वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

बर्दियामा ७ औँ पटक हात्तीपाईलेविरुद्धको औषधी खुवाइदै

        सुदीप अधिकारी   |   प्रकाशित मिति: आइतवार, फाल्गुन १३, २०७४ ।    

सुदीप अधिकारी/गुलरिया ।
बर्दिया जिल्लामा हात्तीपाइले रोग निवारणको ७ औँ अभियान सुरु भएको छ । २०६८ साल देखि सुरु भएको हात्तीपाईले रोग निवारण गर्ने अभियान यस बर्ष पनि शनिबारदेखि सुरु भएको छ । यो अभियान ३ दिनसम्म संचालन हुने बताइएको छ ।
शनिबार एक कार्यक्रमका बिच जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, जनप्रतिनीधि एवं संचारकर्मीहरुले संयुक्त रुपमा हात्तीपाइले रोगको औषधि सेवन गरी अभियान शुभारम्भ गरिएको हो । हात्तीपाईले रोग निवारण गर्ने अभियान संचालन भएको यो ७ औं बर्ष हो । अघिल्लो बर्ष जिल्लामा गरिएको प्रारम्भिक सर्भेक्षणमा बर्दियामा ३९ प्रतिशतमा हात्तीपाईले रोगको संक्रमण देखिएको थियो ।

अघिल्लो वर्ष अभियानको अन्तिम वर्ष भनिएपनि हात्तीपाइले रोगको संक्रमित व्यक्तिहरु पुनः भेटिएपछि यस वर्ष पनि अभियान संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । यस पटक कुल ४ लाख ३३ हजार २ सय ८० जनालाई हात्तीपाइले औषधी खुवाउने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ ।

हात्तीपाइलेको औषधी सेवन गर्दै जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष शंकरप्रसाद थारु / तस्बिर: सुदीप अधिकारी

औषधी खुवाउनका लागि जिल्लाभरमा २ हजार १ सय ५० केन्द्र राखिएको छ । यो अभियानमा २ सय ५० जना स्वास्थ्यकर्मी,८ सय ४१ महिला स्वयमसेविका र १ हजार ५९ जना अन्य स्वयमसेवक परिचालन भएका छन् । नियन्त्रण महाशाखाले बर्दिया जिल्लालाई हात्तीपाईले रोग संक्रमणको दृष्टिले नेपालकै उच्च जोखिमको सूचिमा राखेको छ । गत बर्ष बर्दियामा ८३ प्रतिशतले हात्तीपाईले विरुद्धको औषधि सेवन गरेका थिए । यस बर्ष बर्दियामा ९० प्रतिशत जनसंख्यालाई औषधि सेवन गराउने लक्ष्य लिइएको छ ।
विगतका बर्षहरुमा परिवारका सदस्यले स्वयंसेवकबाट औषधी मागेर घर लिएर जाने गर्दछे । घरमा लिएको औषधि खए नखाएको यकीन नभएपछि यस बर्ष औषधि घरमा लैजान नपाईने र स्वयंसेवकको अगाडी औषधि सेवन गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए ।
सन् २००३ देखि नेपालमा हात्तीपाईले रोग निवारण अभियान संचालन गरिएको थियो । हाल नेपालका हिमाली र उच्च पहाडी जिल्ला बाहेक २४ जिल्लामा हात्तीपाईले रोग निवारण अभियान संचालनमा छ । नेपालमा २ करोड ५० लाख जनसंख्या हात्तीपाईले रोगको उच्च जोखिममा रहेका छन । नेपालले सन् २०२० सम्ममा हात्तीपाईले रोग निवारण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्: