वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

बर्दियामा बढ्दै पर्यटक ; ‘बाघ हेर्न पाउदा पर्यटक खुशी’

        छापाबाट   |   प्रकाशित मिति: शनिबार, जेष्ठ ३२, २०७६ ।    

ठाकुरबाबा,बर्दिया।
बर्दिया निकुञ्ज र आसपासका दर्जन बढी पर्यटकीय गन्तव्यले पर्यटक लोभ्याइरहेका छन् । पाटे बाघ अवलोकनका लागि निकुञ्ज प्रसिद्ध छ । संरक्षित क्षेत्रभन्दा बाहिर थारू संस्कृतिको झल्को देख्न पाइन्छ । प्रकृति र संस्कृतिको मिश्रणले यी गन्तव्यहरू आन्तरिकका साथै बाह्य पर्यटकको रोजाइमा परिरहेका छन् ।
यहाँ जंगल सफारी, थारू गाउँ, थारू संग्रहालय, होमस्टे सञ्चालनमा छन् । पर्यटक बढेपछि रिसोर्ट खुल्ने क्रम बढेको छ । कर्णाली र बबई नदीमा र्‍याफटिङको छुट्टै मजा छ । त्यसैले पछिल्लो समय पर्यटकको संख्या उल्लेख्य बढेको हो । अहिले बर्दिया भ्रमण वर्ष सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा २५ हजारभन्दा बढी पर्यटक घुम्न आएका छन् ।


पर्यटक आउने क्रम जारी छ । बर्दिया निकुञ्जका अनुसार उक्त तथ्यांक गत वर्षको भन्दा बढी हो । निकुञ्जमा सहजै बाघ देखिन थालेपछि स्वदेश/विदेशबाट पर्यटक बढेका हुन् । निकुञ्जमा ८७ वयष्क बाघ छन् । ‘निकुञ्ज प्रवेश गरेका ९० प्रतिशतले बाघ देख्न पाएका छन्,’ बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, ‘बाघ हेर्न आउने अधिकांश पर्यटक निराश भएर फर्किनुपरेको छैन ।’
ठाकुरद्वारामा गोही प्रजनन केन्द्र छ । हात्ती सफारीको उचित प्रबन्ध छ । निकुञ्ज घुम्नका लागि विदेशी पर्यटकलाई १ हजार ५ सय, सार्क मुलुकका पर्यटकका लागि ७ सय ५० र स्वदेशीलाई १ सय रुपैयाँ शुल्क लाग्छ । त्यस्तै जिप प्रवेशका लागि ३ हजार शुल्क छ ।
हात्ती सफारीका लागि विदेशीलाई २ हजार ५ सय, सार्कका लागि १ हजार ५ सय र स्वदेशी पर्यटकका लागि ५ सय रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा गैंडाको संख्या बढेको छ । एक दशकयता गैंडाको संख्या ३७ पुगेको छ । सन् २००८ मा संख्या २२ मा झरेको थियो । बबई उपत्यकाको परेवा ओडारमा छाडिएका डेढ दर्जन बढी गैंडा चोरी सिकारी भएपछि संख्या एकाएक घटेको थियो ।


कर्णाली चिसापानीमा गर्मी छल्न जानेको भीड लगेको छ । चिसो हावामा सेल्फी लिन र माछा खान पुग्ने बढी हुन्छन् । विदेशीहरू र्‍याफटिङका लागि कर्णाली नदीमा पुग्छन् । एउटै पिलर र तारमा झुलेको पुल एसियाकै नमुना मानिन्छ । दैनिक सयौं विदेशी तथा स्वदेशी पर्यटक त्यहाँ पुग्छन् । कर्णाली चिसापानीमा घुम्नुको मजा नै फरक छ । अझ गर्मी समयमा यहाँको वातावरण अति नै आनन्ददायक हुन्छ । र्‍याफटिङका लागि नेपाललाई दुई सय, सार्क पर्यटकका लागि २ हजार र विदेशीलाई ४ हजार शुल्क तिर्नुपर्छ ।

होमस्टेको आकर्षण
बर्दिया निकुञ्जको मुख्यालय नजिकै डल्ला गाउँमा पर्यटकका लागि थारू होमस्टे सञ्चालनमा छ । २२ घरमा सञ्चालन भइरहेको होमस्टेमा थारू परिकार, थारू संस्कति, परम्परागत नाच हेर्न सकिन्छ । पछिल्लो समय डल्ला होमस्टे, गोबिन्दपुर जैबिक होमस्टे लगायत अन्य चर्चित बन्दै गएको छ ।
नजिकै रहेको शिव सामुदायिक वनमा दिउँसै गैंडा देख्न पाइने भएकाले पर्यटक आउने गरेका हुन् । नेपालकै सबैभन्दा लामो आरसीसी पुल कर्णाली गेरुवा १ हजार १५ मिटर लामो छ । लामो पुल हेर्न दैनिक सर्वसाधारण पुग्छन् । यो पुलले बर्दियाको श्रीलंका टापुका रूपमा चिनिने राजापुरलाई जोडेको छ ।


पुल नहुँदा राजापुरलाई अति नै विकट क्षेत्रका रूपमा हेरिन्थ्यो । ‘पुल बनेपछि हेर्न आउनेको भीड हुन थालेको छ,’ राजापुरकी राजकुमारी चौधरीले भनिन्, ‘पुलले हाम्रो गाउँमा चहलपहल बढाएको छ ।’ गुलरिया नगरपालिकाको खैरापुरमा कृष्णसार संरक्षण क्षेत्र छ । जहाँ लोपोन्मुख वन्जजन्तु कृष्णसार पाइन्छ । हावाको गतिमा हाम फाल्न सक्ने उक्त जनावर हेर्न आन्तरिक तथा बह्य पर्यटक आउने गरेका छन् । संरक्षण समितिले पर्यटकका लागि १ सय रुपैयाँ शुल्क तोकेको छ ।

नदी र तालको संगम
बाँके, बर्दिया, सुर्खेत र सल्यान जोड्ने बर्दियाको सुन्दर पर्यटकीय स्थल चेपाङ गाउँ । बबई नदी छेउमै रहेको उक्त गाउँमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यो गाउँ व्यवस्थित भने छैन । बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले पर्यटन क्षेत्रका रूपमा चेपाङ गाउँलाई विकास गर्न लागिपरेको बताए । वैशाखदेखि बर्दिया भ्रमण वर्ष ०७६ सञ्चालन भइरहेको छ । यहाँका पर्यटन व्यवसायीले बर्दिया घुम्न आउनका लागि देश/विदेशमा निम्तो पठाएका छन् ।


सबैभन्दा ठूलो बढैयाताल १ सय १० बिघा क्षेत्रफलमा फैलिएको छ । १२ महिनै पानी जम्ने दलदले तालमा दुर्लभ चराचुरुंगी र पानीमा बस्ने जीवजन्तु पाइन्छन् । तालमा बोटिङको व्यवस्था मिलाइँदै छ । उक्त तालमा ३१ बढी प्रजातिका चरा पाइने स्थानीय बताउँछन् । मुलुककै दुर्लभ प्रजातिका सारसलगायत चरा देख्न पाइछ ।


साइबेरिया र भारतबाट पनि पाहुनाका रूपमा चरा आउँछन् । संरक्षण अभावमा बासस्थान संकटमा परेपछि चरा कमै देखिन्छन् । स्थानीयका अनुसार तालमा सारस, करेङकुरुङ, साइबेरियन हाँस, कुर्मा, मरुल, लामाऔले, राज हुटिट्याउँ, टिमटीमा, मलाह चिल, माटीकोरी प्रजातिका चरा पाइन्छन् । डुबुल्की, जलेवा, चखेवा, ७ प्रजातिका बकुल्ला, लाल टाउके गरुड, करी साँवरी, सिलसिले, खडखडे हाँस, बिजुलागैरी, हरियो टाउके, सुइपुच्छे, सिम कुखुरालगायत प्रजातिका चरा तालमा पाइन्छन् । माछापालन गर्दा पानीजन्य जीवजन्तु नष्ट भए । जैविक विविधता पनि हरायो ।
बढैयाताल गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठले नेपालकै पर्यटकीय क्षेत्रका रूपमा यसको विकास भइरहेको बताए ।
बारबर्दिया नगरपालिकास्थित खैरेनीका सातखोलवा पनि पर्यटकीय क्षेत्रका रूपमा विस्तार हुँदै गएको छ । यहाँ पनि केही होमस्टे सञ्चालनमा छन् । तालमा बोटिङको व्यवस्था मिलाइएको छ ।
आन्तरिक पर्यटकका लागि ५० रुपैयाँ शुल्क लिने गरिएको छ । बर्दियामा पर्यटक आउजाउ गर्ने बढेपछि विभिन्न स्थानमा होमस्टे सञ्चालन हुँदै छन् । ठाकुरद्वारामा दुई दर्जन बढी सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएका छन् । पर्यापर्यटन विकास समितिका अध्यक्ष मोहन चौधरीले एउटै रिसोर्टमा करोडौं लगानी भएको बताए ।
उनका अनुसार रिसोर्ट र होटलमा अर्बौं लगानी गरिएको छ । रिसोर्ट सञ्चालनसँगै स्थानीयले रोजगारी पाउँदै गएका छन् । बर्दिया विदेशी तथा स्वदेशी पर्यटकको रोजाइको गन्तव्य बनिसकेको छ ।

कान्तिपुरबाट लिएको यो खबर ठाकुरसिह थारुले लेखेका हुन।

प्रतिक्रिया दिनुहोस्:


Loading...