वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

जोखिम बढेको भन्दै जब्दीघाट पुलको प्रयोगमा प्रतिबन्ध

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन १२, २०७४ ।    

गुलरिया, बर्दिया ।
बबई नदीको जब्दीघाट स्थित पुल भासिएको लामो समय पछी सवारी सञ्चालनमा रोक लगाइएको छ । भाँसिएको पुलमा सर्वसाधारण र सवारी साधनहरु जोखिम मोल्दै आउजाउ गर्न थालेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले सो पुलको प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
पुलको छत पूर्ण रूपमा ढलिसकेको र कुनै पनि समयमा ठूलो दुर्घटना हुने सम्भावना भएकाले चारपांग्रे साधन आउजाउ गर्न प्रतिबन्ध लगाएको डिभिजन प्रमुख अर्जुन बमले बताए । पप्पु कन्ट्रक्सनले निर्माण सम्पन्न गरेको गुलरिया–रम्मापुर जोड्ने बबई नदीको जब्दीघाटमा निर्मित पुल हस्तान्तरण नहुँदै श्रावण २८ गते भासिएको थियो ।

उत्तर–दक्षिण जोड्ने उक्त पुल भासिएको ५ महिना बितिसक्दा पनि छानबिनमा ढिलाइ हुँदा मर्मत–संहारमा ढिलासुस्ती भएको छ । पिल्लर मुनिबाट बग्ने पानी अन्य ठाउँबाट बगाउन च्यानलाइजेसन (डाइभर्सन) गर्न ठेकेदार कम्पनीले समेत काममा ढिलासुस्ती गर्दा छानबिन प्रभावित भएको छ । यही कामका लागि अख्तियार टोली आएपनि पिलर नखनिए पछि रित्तै फर्केका छन । छानबिनका लागि पटकपटक सडक लगायत पुल महाशाखाबाट आए पनि ठेकेदारले पिलर नखन्दा कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन ।

पुल भासिएको सम्बन्धमा महाशाखाले ३ साताअघि ललितपुरको इन्जिनियरिङ अध्ययन संस्थानका कन्सल्टेन्सी प्रमुख नारायण गौतम सहित ४ सदस्यीय टोलीलाई छानबिन गर्न पठाएको थियो । टोलीले प्रतिवेदन तयार गरी काठमाडौं फर्केको थियो । पुल भासिएको दुई महिनापछि अख्तियारले छानबिन सुरु गरेको थियो । यसअघि सडक डिभिजन कार्यालय, मध्यपश्चिमाञ्चल सुर्खेतका क्षेत्रीय निर्देशक अयोध्याप्रसाद श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समितिले सडक विभागमा प्रतिवेदन बुझाएपछि अख्तियारले पनि छानबिन प्रक्रिया अघि सारेको थियो ।

करिब ६ वर्षअघि निर्माण सुरु गरेको उक्त पुल १६ करोड ६८ लाख लागतमा निर्माण भएको हो । पटक पटक छानबिन टोली आए पनि ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन र सडक कार्यालयको बेवास्ताले ढिलाइ भएको स्थानीय बताएका छन  । पुल दुई वर्षअघि हस्तान्तरण नहुँदै भासिएको हो । सडक डिभिजनका प्रमुख ठेकेदार कम्पनीको इकुपमेन्ट बिग्रेकाले काममा ढिलाइ भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: