वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

सकारात्मक सोच विकास अभियानको लागि टिकटमा गजल साँझ

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, अशोज ३०, २०७५ ।    

गुलरिया, बर्दिया ।

सकारात्मक सोच विकासको अभियानका लागि टिकटमा गजल कार्यक्रम शनिबार गुलरियामा सम्पन्न भएको छ । कृष्णसार पाठक मञ्च बर्दियाको आयोजनामा लोटस गार्डन एण्ड रेष्टुरेन्टको कल्पना हलमा साँझ ५ बजेदेखि ९ बजेसम्म गजल साँझ चलेको थियो ।

बर्दियाका ६ जना गजलकारहरुले दुई चरणमा गरी आफ्ना ५ वटा गजल सुनाएका थिए । स्थानिय गायकहरुले सांगितिक मनोरन्जन समेत गराएका थिए । गजल सुन्न ६० बढी दर्शक श्रोताहरुले  हल भरिएको थियो । आयोजकले गजलकारहरुलाई सम्मानपत्र सहित सम्मान समेत गरेको थियो । 

गजलकार धनसिङ गिरी, श्रेष्ठ समनश्री, अन्जु स्मारिका, लक्ष्मी खनाल अभी, हरिप्रकाश भण्डारी र प्रकाश पौडेलले आफ्ना उत्कृष्ट गजल सुनाएका थिए । प्रेम, देश, समाज, मदिरा सम्बन्धी गजलहरु मुलत: वाचन हुँदा दर्शक श्रोताहरुको वाह-वाही गुन्जायस भएका थिए भने गायकहरु गेमराज गिरी र बिष्णु थापा सरगमले आफ्नो गायन प्रस्तुतिमा नचाँएका थिए ।

गजल साँझका लागि बिक्री भएको टिकटबाट उठेको रकमले बर्दियाका बिभिन्न विद्यालयहरुमा सकारात्मक सोच विकास सम्बन्धी कार्यक्रमहरु चलाईने पाठक मन्चका अध्यक्ष श्रीवास्तवले बताए  । पछिल्लो समय युवाहरुमा नैराश्यता, आत्महत्या बढ्दै गएको प्रति पाठक मन्चले चिन्ता प्रकट गरेको थियो ।

गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनारायण यादवको प्रमुख आतिथ्यता र उपप्रमुख शुशिला गिरीको विशिष्ठ अातिथ्यता रहेको सो गजल साँझमा स्थानिय प्राज्ञिक, बौद्धिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।  साँझ कृष्णसार पाठक मन्चका अध्यक्ष अयोध्या प्रसाद श्रीवास्तवको अध्यक्षतामा सम्पन्न  भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: