वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

हिमालय सहकारीद्वारा स्थापना दिवसमा ७४ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, भदौ २४, २०७५ ।    

बगनाहा (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले एक कार्यक्रमका बिच संस्थाका ७४ जना शेयर सदस्यका छोराछोरीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ । संस्थाको २० औं स्थापना दिवसको अवसरमा छात्रवृत्ती प्रदान गरेको हो । २०५६ साल भाद्र २४ गते स्थापना भएको संस्थाले आफ्नो २० औं स्थापना दिवस मनाएको हो ।

संस्थाको वार्षिक नियमित कार्यक्रम अन्र्तगत सामाजिक तथा शैक्षिक क्षेत्रको उत्तरदायित्व बहन गर्ने क्रममा नियमित कारोबार गर्ने शेयर सदस्यहरुबाट छनौट गरी निम्न आयस्तर भएका तथा जेहेन्दार विद्याथीहरुलाई छात्रवृत्ति प्रदान गरिएको संस्थाकी प्रवन्धक सावित्री श्रेष्ठले बताईन् ।

वडा स्तरबाट पनी शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गरिने ठाकुरबाबा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्रीकृष्ण थारु, वडा नं. ४ का वडा अध्यक्ष शेर बहादुर थारु र वडा नं. ५ का वडा अध्यक्ष गंगाराम जैशीले बताएका छन् । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तथा संंस्थाका अध्यक्ष घननारायण श्रेष्ठको प्रमुख आतिथ्यता एवम् शिक्षा उप–समिती संयोजक विमलादेवी कँडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिका स्रोतकेन्द्र प्रमुख स्रोतब्यक्ती नन्दराम अधिकारीले शिक्षामा आफ्नो अनुभव सुनाउँदै शिक्षाको काम ज्ञान दिनु मात्र नभएर मानव जगतलाई विवेकशिल बनाउनु पनी रहेको बताए ।

सहकारी संस्थाले छात्रवृत्ती वितरण गर्नु उदाहरणिय काम भएकाले अन्य सहकारीहरुले पनी शिक्षाको क्षेत्रमा लगानी गर्नु पर्ने बताउँदै छोराछोरीलाई विद्यालयमा पठाउँदैमा अभिभावकहरुको जिम्मेवारी पुरा नहुने भएकाले घर, समाज तथा विद्यालयमा आफ्ना छोराछोरीहरुको क्रियाकलापमा अभिभावकहरुले ध्यान दिनु पर्ने कार्यक्रमका अतिथी चुरे क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद पौड्यालले बताए ।

कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तथा हिमालय सहकारी संस्थाका अध्यक्ष घननारायण श्रेष्ठले विद्यालयको शिक्षा नै सम्पूर्ण नभएकोले घरपरिवार र समाजबाट पनी शिक्षा लिन सकिने बताए । राम्रो कामको सबैले अनुसरण गर्नु पर्ने बताउँदै शिक्षामा कुनै पनी प्रकारको सम्झौता गर्न नसकिने भन्दै विद्यार्थीहरुको गुनासो विद्यालय प्रशासनले सम्बोधन नगरेमा नगरपालिकामा आएर वा फोन मार्फत आफु समक्ष समस्या राख्न समेत नगरप्रमुख श्रेष्ठले सबैलाई आग्रह गरेका छन् ।

बर्दिया जिल्ला कार्यक्षेत्र रहेको हिमालय सहकारी संस्थाले सामाजिक उत्तरदायित्व वहन अन्र्तगत शेयर सदस्यहरुलाई सुत्केरी स्याहार रकम, काजकिरिया खर्च, तरकारीको विउ वितरण, शिक्षा तालिम तथा छात्रवृत्ती वितरण लगायतका कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । साथै संस्थाले नियमित कारोबारमा बचत संकलन तथा ऋण लगानी, रासायनिक मल विक्री, एकिकृत कृषि फर्म, बंगुरपालन तथा सुपथ मुल्य पसल संचालन गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: