हरी प्रकाश भण्डारीका दुई गजल
– हरी प्रकाश भण्डारी, बर्दिया।
१.
सामर्थ्य कोसंग छ चुनौती सामना गर्ने ?
यहाँ दुनियाँ छ यो फुल टिप्न चाहना गर्ने।
सोचेकै थिएन आज गला दबाउला भन्ने,
तिनै हातहरु थिए मेरा लागि प्राथना गर्ने।
नझुकौ टाउको काटिन्छ झुकौ भने खुट्टा,
यस्तो अन्धो कानुन कसरी पालना गर्ने।।
तुरुन्तै सफलता चाहिएको छ सबैलाई,
कसैको मन छैन निरन्तर साधना गर्ने।
आउ मलाई सपनामा यातना दिएर जाउ,
मै हुँ सधै तिमिसंगै भएको कल्पना गर्ने।
२.
सधै बाच्नु भन्दा बेचैनी र छट्पटी राखेर।
जहर पिउँ कि जस्तो लाग्छ औषधी राखेर।
शरिरको लुगा समेत जलाए मलामीले,
के काम लाग्यो यति धेरै सम्पत्ति राखेर।
न इज्जत न बिश्वास राख्न सक्यो उसले,
म प्रदेशिएँ जस्को नाममा जिन्दगी राखेर।
अन्तिममा सम्बन्ध पनि चिया जस्तै बन्यो,
चिनी राख्न बिर्सिए जस्तो चियापत्ती राखेर।
प्रतिक्रिया दिनुहोस्: