वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

बर्दियाबाट एसईईमा ७ हजार बढी परीक्षार्थी सहभागी हुँदै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, चैत्र ७, २०७४ ।    

गत वर्षभन्दा यस वर्ष एसईई दिने विद्यार्थीको संख्या करिव एक सयको हाराहारीले घटेको शिक्षा कार्यालयले जनाएको छ । यसैगरी छात्र भन्दा छात्रा परीक्षार्थीको संख्या बढी रहेको छ ।

सुदीप अधिकारी/बर्दिया ।
चैत्र ८ गतेदेखि सुरु हुने यस वर्षको एसईई परीक्षामा बर्दियाबाट ७ हजार ४ सय ८ परीक्षार्थीहरु सहभागी हुने भएका छन् । जिल्ला शिक्षा कार्यालय बर्दियाको तथ्याङ्क अनुसार एसईई परीक्षामा नियमित समूहबाट ६ हजार ९ सय ५१ जना र एक्जाम्टेड समूहबाट ४ सय ५७ जना परिक्षार्थीहरु सहभागी हुँदैछन् ।

                                                                                                                                                                                        फाईल तस्विर ।

गत वर्षभन्दा यस वर्ष एसईई दिने विद्यार्थीको संख्या करिव एक सयको हाराहारीले घटेको शिक्षा कार्यालयले जनाएको छ । यसैगरी छात्र भन्दा छात्रा परीक्षार्थीको संख्या बढी रहेको छ । कार्यालय स्रोतका अनुसार एसइईमा नियमित र एक्जाम्टेड गरी ४ हजार २ सय ३० छात्रा छन भने, छात्रको संख्या ३ हजार १ सय ७८ रहेको छ । यसैगरि एसईई परीक्षामा १ सय ८६ विद्यार्थी अयोग्य ठहर भएका छन् । परीक्षा फाराम भरेको तर समयमै राजश्व नबुझाएका विद्यार्थीलाई कार्यालयले अयोग्य ठहर गरेको हो ।

एसईई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा कार्यालयका प्रा.स. शेरबहादुर रोकाले जानकारी दिए । परीक्षाका लागि जिल्लामा ३४ वटा परीक्षा केन्द्र कायम गरिएको छ । प्रत्यक केन्द्रमा १/१ वटा केन्द्राध्यक्ष, ३ सय भन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा २ वटा सहायक केन्द्राध्यक्ष र २५ परीक्षार्थी बराबर १ निरीक्षक रहने गरी निरीक्षक एसइई परीक्षामा खटाइएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परिक्षा केन्द्रको संख्या गत वर्ष जती कै भए पनि स्थानमा भने सामान्य हेरफेर गरिएको छ । परीक्षार्थीलाई केन्द्रसम्म पुग्न हुने कठिनाई र व्यवस्थापनलाई मध्यनगर गरी परीक्षा केन्द्रमा सामान्य हेरफेर गरिएको कार्यालयले जनाएको छ ।

परीक्षामा मोवाइल, गाइड गेसपेपर लगाएतका सामाग्रीहरु परीक्षा केन्द्रमा लैजान निषेध गरिएको कार्यालयले जनाएको छ । परीक्षामा हुनसक्ने नराम्रा गतीविधीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था पनि चुस्त पार्नुका साथै परीक्षा अनुगमन टोलीलाई प्रभावकारी परिचालन गरिने कार्यालयले जनाएको छ । परीक्षाको मर्यादा विपरीत काम गर्ने जो कोहीलाई विभागको निर्देशन बमोजिम कारवाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: