वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

बैंकिङ्ग तथा वित्तीय क्षेत्रका कर्मचारीमा डिप्रेशन बढ्दो ; शनिबार पनि मिटिंगले छोड्दैन

        डा. दिवाकर बशिष्ठ   |   प्रकाशित मिति: बिहिबार, मंसिर ६, २०७५ ।    

♦ डा. दिवाकर बशिष्ठ

नेपालमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ साउन मसान्तमा १५२ पुगेको छ । यस अनुसार २०७५ साउन मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २५ वित्त कम्पनी र ६६ लघुवित्त संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७५ साउन मसान्तमा ६७१४ पुगेको छ । यी सबैमा गरी करिब ५०,००० कर्मचारी रहेको अनुमान छ । सबै कर्मचारीले एकातर्फ आफ्रनो योग्यता र दक्षता अनुसारको पद र काम प्राप्त गर्न सकेको अवस्था छैन भने अर्कोतर्फ नीजि क्षेत्रका बैंकहरुमा कर्मचारीको व्यापक आर्थिक शोषण भैरहेको छ भन्ने गुनासाहरुमा सुन्नमा आएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका कर्मचारीको तलबको स्तर अधिकांशमा रु १५ देखी २० हजार रहेको  छ, जसले बिहान बेलुकाको छाक टार्न पनि धौ(धौ छ भने बिहान करिब  ८ वजे कार्यालय छिरेको कर्मचारी बेलुका ९ वजे पनि घरमा आउने ठेगान नभएको गुनासाहरु दिन प्रतिदिन बढ्दै छ । सरकारको स्वामित्वको बैंकहरुमा बाहेक नीजि क्षेत्रका बैंकहरुमा तलब भत्ता निर्धारणमा एकरुपता देखिदैन । कसले कति रकम बुझेको छ एक अर्कालाई थाहा पनि नहुने अवस्था अधिकांशमा देखिन्छ । जसले कर्मचारीमा थप तनाव सृजना गर्दछ ।

नेपालमा बैंकिङ्ग क्षेत्रमा काम गर्ने ४५ प्रतिशत कर्मचारीमा डिप्रेशन रहेको एक अध्ययनले देखाएको छ भने गैर(बैंकिग क्षेत्रमा यसको प्रतिशत ३० देखिन्छ । यसको मुख्य कारण योग्यता अनुसारको क्षतिपुर्ति नभएको, कर्मचारी उत्प्रेरणाको अभाव रहेको र समय व्यवस्थापन प्रभावकारीता र यसको निर्धारण कर्मचारीप्रिय एवम् वैज्ञानिकसमेत नभएको देखिन्छ ।

मुख्य रुपमा बैंकिङ्ग क्षेत्रमा हाकिम र कामदारको सम्बन्ध खराबा रहेका देखिन्छ । यसलाई हेर्दा अमेरिकाबाट प्रकाशित क्वार्टर म्यागेजिनको एक अनुसन्धानले ७५ प्रतिशत कामदारको डिप्रेशनको मुख्य कारण खराब हाकिम हो भन्ने उल्लेख गरेको छ । उक्त अनुसन्धानका अनुसार तनाव चुरोटभन्दा बढी हानिकारक हुन्छ भनेको छ । तर राम्रो व्यवहार गर्ने हाकिम भएमा कर्मचारीको कार्यक्षमतामा दुर्इगुणा बढ्छ भनिएको छ ।

नेपालमा एकताका हप्तामा २ दिन शनिबार र आइतबार बिदा दिने चलन थियो तर हाल यो व्यवस्था छैन । यो व्यवस्था विश्वका अधिकांश देशमा प्रचलित छ यो वैज्ञानिक छ जसले कर्मचारीलाई हप्तामा ५ दिन काम गरेर २ दिन पूरा आराम गर्ने अवसर मिल्दछ र कार्यालयको तनावबाट केही भए पनि राहत हुन्छ । त्यसो त नेपालको  बैंकिङ्ग क्षेत्र त बिदामा पनि संचालनमा आइरहने उदाहरण प्रशस्त एकातिर छ भने अर्कोतिर आर्थिक कारोबार गर्ने संस्था भएको हुदा तुलनात्मक रुपमा तीब्र जोखिम देखिन्छ ।

बैंकमा काम गर्ने कर्मचारीले परिवारलाई समेत प्रयाप्त समय दिन पाएको देखिदैन भने बेलुका ढिलो कार्यालयबाट फर्कँदा थकित अवस्थामा फर्किन्छ बिहान ८ वजे नै कार्यालय जाने हतारो हुन्छ । कहिले त शनिबार पनि मिटिंगले छोड्दैन । अर्कोतर्फ अधिकांशमा कार्यालय प्रमुख चाहे कार्यकारी प्रमुख वा अन्य पदको किन नहोस उसको व्यवहार कर्मचारीमैत्री नहुने, जतिकार्य गर्दा पनि प्रशंसा नहुने, विदेश भ्रमण, पुरस्कार, तालिम, बढुवा जस्ता वृति विकासका कार्यमा नातावाद, परिवारवाद, कृपावादको अध्याधिक बाहुल्यता बैंकिङ्ग क्षेत्रका कर्मचारी प्रशासनमा देखिएको हुँदा बैंकिङ्ग क्षेत्रका कर्मचारीमा डिप्रेशन बढ्दो छ । एक अध्ययनका अनुसार करिब १५ प्रतिशत कर्मचारीले औषधी नै प्रयोग गर्ने गरेको उल्लेख छ ।

कर्मचारी र प्रवन्धक वा कार्यालय प्रमुखबीचमा असल सम्बन्धको जरुरी पर्दछ । बैंकको उद्धेश्य र लक्ष्य हासिल गर्नको लागि कर्मचारी एक संवाहक भएको हुँदा उनीहरुलाई खुसी तुल्याउनु प्रवन्धकको दायित्व हो । कर्मचारीले व्यवस्थापनको र व्यावस्थापकले कर्मचारीको समस्या बुझ्न सकेको खण्डमा मात्र सम्बन्ध अपेक्षित हुन सक्दछ । Each for all and All for Each को सिद्धान्त अपनाउनुपर्दछ । जुन संगठनमा सुशासन कायम हुन्छ सो संगठनमा राम्रो सम्बन्धको विकास हुन्छ । यसलाई औधोगिक शान्तिको रुपमा पनि लिईन्छ ।

नेपालमा खुलेका विभिन्न संघ सगठन चाहे सरकारको स्वामित्वमा होस वा निजी क्षेत्र दुवैमा कर्मचारी संगठनहरुको बाहुल्यता भएको हुँदा नेतृत्व र कर्मचारी सम्बन्ध चुनौतीपूर्ण बनेको कुरा सबैमा विदितै छ । कर्मचारी र कार्यालय व्यवस्थापनबीच असल सम्बन्ध र व्यवहार स्थापित हुन नसकेमा एकातर्फ संगठनको उत्पादकत्व कमजोर हुने र अर्कोतर्फ कर्मचारी तनाव थप उत्कर्षमा जाने हुँदा यसतर्फ सम्बन्धित निकायले समयमा नै ध्यान पुर्‍याई असल सम्बन्धको विकासतर्फ ध्यान दिन ढीला  भईसकेको छ ।

(लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।)

प्रतिक्रिया दिनुहोस्: