वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

तिमिल्सीना समाजद्धारा क्यान्सर पिडित बालिकालाई ८४ हजार सहयोग

        सुदीप अधिकारी   |   प्रकाशित मिति: सोमवार, अशोज २२, २०७५ ।    

सुदीप अधिकारी/बर्दिया।
तिमिल्सीना समाज ठाकुरबाबा नगर कमिटीले क्यान्सर पिडित एक बालिकालाई उपचारका लागि आर्थिक सहयोग गरेका छन् । तिमिल्सीना समाजमा आवद्ध ठाकुरबाबा नगरपालिका अन्र्तगतका तिमिल्सीना बन्धुहरुले क्यान्सर पिडित बालिका मीना तिमिल्सेनाको उपचारका नगद ८४ हजार ७१० रुपैँया आर्थिक सहयोग गरेका हुन् ।
सोमबार एक कार्यक्रममा तिमिल्सीना समाज ठाकुरबाबा नगर कमिटिका अध्यक्ष जन्मजय तिमिल्सीनाले उक्त सहयोग रकम क्यान्सर पिडित बालिकाकी आमालाई हस्तान्तरण गरे । तिमिल्सीना बन्धुहरुबाट व्यक्तिगत रुपमा रकम संकलन गरेर सहयोग गरिएको स्थानिय अमर तिमिल्सीनाले बताए ।
बलिका तिमिल्सेना व्लड क्यान्सर रोगबाट पिडित रहेको परिवार स्रोतले जनाएको छ । करिव तीन महिना अघि एक्कासी विरामी भए पछि तिमिल्सेनाका परिवारले उनीलाई चेक जाँचका लागि भारत लगेका थिए । त्यहा चेक जाँच गर्दा चिकित्सकले उनीलाई व्लड क्यान्सर भएको जानकारी दिएको दाजु आशिष तिमिल्सेनाले जानकारी दिए ।
भारतमा उपचार गर्दा धेरै रकम लाग्ने भएपछि क्यान्सर पिडित छात्रालाई उपचारका लागि चितवनको भरतपुरस्थित विपि कोइराला क्यान्सर अस्पताल लगिएको छ । हाल क्यान्सर पिडित बालिकाको विपि कोइराला क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
बालिका त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत् छिन् । यस अघि विद्यालय परिवारले उनको उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेका थिए । ठाकुरबाबा नगरपालिका वडा नं १ जम्ती खोला नजिकै घर भएका तिमिल्सेना परिवारले आफुहरुको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । विपन्न परिवारकी क्यान्सर पिडित बालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाउन विद्यालयले अभियान संचालन गरेको विद्यालयका शिक्षक अमर तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: