वि.सं.   मङ्लबार, असार ५, २०७५   तदनुसार  19 June 2018

ठाकुरबाबा नगरपालिकामा शुरु भयो वृहत स्वास्थ्य बिमा कार्यक्रम

        यज्ञ नेपाल   |   प्रकाशित मिति: आइतवार, फाल्गुन ६, २०७४ ।    

भुरिगाउं, बर्दिया।
ठाकुरबाबा नगरपालिका-१ भुरिगाऊंमा वृहत स्वास्थ्य विमा दर्ता समारोह आइतवार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै स्थानीय स्वास्थ्य विमा समन्वय समिति संयोजक तथा ठाकुरवावा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले सम्पूर्ण नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनु पर्ने संविधान प्रदत्त जनताको हक अधिकारलाई सुनिश्चित गर्न नेपाल सरकारले लागु गरेको स्वास्थ्य विमा कार्यक्रममा सम्पूर्ण नगरवासीलाई सहभागी भई ठाकुरवावा नगरपालिकामा सफल बनाउन आग्रह गरे ।


यसै अवसरमा ठाकुरवावा नगरपालिकाका उपप्रमुख कृष्णा कुश्मा थारु सहित ९ वटै वडाका विभिन्न महानुभावहरुले स्वास्थ्य विमा गरेका थिए । कार्यक्रमको सहजीकरण गर्दै बर्दिया जिल्ला विमा वोर्डका प्रवन्धक कपिलदेव अर्यालले कार्यक्रम सुरू भएको ४ महिनामा बर्दिया जिल्लामा १८ हजार घरपरिवारले स्वास्थ्य विमा गराएको र आगामी जेठसम्म १ लाख भन्दा बढिको स्वास्थ्य विमा गराउने लक्ष्य राखिएको बताए ।
स्वास्थ्य विमा अन्तर्गत वर्दिया जिल्लामा विमा गराएका मानिसहरूले वर्दिया जिल्ला अस्पताल तथा ३ वटा प्राथमिक स्वास्थ्य केन्द्र,कोहलपुर मेडिकल कलेज,भेरी अन्चल अस्पताल,नेपालगंज मेडिकल कलेज र फत्तेवाल आंखा अस्पताल सहित देशभरका तोकिएका सरकारी तथा प्राईवेट अस्पतालवाट ५ जनासम्मको परिवारले ५० हजार रूपैंया सम्मको औषधी उपचार तथा स्वास्थ्य परिक्षण सेवा प्राप्त गर्न सक्ने जानकारी गराए ।
स्वास्थ्य विमा वोर्ड वर्दियाको आयोजना र ठाकुरवावा नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा ठाकुरवावा नगरपालिकाका वडा अध्यक्ष तथा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिकाअध्यक्षहरु, प्रधानाध्यापक तथा शिक्षकहरू, स्वास्थ्यकर्मीहरू, वडघरहरू, सर्वसाधारण गरि करीव १ सय ५० जनाको उपस्थिति रहेको थियो ।
स्वास्थ्य विमा कार्यक्रम अन्तरगत ५ जनासम्मको परिवारले वार्षिक २ हजार ५ सय रूपैंया जम्मा गरेको खण्डमा प्रति परिवार ५० हजार रूपैंयासम्मको औषधी उपचार तथा स्वास्थ्य सेवा र सुविधा लिन सक्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: