वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

जीर्ण कल्भर्टका कारण हुलाकी सडकको यात्रा जोखिमपूर्ण बन्दै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, फाल्गुन २३, २०७४ ।    

गुलरिया, बर्दिया ।
गुलरिया–नेपालगन्ज हुलाकी सडक खण्डका एक दर्जन भन्दा बढी पुराना कल्भर्टहरुका कारण दैनिक आवागमन जोखिमपूर्ण बन्दै गईरहेको छ । ४० वर्षअघि निर्माण गरिएका ती कल्भर्टहरु पून:निर्माण हुन नसक्दा गुलरिया–नेपालगन्ज हुलाकी सडक खण्डको यात्रा जोखिमयुक्त बनेको हो । यो सडक खण्डमा पर्ने कल्भर्टहरु मध्य मोहम्मदपुरमा ३ मैनापोखर र खजुरामा १–१ गरी ५ वटा कल्भर्ट र पुलेसाको मात्र पुर्ननिर्माण थालिएको डिभिजन सडक कार्यालयले जनाएको छ ।

गुलरियादेखि नेपालगन्जसम्म ३६ किलो मिटर लामो सडक खण्ड अन्तर्गत निर्माण भएका अधिकांश कल्भर्टका छड उक्किएका छन । ती कल्भर्ट कुनै पनि बेला भत्कन सक्ने प्राविधिकहरुले बताएका छन् । सडक डिभिजन कार्यालय नेपालगन्जका इन्जिनियर अकर कडकले कल्भर्ट र पुलेसाका लागि ५ करोड ५ लाखको लागतमा गत वर्ष ठेक्का भएको बताए ।

ठूला र बढीभार भएका सवारी साधन गुड्नाले अधिकांश कल्भर्ट पुलपुलेसा जोखिममा छन । ४ लेनको सडकको अवधारणा राखिएको सडकमा दुई लेनको चौडाइ भएको कल्भर्ट निर्माण थालिएको छ  । निर्माण व्यवसायी संघका अध्यक्ष भरत पौडेलले ४ लेनको कल्भर्ट र पुलेसा बनाउनु पर्नेमा पुन भत्काएर बनाउँदा ठूलो धनराशि खर्च हुने बताए ।

सडक कार्यालयका प्राविधिकका अनुसार बबई नदीमा निर्मित भादा पुल र मान खोलाको पुल जीर्ण अवस्थामा पुगिसकेका छन । अर्कोतिर बबई र मान नदीको कटानले पुल नै उच्च जोखिममा परेको छ । समयमा नदी नियन्त्रण गरिएन भने पुल बग्ने खतरा उत्तिकै रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: