घर आएपछि पनि उनले नेपालगन्जमा मदिराको डिलर सन्चालन गरे । अनुभव विनाको नयाँ व्यवसाय भएकै कारण उनले मदिरा व्यवसायमा निकै घाटा बेहोर्नु पर्‍यो । विदेशमा कमाएको पैसा सबै मदिरा सञ्चालन गर्दा नै खर्च भयो ।
फेरी जापान जाने तयारी गरिरहेकै अवस्थामा त्यसै विचमा प्रेमले बाँके, बर्दिया, सुर्खेत लगायतका क्षेत्रमा किसानले गरेको प्रगतिका बारेमा अवलोकन गरे । रेडियोबाट पनि थुप्रै किसानहरु घरमै बसेर प्रगती गरेको सुने । कृषकहरुको मेहनत र उत्पादन देखेर आकर्षित भएका लामिछानेले अन्नतः विदेश जाने सपना त्यागे र बाख्रा पालनतिर लागे । विगत ६ महिना अघिबाट उनले स्थानीय स्तरमै व्यवसायिक बाख्रापालन सुरु गरेका हुन ।
‘शुरुमा बाख्रा पालन गर्दा मेरो मनमा कतै मैले यो यवसाय सुरु गरेर गल्ती त गरेन भन्ने पनि लागेको थियो, तर अहिले निकै खुशी छु, आफ्नै ठाउँमा थोरै समयमा पनि सफलता पाएकोले गौरवान्भित भएको छु’ उनले भने ।
युवा किसान लामिछानेको बाख्रा फार्ममा हाल ६० बढि खसि, बोका, बाख्रा, पाठापाठी पुगिसकेका छन । ‘बाख्रा पाल्न सुरु गरेपनि मलाई घरकाले बौलायो पनि भने, सबै पढेर जागिर खाए तर हातमा सर्टिफिकेट हुँदा हुँदै पनि बाख्रा गोठालो भयो भन्ने परिवारको पिरालो थियो । तर अहिले यता राम्रो हुँदा परिवार सबैको साथ पाएको छु,’ उनले आफ्नो अनुभव बताए ।
लामिछानेले अहिले घरमै रोजगारी पाएका छन । कृषक लामिछाने आफु मात्र नभएर उनका घरपरीवार र एकजना गाउकै व्यक्तीले समेत रोजगारी पाएका छन् । बाख्रा पालन गरेरै ठाकुरबाबा नगरपालिकामा कहलिएका लामिछानेलाई विभिन्न सरोकारवाला निकाय व्यक्तीहरुले समेत हौसला प्रदान गर्दे आएका छन् । विदेशमा भन्दा स्वदेशमै बसेर आत्मसम्मान मिल्ने भएकाले अब विदेश नजाने लामिछानेले बताए । उनले भने, ‘म अहिले यही खुशी छु, मलाई धेरैले चिन्न थालेका छन् । प्रेमलाई डिग्रीसम्मको अध्ययन गरेका भाई रमेशले सघाइरहेका छन । मेरो काम हेरेर अन्य युवाहरुले पनि बाख्रा पालन गर्ने सोच बनाएका छन् ।’ उनले आफ्नो बाख्रा फार्ममा विभिन्न उन्नत जातका बाख्रा विभिन्न जिल्लाबाट खरीद गरेर ल्याएका छन् । नेपालमा पनि राम्रो फस्टाएको बोयर जातको बोका समेत लामिछानेले बाख्रा फार्ममा भित्राएका छन् ।
बार्षिक दश लाख बढि आम्दानि गर्ने उद्देश्यका साथ बाख्रा पालन गरीरहेका प्रेमले एक वर्षमै सय बढी बाख्रा आफ्नो फर्ममा हुने बताए । प्रेमले बाख्रा पालन गर्नकै लागी डेढ विगाह क्षेत्रफलमा विभिन्न जातका डाले घाँसका विरुवा र भुई घाँस लगाएका छन् । छोटो समयमै ठाकुरबाबा नगरपालिका क्षेत्रमै नमुना व्यवस्थित रुपमा चिनिएको उक्त बाख्रा फार्मलाई कृषक लामिछानेले स्थानिय तहमा प्रेसिका एग्री फार्मको नाममा दर्ता गरेरै सन्चालन गरीरहेका छन । बर्दिया जिल्लाकै नमुना बाख्रा फार्मको रुपमा चिनाउने गरी मेहेनत गरिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: