वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

विकासको लागि राजनैतिक धैर्यता

        जी.एन्. श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, कार्तिक ३, २०७५ ।    

“विकासका लागि स्थिर राजनैतिक प्रणाली, चुस्त प्रशासन तथा दृढ इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ । जनताले त्यसैका लागि दुई तिहाई निकटको मत प्रदान गरेका छन् नेकपालाई । यदि यो बुझाईमा भ्रम उत्पन्न भयो भने पार्टीको त कुरै नगरौँ सिंगो राष्ट्रका लागि त्यो घातक हुनेछ ।

-जी.एन्. श्रेष्ठ

सन् १९८० को दशकमा दुई जना पात्र र दुई वटा शब्द निरन्तर समाचारमा आइरहने र छाइरहने गर्थे । ति दुई पात्रहरुले दुई शक्ति सम्पन्न राष्ट्रको प्रतिनिधित्व गर्दथे । रोनाल्ड रेगनले पूँजिवादी शक्ति अमेरिका र मिखाईल गोर्वाचोभले समाजवादी शक्ति सोभियत संघको नेतृत्व गर्थे । उनीहरुले वेलावेलामा वार्ता गरेको निशस्त्रीकरणको कुरा गरेको  रेडियोमा खुबै सुनिन्थ्यो ।

त्यति मात्र होइन पेरेस्तोइका र ग्लास्तानोभ भन्ने दुईवटा शव्द पनि निकै सुन्नमा आउथ्यो । भनिन्थ्यो, सोभियत संघले गोर्वाचोभका विचारमा अंगालेको त्यो नीतिले सोभियत संघको आधुनिक विकास अगाडि बढ्नेछ । व्यापक प्रचार गरिएको त्यही विचारले सोभियत संघको विकास होइन विखण्डन गर्‍यो र अमेरिका एकल विश्व महाशक्तिका रुपमा रह्यो । त्यस पछिको अमेरिकाको सन्दर्भमा कुरा गर्दा अमेरिकालाई दुई पार्टी रिपब्लिकन र डेमोक्रेटिकले जर्ज वुस, विल क्लिन्टन, जर्ज डब्लु वुस, बाराक ओवामा तथा डोनाल्ड ट्रम्प जस्ता राष्ट्रपतिहरु मार्फत शासन गरिसकेका छन् । जुनसुकै व्यक्ति र पार्टी सरकारमा गएपनि यसले अमेरिकालाई तात्विक रुपमा विकासका लागि  कुनै फरक पारेको छैन । यस्को एउटै कारण राजनैतिक स्थायित्व हो ।

उता चमत्कारिक विकासको लालसा देखाएर ल्याइएको सुधारवाद र खुल्लापन (पेरेस्टोइका र ग्लास्तानोभ) ले सोभियत संघलाई विघटन र छिन्नभिन्न बनायो । सत्ताको हानथापमा यस्को सबैभन्दा ठूलो गणराज्य रुस चरम जातिय, क्षेत्रिय अराजकता र अस्तित्वको संकटवाट गुज्रियो, सवै सामाजिक र राजनैतिक संरचनाहरु कमजोर भए । त्यसै कालखण्डमा उदाएका रुसका राष्ट्रपती भ्लादिमिर पुटिन र उनले लिएको राष्ट्रिय स्वाभिमानको नारामा सवै रुसी एकतावद्ध भई अगाडि बढ्दा रुसमा व्याप्त रहेको अराजकताको अन्त्य भई एउटा स्वचालिन राज्य प्रणाली स्थापना गर्न सफल भए जस्को परिणाम आज केही वर्ष मै त्यही अस्तव्यस्त र अराजक रुस शक्तिशाली अमेरिकालाई चुनौती दिने अवस्थामा आईपुगेको छ । अमेरिका लगायत पश्चिमा राष्ट्रको आर्थिक नाकावन्दीका बावजुत यसले आफुलाई तिव्र विकासमा अगाडि बढाईरहेको छ ।

नेपालमा हामीले यो केही दशकमा सबै प्रणालीहरु भत्कायौँ । राजनैतिक रुपमा अस्थिरता र सामाजिक रुपमा अराजकतालाई बढावा दियौ । कुनै पनि सरकारलाई स्थिर रुपमा टिकाउन सकेनौँ । पार्टीहरुलाई गुट उपगुटमा परिणत गर्‍यौँ । निश्चित नेतालाई करेस्मेटिक चरित्रको देख्ने र उस्को पछिलाग्दा आफ्नो भविष्य सुरक्षित हुने ठान्यौँ, जस्ले नेता नोकरशाह जस्तो अनि कार्यकर्ता चाकडीवाज बन्न पुग्यो । भएका संरचना जसरी सजिलै भत्कायौं, त्यही अनुरुप निर्माण गर्नुपर्ने संरचना निमार्ण गर्न सकेनौं । यस विचमा भएका ठुला ठुला राजनैतिक परिवर्तनहरु, ति राजनैतिक परिवर्तन संगै देखाईएका विकासका सपनाहरु पुरा गर्ने दायित्व सवै राजनैतिक दल तथा नेतृत्वको कांधमा छ, चाहे कोही सरकारमा होस् वा सरकार बाहिर होस् भन्ने कुरालाई आत्मसात गर्न सकेनौ ।

छ/ छ महिनामा सरकार बदल्ने अस्थिरताको लामो श्रृंखलाको अन्त्य गर्ने गरी संविधान निर्माण संगै दुईतिहाईको सरकार निर्माण भएको छ तर जनताले चाहे जसरी विकास हुन सकिरहेको छैन, क्रमशः जनतामा निराशा बढ्दै जान थालेको छ । तर यही निराशामा कसैले आफ्नो भविष्य देख्न थालेको छ भने त्यो पनि सत्य होइन । जब भत्किएको लिक पूर्ण रुपमा निर्माण हुन्छ तब रेल सही ढंगले गुड्न थाल्छ, लिक निर्माण नहुँदै रेल गुडाउन प्रयत्न गरिन्छ वा अर्काे ड्राइभर मार्फत भत्केकै लिकमा रेल गुडाउछु भन्नु मूर्खतापूर्ण हुनेछ र यसले दुर्घटना नै निम्त्याउने छ । यसले बन्दै गरेको प्रणालीलाई फेरी अस्तव्यस्त बनाउने छ, जो कुनै नेपालीको हितमा छैन ।

जनतामा गएको स्थानिय तहको निर्वाचन पछि अलि बढी नै आशा जागेको हो । जनताले आफूले रोजेको नेतृत्व मार्फत शासन व्यवस्था संचालन गर्ने गरी स्थिर संरचनाको स्थापना भैसकेको छ तर विकासका लागि चाहिने नीति, नियम तथा योजना बनाउने काममा पछि पर्दा अलि ढिलो भएको छ । किनकी हिजो हामीले अराजकतामा गुमाएका वर्षहरुको क्षतिपूर्ति पनि विकासका मार्फत गर्नुछ । तत् अनुकुलको विज्ञ जनशक्ति आज देशलाई खट्केको महशुस भईरहेको छ । यो नै यस्तो बेला हो, सबैले आफूसँग भएको क्षमता देखाउने र राष्ट्रका लागि लगानी गर्ने । यदि त्यसो गर्न सकियो भने हामी सबै सुरक्षित हुनेछौँ । एउटा सवल प्रणालीको स्थापना हुनेछ र विकासले गति लिनेछ । एक खालको राजनैतिक संक्रमणको अन्त्य भएको छ तर प्रसासनिक संक्रमण तथा कानूनी उल्झनहरु अझैं बाँकी छन तसर्थ सरकारले छिटो भन्दा छिटो यसको अन्त्य गर्नु पर्दछ ।

विकासका लागि स्थिर राजनैतिक प्रणाली, चुस्त प्रशासन तथा दृढ इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ । जनताले त्यसैका लागि दुई तिहाई निकटको मत प्रदान गरेका छन् नेकपालाई । यदि यो बुझाईमा भ्रम उत्पन्न भयो भने पार्टीको त कुरै नगरौँ सिंगो राष्ट्रका लागि त्यो घातक हुनेछ । यस बिचमा सरकारले गरेका राम्रा कामको सन्देश सवै नागरिकसम्म पुर्‍याउने र तत्काल गर्नु पर्ने कामको लागि रचनात्मक आलोचना गर्ने काम असल नागरिकका हैसियतले हामी सबैले गर्नु आवश्यक छ ।

आज देशले स्थिर सरकार र सवल नेतृत्व दुवै प्राप्त गरेको छ, अव ढिलो नगरी जनतालाई दिएको वचन पुरा गर्ने तर्फ लाग्नु पर्दछ । बितेको दशकमा हामीले धेरै व्यक्तिलाई नेतृत्वमा पुर्‍यायौँ, कतिलाई पटक पटक नेतृत्वमा पुर्‍यायौँ तर पनि विकास हुन सकेको छैन । यसकारण कुनै एक जना व्यक्तिले विकास गर्छ भन्नु भन्दा पनि विकासका लागि स्थिरताको जरुरत छ, स्थिरताका लागि राजनैतिक धैर्यता जरुरत छ, जो सबैले वुझ्न आवश्यक छ ।

-लेखक ठाकुरबाबा नगरपालिका, बर्दियाका नगरप्रमुख हुन ।

प्रतिक्रिया दिनुहोस्: