वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

शिक्षा दिवसमा ठाकुरबाबाका उत्कृष्ट शिक्षक र विद्यालय सम्मानीत (फोटो फिचर)

        सुदीप अधिकारी   |   प्रकाशित मिति: आइतवार, भदौ २२, २०७६ ।    

ठाकुरबाबा (बर्दिया)- ‘हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीमा सवलीकरण’ भन्ने नाराका साथ आइतबार ४० औँ राष्ट्रिय शिक्षा तथा ५३ औँ अन्तराष्ट्रिय साक्षरता दिवस बर्दियामा पनि विविध कार्यक्रम गरि भव्यरुपमा मनाइएको छ ।
शिक्षा दिवसका अवसरमा ठाकुरबाबा नगरपालिकाअन्र्तगत शिक्षा, युवा तथा खेलकुद शाखाले नगरको एक उत्कृष्ट सामुदायिक विद्यालय तथा नगरका उत्कृष्ट शिक्षकहरुलाई सम्मान गरेको छ । शिक्षा शाखाले नगरको उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा बबई शिशु मन्दिर आधारभुत विद्यालयलाई सम्मानित गरेको छ । एक समारोहका बिच ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले उत्कृष्ट विद्यालयका प्रधानाध्यापक नारायण अधिकारीलाई दोसल्ला तथा सम्मान पत्रका साथ सम्मानित गरेका हुन् । शिक्षा शाखाले तयार पारेको विभिन्न सूचकहरुका आधारमा उक्त विद्यालयलाई उत्कृष्ट घोषित गरिएको कार्यालयले जनाएको छ ।


यसैगरि नगरको उत्कृष्ट शिक्षकको रुपमा जगदम्बा माध्यामिक विद्यालयका प्रधानाध्यापक दिनेशचन्द्र गौतम, चुरे माध्यमिक विद्यालयका शिक्षक दुर्गा शाही सम्मानित भएका छन् । शिक्षा दिवसका अवसरमा मुक्त कमैया प्राथमिक विद्यालयमा सहयोगी कार्यकर्ताकारुपमा कार्यरत बतसनी थारुलाई सम्मानित गरिएको छ । संस्थागत विद्यालयतर्फ भेरी पब्लिक शिक्षालयका घनश्याम शर्मा र विशाल दिपज्याती एकेडमीका रुपान्नद न्यौपाने उत्कृष्ट शिक्षकका रुपमा सम्मानित भएका छन् ।


लामो समयसम्म अध्यापन कार्यमा रही हालै सेवानिवृत भएका चूरे माविका शिक्षक तिलकप्रसाद शर्मा र नेपाल राष्ट्रिय आधारभूत विद्यालयका कृष्णप्रसाद भट्टराईलाई पनि सम्मान गरिएको थियो । यसैगरि शिक्षण कार्यमा रहदै मृत्यु भएका जनज्योती माविका शिक्षक बमबहादुर खनाललाई मरणेपरान्त सम्मान गरिएको छ ।


यसैगरि शिक्षा दिवसकै अवसर पारेर गत शैक्षिक सत्र २०७५ को आधारभुत तह कक्षा ८ को वार्षीक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ३ वटा सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालयलाई सम्मान गरिएको छ । समाुदायिक विद्यालयका तर्फबाट आधारभुत तहको नगरस्तरिय परीक्षामा प्रथम स्थान हासिल गर्ने जनता आधारभुत विद्यालय, द्धितिय बबई शिशु मन्दिर आधारभुत विद्यालय र तृतीय स्थान हासिल गरेको जगदम्बा माध्यमिक विद्यालयलाई सम्मान गरिएको शिक्षा शाखा प्रमुख रामहरी रिजालले जानकारी दिए । संस्थागत विद्यालय तर्फ कर्णाली बोडिंग स्कूल, भेरी पव्लिक शिक्षालय र एल न्यू ब्राइट फयुचर बोडिंग स्कूल सम्मानित भएका छन् ।


शिक्षा दिवसका अवसरमा विभिन्न विधाका अतिरिक्त क्रियाकलापमा सहभागी भई प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने विभिन्न विद्यालयका छात्रछात्राहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
शिक्षा दिवसको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले नगरले शिक्षा क्षेत्रको विकास र गुणस्तरिय शिक्षाका लागि नगरले कुनै कसर बाँकी नराखी काम गर्ने र यसमा सबै सरोकारवालहरुको सहयोग अपरिहार्य रहेको बताए । शिक्षा सबैको सरोकारको विषय रहेकाले शिक्षाको गुणस्तर विकासका लागि शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवाल सबै एकजुट भएर अघि बढेमा नगरको शिक्षाको स्तरमा अवश्य बृद्धि हुने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्:


Loading...