वि.सं.   शुक्रबार, अशोज ५, २०७५   तदनुसार  21 September 2018

पर्यटकिय गन्तब्य : घुम्न जाऔँ बर्दिया (फोटो फिचर)

        सुदीप अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, असार १२, २०७५ ।    

सुदीप अधिकारी/बर्दिया ।
साविकको मध्यपश्चिम तथा हाल ५ नंम्बर प्रदेशको प्रमुख पर्यटकिय गन्तब्य मध्ये बर्दिया जिल्ला पनि एक प्रमुख पर्यटकिय जिल्लाका रुपमा परिचीत छ । बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षित क्षेत्र, बढैया ताल, सत्तखलुवा ताल, कर्णाली चिसापानी पुल, कर्णाली गेरुवा पुल र डल्ला होमस्टे, सत्तखलुवा होमस्टे, गोबिन्दपुर होमस्टे बर्दियाका मुख्य पर्यटकिय क्षेत्र हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज:
दुर्लभ वन्यजन्तु र मनमोहक प्राकृतिक सम्पदासँगै जैविक विविधताले भरिपूर्ण बर्दिया राष्ट्रिय निकुञ्ज तराईकै सबै भन्दा ठूलो संरक्षित क्षेत्रको रुपमा स्थापित भएको छ । बर्दिया जिल्लाको उत्तर तर्फ अवस्थित यो निकुञ्ज ९ सय ६८ बर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको छ ।
विश्वका दुर्लभ वन्यजन्तुका रुपमा सुचिकृत हात्ती, एक सिंगे गैडा, पाटेबाघ बर्दिया निकुञ्जको मुख्य आकर्षण हो । त्यस्तै निकुञ्जको प्राकृतिक सुन्दरता, बबई उपत्यकाको मनोमहक दृश्य, कर्णाली नदीमा डल्फिनको डुबुल्की, र्‍याफ्टिङ यस्ता जति हेर्‍यो हेरिरहुँ लाग्ने दृश्यहरुसँग रमाउन कसलाई पो मन नहोला !


९ सय ६८ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जको पूर्वमा चिसापानी हुँदै हर्रे लेखसम्मको रत्न राजमार्ग, पश्चिममा कर्णालीको मनाउघाट हुँदै चुरेले कर्णाली भेटेको ठाउँ सम्म पर्छ । यसैगरी उत्तरमा कर्णाली चिसापानी, लेखपराजुल हुँदै हर्रे सम्मको मुख्य पहाडको दक्षिणी भाग र दक्षिणमा बाँकेको चिसापानी देखि हात्तीसारबाट सोझेै पश्चिम मनाउघाट गएको गेरुवा (कर्णाली) नदी र खौराहा खोलाको भंगालोसम्म झैलिएको छ ।


निकुञ्जमा पदयात्रा, हात्ती सफारी र गाडी सफारीबाट बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्न सकिन्छ । हाल निकुञ्जमा १० वटा संरक्षित सहित ५५ भन्दा बढी प्रजातिका स्तनधारी, ६ वटा संरक्षित सहित ४ सय ३८ बन्दा बढी पंक्षी, ३ वटा संरक्षण सहित २५ बन्दा बढी घस्रने बन्यजन्तु, १ सय २१ भन्दा बढी प्रजातिका माछाहरु पाइन्छन ।
बर्दिया राष्ट्रिय निकुञ्ज बन्यजन्तुको लागि उपयुक्त बासस्थान एवं जैविक विविधताका दृष्टिकोणले धनी छ । नेपालमा दोस्रो ठूलो बाघको संरक्षण भएको बर्दिया राष्ट्रिय निकुञ्ज बाह्रसिंगाको लागि पनि दोस्रो प्राकृतिक बासस्थान भएको निकुञ्ज हो ।
पाटेबाघ, गैँडा, हात्ती, बाह्रासिँगे, चित्तललगाएतका वन्यजन्तु निकुञ्जका मुख्य आकर्षण हुन् । हाल बर्दिया निकुञ्जमा वयस्क ५०, अर्धवयस्क ६ र (डमरु)बच्चा २९ वटा गरी ८५ वटा बाघ छन् । अहिले यो संख्या अझै बढन सक्ने निकुञ्जको अनुमान छ । त्यस्तै यहाँ ३४ वटा एक सिंगे गैडा छन् । निकुञ्मा हात्तीको बथानै छ ।
बबई भ्यालीको सुन्दर मनमोहक दृश्य, बबई र कर्णाली नदिमा ¥याफटिङ्ग, कर्णाली नदिमा अवस्थित एउटा मात्र खम्बामा अडिएको आकर्षक पुल, लगायत जैविक विविधताले भरिपूर्ण निकुञ्जको अवलोकन सकिन्छ । त्यस्तै निकुञ्ज भित्रका लम्क्यौली, बघौरा, गैँडा मचानलगायतका फाँटामा झुण्ड झुण्डमा देखिने मृग प्रजातीहरु निकुञ्जको अर्को आकर्षण हो ।
निकुञ्ज परिसरमा रहेको एक सिँगे गँैडाले पनि निकुञ्ज घुम्न आउनेलाई सन्तुष्टि दिने गरेको छ । आफनै अगाडी गैँडा देख्न पाउँदा जो कोही पनि रमाउँछन् । निकुञ्ज परिसरमै रहेको गोही प्रजनन् केन्द्र पनि सबैको आर्कषण बनेको छ ।

कृष्णसार
कृष्णसार संरक्षित क्षेत्र पनि बर्दियाको एक प्रमख पर्यटकिय स्थाल हो । विश्वमै दुर्लभ जन्तुको रुपमा सुचीकृत कृष्णसार बर्दियामा मात्र पाइन्छ ।
जिल्ला सदरमुकामदेखि करिव ५ किलोमिटर पश्चिम उत्तरमा खैरापुर क्षेत्रमा कृष्णसार संरक्षित क्षेत्र छ । कृष्णसार संरक्षित क्षेत्र करिव ७ सय ८ बिघा क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारले २०६५ यो क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्रको रुपमा घोषणा गरेको हो । कृष्णसार संरक्षित क्षेत्रमा अहिले भाले, पोथी र बच्चा गरि करिव ३ सय कृष्णसार छन् ।

कर्णाली गेरुवा पुल
जिल्लाको आर्कषणको रुपमा अहिले कर्णाली गेरुवा  पुल पनि रहेको छ । यो पुल कोठियाघाटमा छ । कर्णाली(गेरुवा) नदीमा यो पुल निमार्ण गरिएको छ । यो पुल १ हजार १४ मिटर लामो छ । यो नेपालकै सबैभन्दा लामो पक्की पुल हो ।
प्रि–स्ट्रेट प्रविधिबाट बनाइएको यो पुलमा २० वटा पिलर र १८ वटा स्ल्याव छन् । पुल निमार्ण भएसँगै पर्यटकको चहलपहल निकै बढेको छ । आन्तिरिक पर्यटकहरु दिनहुँ जसो पुल हेर्न आउने गर्छन । पछिल्लो समयमा यो स्थान पिकनिक स्थलको रुपमा पनि परिचित हुँदै गएको छ ।

बढैया ताल
बढैया ताल पनि बर्दियाको एक प्रमुख पर्यटकिय क्षेत्र हो । बढैया ताल सदरमुकम गुलरियादेखि करिव २० कलोमिटर पूर्वउत्तरमा पर्छ । यो ताल जिल्लाको सोरहवा गाविसमा पर्छ ।
बढैया ताल करिव १ सय ९ विगाह क्षेत्रफलमा फैलिएको छ । यो ताल जल चराहरु विचरण गर्ने नेपालकै दोस्रो ठूलो प्राकृतिक बासस्थान भएको सिमसार क्षेत्र हो ।
यहाँ साईबेरिया लगायतका मुलुकबाट पाहुँना जल चराहरु विचरण गर्न आउने गर्छन् । ताल अतिक्रमण, छेउँछाउमा मानविय बस्तीको बढ्दो चाप र कोलहालले गर्दा केही वर्षयता यहाँ जल बिचरणका लागि आउने चराको संख्यामा पनि कमी आइरहेको छ । महत्वपूर्ण पर्यटकिय गन्तब्यको रुपमा रहेको बढैया ताल जिल्लाकै सबै भन्दा ठूलो सिमसार क्षेत्र हो ।

डल्ला होमस्टे
बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने खाता जैविक मार्गमा डल्ला हामेस्टे संचालन गरिएको छ । डल्ला होमस्टे २०६७ सालमा स्थापना भएको हो । यहा २२ वटा घरलाई होमस्टे बनाइएको छ । यहाँ वर्षेनी करिव १० देखि १२ हजार आन्तरिक तथा वाह्य पर्यटक आउने गरेको होमस्टे व्यवस्थापन समितिले जनाएको छ । डल्ला गाउँ होमस्टे संचालन गर्ने सबै थारु समुदाय छन् । हामस्टे संचालन गरेपछि यहाँका मनिसको पानि जीवनस्तरमा निकै सुधार आएको डल्ला हामस्टे संचालक समिति अध्यक्ष प्रशुराम थारु बताउँछन् ।
होमस्टेमा थारु परिकार जस्तै अनदी चामलको भात, लोकल कुखुराको मासु, स्थानिय नदीको माछा, घोँघीको तरकारी, मुसाको चटनी र चामलबाट बनाइएको रक्सीले पाहँुनालाई स्वागत गरिन्छ । पाहुनाको रुची अनुसारका अन्य परिकारले पनि पाहुनाको इच्छा पुरा गरिन्छ । साथै साझपख पाहुँनाको रुची अनुसार विभिन्न प्रकारका थारु नृत्यहरुले पाहुँनालाई मनोरञ्जन दिने गरिन्छ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालयदेखि करिव ५ किलोमिटर दक्षिणमा डल्ला हामस्टे छ ।

प्रतिक्रिया दिनुहोस्: