वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

सुचनाको हक संरक्षण,संवर्धन र प्रचलन सम्बन्धी गोष्ठी गुलरियामा सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, असार ६, २०७५ ।    
मिन अधिकारी,गुलरिया ।
सुचनाको हक संरक्षण, संवर्धन र प्रचलन सम्बन्धी एक दिने गोष्ठी गुलरियामा सम्पन्न भएको छ । गोष्ठीमा बोल्दै बिभिन्न बक्ताहरुले सुचनाको हक पाउन जनताले अझैपनी सास्ती खेपिरहेको बताएका छन । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको सहयोग तथा राष्ट्रिय सूचना आयोगको सहकार्यमा नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति बर्दियाले ‘सूचनाको हक संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ सदरमुकाम गुलरियामा आयोजना गरेको हो ।
मुलुक नयाँ संरचनामा प्रवेश गरेपश्चात संघ, प्रदेश र स्थानीय सरकार बनिसकेपछी गाउँ गाउँमा सिंहदरबार भनिएतापनि वास्तविक रुपमा गाउँ गाउँमा जनताले आभास गर्ने गरी नआएको नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष राजेन्द्र प्रसाद धितालले बताए ।
उनले जनप्रतिनिधीहरुको स्थानीय सरकार निर्माण भएतापनि कसैलाई पनि सूचनाको दूरुपयोग गर्ने अधिकार छुट नभएको र स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमहरुका सबै सञ्चारकर्मीहरुलाई हेर्ने नजर समान हुनुपर्ने तथा कसैलाई पनि सूचनाको हकबाट बञ्चित गराउन नहुने बताए ।
प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अर्जुन सुवेदीले उद्घाटन गर्दै उनले कार्यक्रमबाट आएका विषयवस्तुहरुलाई अभिलेखीकरण गरेर जिल्ला प्रशासन कार्यालयमा पुर्‍याउन अनुरोध गरेका थिए । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले सूचनाको हक र आफूले सूचना प्राप्त गर्नका लागि विभिन्न सरकारी तथा अन्य सम्बद्ध निकायहरुसँग् सूचना माग्न जाँदा झेल्नु परेका समस्याहरुका बारेमा राखेका थिए ।
नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष विनयराज भण्डारी, प्रेस सेन्टर बर्दिया अध्यक्ष मेनका चौधरी र प्रेस चौतारी बर्दियाका अध्यक्ष डिल प्रकाश गौतमले आ–आफ्ना भनाइहरु राख्दै यस प्रकारको कार्यक्रममा पत्रकारहरु मात्रै नभएर सके जिल्लाका आठ ओटै स्थानिय निकायहरुबाट प्रतिनिधीहरु नभएपनि गुलरिया नगरपालिकाका स्थानीय जनप्रतनिधीहरुको पनि सहभागिता गराउनु पर्नेमा सुझाव दिईएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक युवराज खड्काले प्रहरीबाट नियमानुसार सूचनाहरु उपलब्ध गराइएको व्यक्त गर्दै उपलब्ध सूचनाहरु समाजमा प्रवाह गर्नका लागि पत्रकारले खेलेका भूमिकाको सह्राना गरेका थिए । साथै आगामी दिनमा पनि पत्रकारहरुलाई जायज सूचना उपलब्ध गराउनका लागि आफू र आफ्नो संस्था हरदम तयार रहेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहँदै नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष यादव आचार्यले यो कार्यक्रम पत्रकार महासंघको नियमित कार्यक्रम भएको र यसपाली अलि ढिलो गरी जानकारी प्राप्त भएकोले पर्याप्त तयारी गर्न नसकिएको बताउदै सूचना संकलनका क्रममा पत्रकार साथीहरुलाई परेको समस्यालाइ सामुहिक रुपमा हल गर्नका लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण जिल्ला सचिव भावुक योगीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्: