वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

बर्दिया निकुञ्जमा लागेको डढेलोका कारण स्थानियलाई सकस

        सुदीप अधिकारी   |   प्रकाशित मिति: सोमवार, बैशाख १०, २०७५ ।    

ठाकुरबाबा (बर्दिया) ।
केही दिनयता बर्दिया निकुञ्ज र यसका आसपासका वनमा व्यापक डढेलो लागेको छ । डढेलोको धुवाले निकुञ्ज मध्यवर्ती क्षेत्रका बासीन्दालाई निकै सकस भएको छ । धुवाँका कारण आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, सवारीसाधन चलाउन गाह्रो हुने लगाएतका समस्या देखा परेको स्थानियबासी बताउँछन् । निकुञ्जको उत्तरी भेग चुरे पहाडबाट सल्किएको डढेलो निकुञ्जको पश्चिम दक्षिण क्षेत्रमा फैलदै आएको छ ।
निकुञ्ज क्षेत्रमा लागेको डढेलोको धुवाले निकुञ्ज मध्यवर्ती क्षेत्रका बस्ती ढपक्कै ढाक्ने गरेको छ । निकुञ्ज छेउँछाउँमा पर्ने गाउँ डढेलोको धुवाले प्रभावित भएका छन् । निकुञ्ज मध्यवर्ती क्षेत्रमा पर्ने भुरिगाउँ, रानीपुर, कर्मला, प्रतापुर, डुम्रेनी, सैनवार, मैनवार, बर्गदा, रम्मापुर, औरीलगाएतका दुई दर्जन भन्दा बढी गाउँ केही दिनयता धुवाले ढपक्कै ढाकिने छ । निकुञ्जको चुरे पहाडको भागदेखि फैलिएको डढेलो केही दिन यता तराइमा फैलिएको छ । डढेलोका कारण निकुञ्ज नजीकको बस्ती धुवाले ढपक्कै ढाकिदा हिडडुल गर्न निकै समस्या परेको निकुञ्ज मध्यवर्ती क्षेत्रका स्थानिय रामप्रसाद थारुले बताए ।

बर्दिया निकुञ्जमा लागेको डढेलोका कारण धुवाले ढपक्कै ढाकेको निकुञ्ज मध्यवर्ती क्षेत्रको विहान ८ बजेको दृश्य हो यो । फोटो: सुदीप अधिकारी

निकुञ्ज छेउँछाउँका गाउँका बासिन्दा डढेलोको धुवाको समस्याबाट वर्षौदेखि पिडीत छन् । करिव महिनादिन सम्म यो समस्या रहिरहने स्थानियबासी बताउँछन् । बस्तीमा धुवाको दिउँसोको तुलनामा राती र विहान पख बढी हुने गर्छ । दिउँसो हावा चल्ने हुनाले धुवाको प्रभाव धेरै नभएपनि साझ पर्ना साथ धुवाले गाउँ ढाक्ने गरेको ठाकुरबाबा नगरपालिका ४ सैनवारका मीनु सावद बताउँछन् । धुँवाको कारण यहाका मानिसलाई विहान र साझ हिडडुल गर्न र बाहिर निस्कन गाह्रो हुने गरेको छ । डढेलोको धुवाले निकुञ्जको सुरक्षार्थ खटिएका सेना र निकुञ्जका कर्मचारी पनि प्रभावित भएका छन् । निकुञ्ज भित्र सेनाका दर्जन बढी सुरक्षा पोष्टहरु छन् ।
धुवाले गर्दा निकुञ्ज र वन आसपासका मानिसमा आखा पोल्ने, सास फेर्न अप्ठ्यारो हुने, खोकी लाग्ने जस्ता समस्या देखा परेको छ । ‘ धुवाका कारण निकै समस्या भएको छ । विहान त हिडडुल गर्नै मुस्किल पर्छ । धुवाले रातदिन आँखा पोल्छ,’ निकुञ्ज छेवैको गाउँ डुम्रेनीका अमर तिमिल्सेनाले भने ।
निकुञ्ज क्षेत्रमा पर्ने रम्मापुरदेखि कर्णाली चिसापानी सम्मको क्षेत्रमा साझ परेपछि राजमार्गमा गाडी चलाउन पनि समस्या हुने गरेको छ । जती साझ पर्दै गयो उती नै धुवाले समस्या पार्छ । साझ ७ बजेदेखि विहान ९ बजेसम्म राजमार्गमा सवारी साधन चलाउन समेत गाह्रो हुने गरेको सवारी चालकहरु बताउँछन् । धुँवाले स साना केटाकेटी र बृद्धहरुलाई बढी स्वासप्रस्वास सम्बन्धि समस्या देखिन थालेको छ ।
गर्मी याममा पश्चिमी वायुसँगै चल्ने हावाका कारण निकुञ्जमा सल्केको डढेलो फैलिदै गएको निकुञ्जले जनाएको छ । एकै पटक धेरै स्थानमा डढेलो लाग्नाले डढेलो निभाउन सम्भव नहुने निकुञ्जको भनाई छ । निकुञ्जमा लागेको डढेलोका कारण प्रत्येक वर्षको चराचुरुङ्गीका अण्डा, गुड बच्चा र नया वोटविरुवा तथा जडीबुटीहरु जलेर नष्ट हुने गरेको संरक्षणकर्मीको भनाइ छ । निकुञ्जमा डढेलो लागेका कारण वन्यजन्तु बाहिर निस्कन खोज्ने भएकाले वन्यजन्तुबाट दुर्घटना हुन सक्ने खतरा पनि रहको छ ।

प्रतिक्रिया दिनुहोस्: