वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

भुरिगाउँको पसलहरुमा छड्के, अधिकांश पसलमा म्याद गुज्रिएको सामान फेला

        भावुक योगी   |   प्रकाशित मिति: बुधबार, असार ६, २०७५ ।    

भावुक योगी/भुरिगाउँ (बर्दिया) ।
जिल्ला प्रशासन कार्यालय बर्दियाबाट आएको बजार अनुगमन टोलीले ठाकुरबाबा नगरपालिका–१ भुरीगाँउ बजारका किराना पसलहरुमा छड्के जाँच गरेको छ । अनुगमन टोलीले गरेको छड्केमा म्याद नाघेका खाद्य तथा प्रयोग गर्न अयोग्य सामानहरु बिक्री भैरहेको फेला पारेको छ ।

विशेषगरी खाद्य सामानहरु बिक्री गर्ने किराना पसल तथा जनरल स्टोरहरुबाट मिक्स फ्रुटजाम, सेन्चुरी मसला, सनफ्लावर तेल लगाएतका म्याद नाघेका खाद्य तथा अबैध रुपमा ल्याईएका प्रयोग गर्न अयोग्य गुटखा लगायतका सामानहरु फेला पारेको बजार अनुगमन टोलीका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकिय अधिकृत अर्जुन सुबेदीले बताए ।

अनुगमन टोलीले भुरीगाँउ बजारको सुभाष जनरल स्टोरबाट सबैभन्दा बढी म्याद गुज्रिएका सामान जफत गरेको छ । कर्णाली जनरल स्टोर, विपन जनरल स्टोर, सुर्यकिरण जनरल स्टोर, बराल किराना पसल, पौडेल किराना पसल, सोनी कोल्ड स्टोर, मनोज कोल्ड स्टोर लगाएतका पसलहरुमा गरीएको अनुगमनका क्रमममा झण्डै ३० हजार मूल्य बराबरका म्याद नाघेका सामानहरु फेला पारेर जफत गरेको छ । अनुगमन गरीएका भुरीगाउँ बजारका कुनैपनि किराना पसलहरुमा उपभोक्ता मूल्य सुची समेत नराखेको पाईएको अनुगमन टोलीले जनाएको छ । मूल्य सुची नराखी मनोमानी ढंगबाट खाद्य सामान विक्री भईरहेकाले पहिलो पटकलाई चेतावनी दिएर छाडिएको टोलीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत अर्जुन सुबेदी र बिनय केशीको संयोजकत्वमा आएको अनुगमन टोलीले भुरीगाँउ बजारका अधिकाँस किराना पसलहरुमा म्याद नाघेका बस्तुहरु फेला पारेपछी अनुगमन टोलीले नगर स्वास्थ्य प्रमुख, प्रहरी र पत्रकारको रोहबरमा सो सामानहरु नष्ट गरेको छ । म्याद गुज्रिएका खाद्य बस्तु बिक्री गर्दै आएका ब्यापारीहरुलाई कानुन अनुसार कार्बाही हुने प्राबधान भएपनि पहिलो चरणको अनुगमन भएकाले कार्बाही नगरी चेतावनी दिएर छाडेको अनुगमन टोलीले जनाएको छ । अर्कोपटक फेरी यस्तो पाईएमा कानुनी कार्वाही गरिने जनाईएको छ ।

सामान खरिद गर्दा उत्पादन मिली र उपभोग गर्न योग्य मिति हेरेर खरिद गर्न उपभोक्ताहरुलाई अनुगमन टोलीले अनुरोध गरेको छ । सरकारको बजार अनुगमन गर्ने सँयन्त्र अनुसार देशैभरी म्याद गुज्रिएका खाद्य बस्तुको बेला बेलामा अनुगमन भैरहेको भएपनि ब्यापारीहरुले उपभोक्तालाई म्याद गुज्रीएका खाद्य सामानहरु बेचीरहेका छन् ।

खाद्य ऐन २०२३ अनुसार दुषित खाद्य पदार्थ उत्पादन विक्री वितरण निकासी वा पैठारी गर्ने ब्यक्तिलाई ५ देखि १० हजारसम्म जरिवाना र १ देखि २ बर्षसम्म कैद वा दुबै सजाय हुने ब्यवस्था रहेको छ । तर म्याद गुज्रिएका खाद्य बस्तु बिक्री गर्दै आएका ब्यापारीहरुलाई कानुन अनुसार कार्बाही हुने प्राबधान भएपनि कार्वाही भने गरेको पाईदैन ।

यसअघि गतवर्ष पनि भुरीगाँउ बजारकै १३ वटा किराना पसलबाट म्याद नाघेका झण्डै २० हजार मूल्य बराबरका खाद्य सामाग्री नष्ट गरेको थियो । जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ्ग, ठाकुरबाबा नगरपालिकाका नगरउपप्रमुख कृष्णा कुष्मा थारु, ईलाका प्रहरी कार्यालय भुरीगाउँ र पत्रकार सहितको टोलीले भुरीगाउँ बजारका दुईवटा पेट्रोल पम्पको पनि अनुगमन गरेको छ ।

भुरीगाउँ बजारका पेट्रोल पम्पले पेट्रोल अभाव गरी सहज नबनाएको व्यापक जनगुनासो बढेपछी प्रमुख जिल्ला अधिकारी आफै अनुगमनमा आएका हुन। पेट्रोल पम्पले कुनैपनि कमी कमजोरी गरेको पाईएमा तत्काल कारबाही गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: