वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

प्रशासनमा भेटिंदैनन् उजुरीका फाइल

        छापाबाट   |   प्रकाशित मिति: शनिबार, चैत्र ३, २०७४ ।    
झुटो विवरण पेस गरेर नेपाली नागरिकता लिनेविरुद्ध उजुरी पर्दा पनि छानबिन हुँदैन

गुलरिया,बर्दिया । 
बर्दियास्थित जिल्ला प्रशासन कार्यालयमा करिब ४ सय ५० गैरनागरिकले नेपाली नागरिकता लिएको उजुरी परेको १० वर्ष बित्यो । उजुरीउपर अहिलेसम्म छानबिन भने हुन सकेको छैन ।
६ महिनाअघि पनि त्यस्तै प्रकृतिको अर्को उजुरी प्रशासनमा दर्ता भयो । ‘हाल बढैयाताल गाउँपालिकामा बसोबास गर्ने सुबराती साईलगायत ७ जना भारतीय नागरिकले नेपाली नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिदिन’ भन्दै परेको उजुरीमाथि पनि अनुसन्धान सुरु हुन सकेको छैन । भारतको बहराइच जिल्ला इमामनगर ग्राम पञ्चायत गडरहवामा उनीहरूको मतदाता सूचीमा नाम रहेको सबुत प्रमाणसहित उजुरी परेको थियो ।
बढैयाताल गाउँपालिकाकै बहाउ पासीले सुवरातीको मतदाता परिचयपत्र नम्बर २६२७ रहेको उजुरीमा उल्लेख गरेका थिए ।
बर्दिया प्रशासनमा फर्जी नागरिकताविरुद्ध थुप्रै उजुरी परेका छन् । बहराइच जिल्लाको जिगनिया ग्राम पञ्चायत बस्ने कमला देवीले झुटो विवरण दिई बर्दिया प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरेको भन्दै उजुरी परेको झन्डै एक वर्ष बित्यो । उनीविरुद्ध बढैयाताल गाउँपालिका–२ का श्रवणकुमार त्रिपाठीले उजुरी हालेका थिए । उनले कमलाले बहराइचकै नरसिडिया ग्राम पञ्चायत ब्लाक रिसियाका बदलुरामसँग विवाह भएको प्रमाण पेस गरेका थिए ।
कमलाले बढैयाताल गाउँपालिका–२ कै प्रमेश्वर कुर्मीसँग विवाह गरेको झुटो विवरण पेस गरी रेश्मा कुर्मीको नामबाट ०६१ साल असार २ गते स्थानीय प्रशासनबाट अंगीकृत नागरिकता प्राप्त गरेकी थिइन् । त्रिपाठीले भारतको मतदाता सूचीमा रहेको नामलगायत प्रमाण पेस गर्दै गत वर्ष चैत २९ गते जिल्ला प्रशासनमा उजुरी दिएका थिए । ११५८ नम्बरको नागरिकतामा तत्कालीन प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहालले हस्ताक्षर गरेका छन् । उजुरी दिएको वर्ष बितिसक्दा पनि कारबाही प्रक्रिया अघि नबढेको भन्दै त्रिपाठीले गुनासो गरे ।
करिब एक दशकयता स्थानीय प्रशासनमा झुटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेको भन्दै ४ सय ५० बढी उजुरी परिसकेका छन् । उजुरी परेका अधिकांश फाइल गायब भएका छन् । करिब चार वर्षअघि गुलरिया र राजापुरबाट पनि गैरनागरिकले नागरिकता प्राप्त गरेको भन्दै स्थानीयले नामसहित र बेनामी उजुरी दिए पनि छानबिन नहुँदै फाइल हराएको स्थानीय प्रशासन जनायो ।
उजुरी प्राप्त भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयबाट छानबिनका लागि कुनै निर्देशन नआएको जिल्ला प्रशासनको मुद्दा फॉटले जनाएको छ । प्रशासन स्रोतले पठाएका फाइलसमेत गृहमा नभेटिने गरेको बतायो । ०६३ मा गठन भएको नागरिकता टोलीबाट वितरण गरिएका विवादास्पद नागरिकताको अनुसूची पनि जिल्ला प्रशासन, नगरपालिका र गाउँपालिकाबाट गायब भएको छ ।
नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०६३ मा गैरनागरिकले नेपाली नागरिकता लिएको भन्दै गुलरियाका तीनजनाविरुद्ध छानबिन गरेको थियो । छानबिनको क्रममा गुलरिया नगरपालिकाको कार्यालय र स्थानीय प्रशासनबाट अनुसूची गायब भएको फेला परेको थियो । अनूसुची नै नभेटिएपछि छानबिनमा समस्या भएको थियो । गुलरिया नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा अनुसूची खोज्न पुगेका प्रहरी र अख्तियार अधिकारी नपाएपछि जिल्ल परेर फर्किएका थिए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नागरिकतासम्बन्धी ४ सय बढी उजुरी परेको बताए । छानबिन प्रक्रियाका लागि गृह मन्त्रालयमा पत्राचार भइरहेको उनको भनाइ छ । ०६३ को नागरिकता टोलीले बर्दियामा वंशजका आधारमा ३५ हजार ६ सय १५ र जन्मसिद्ध २ हजार ७ सय ९९ जनालाई नागरिकता वितरण गरेको थियो । तीमध्ये गुलरियाबाट १ हजार ७ सय ४१ जनाले जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका थिए । टोलीले नागरिकता वितरण गर्दा केही गैरनागरिकले समेत झुटो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेका थिए ।

यो खबर हामीले कान्तिपुरबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: