वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

पत्रकार द्वय चौधरी र कायस्थ सम्मानित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, असार २५, २०७५ ।    
मिन अधिकारी/बर्दिया ।
बर्दियामा सकृय पत्रकारिता गर्ने दुई कलमजिवीलाई एक कार्यक्रमका बिच सम्मान गरिएको छ ।
विगत दुई दशकदेखि सञ्चारमाध्यममा सक्रिय रहेर समाजमा जागरण ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेवापत रेडियोकर्मी एकराज चौधरी तथा विगत एक दशकदेखि सक्रिय पत्रकारिता गरेका राजापुरका पत्रकार गान्दिपलाल कायस्थलाई नागरिक शहिद गोविन्द पाण्डेको नाममा स्थापित पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो । गुलरियामा आयोजित विशेष समारोहमा प्रदेश उपसभामुख कृष्णी थारु, प्रदेश सांसद तिलक शर्मा हिमाल, जिल्ला समन्यव समिति अध्यक्ष शंकर प्रसाद थारुले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्रका साथमा नगद पाँच हजार सहित सम्मानित गरेका थिए । सञ्चारकर्मी एकराज चौधरी हाल रेडियो गुर्वावामा आवद्ध छन भने गान्दिपलाल कायस्थ कोठियाघाट साप्ताहिकका प्रकाशक तथा सम्पादक हुनुका साथै बर्दिया अनलाइनको लागि पनि समाचार लेख्ने गर्दछन ।
प्रेस चौतारी बर्दिया शाखाले स्थापना गरेको यो पुरस्कारको गत वर्ष र यस वर्षको दुबै संस्करणको पुरस्कारहरु यसै वर्ष प्रदान गरिएको बताउदै अध्यक्ष डिल प्रकाश गौतमले आगामी ३ वर्षभित्र अक्षयकोष पाँच लाख पुर्याएर पुरस्कारलाई प्रदेश स्तरीय बनाउने र ५ वर्षभित्र दश लाखको अक्षयकोषको स्थापना गरी राष्ट्रियस्तरकै पुरस्कारको रुपमा स्थापित गर्ने महत्वाकांक्षी योजना रहेको बताए । कार्यक्रममा गुलरिया नगरपालिका वडा नं. १ का अध्यक्ष प्रतापकुमार गौतमलाई अक्षयकोषको रकम वृद्धि गर्नका लागि उल्लेख्य भूमिका खेलेकोमा सम्मानित गरिएको थियो भने  जिल्ला कृषि विकास कार्यालयका प्रमुख पर्शुराम रावतलाई वहाँको कार्यकालमा प्रभावकारी कार्यसम्पादन भएकोमा सम्मानित गरिएको थियो । कार्यक्रममा उपस्थित हुनुभएकी प्रदेश उपसभामुख कृष्णी थारु, प्रदेश सांसद तिलक शर्मा हिमाल, ने।क।पा। का जिल्ला नेता हरि ज्ञवाली, गुलरिया नगरपालिकाका वडाअध्यक्षहरु तथा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले आ–आफ्ना विचारहरु राखेका थिए ।
प्रेस चौतारी बर्दियाका अध्यक्ष डिल प्रकाश गौतमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रेस सेन्टरका अध्यक्ष मेनका चौधरीले र कार्यक्रमको सहजीकरण प्रेस चौतारी बर्दियाका सचिव यज्ञ प्रसाद सापकोटाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: