वि.सं.   आइतवार, अशोज ५, २०७६   तदनुसार  22 September 2019

बर्दिया राष्ट्रिय निकुञ्जका बाघ आक्रमक बन्दै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, भदौ १८, २०७६ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका पाटेबाघ आक्रमक बन्न थालेका छन् । आहाराको खोजी लगायत नयाँ आधारक्षेत्र खोज्ने क्रममा बाघ आक्रमक बन्ने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए । उमेर पुगेका बाघ नयाँ आधारक्षेत्र खोज्ने क्रममा पनि आक्रामक हुने गरेको निकुञ्ज स्रोतले जनाएको छ ।

बाघको आक्रमणबाट बर्दियामा भाद्र महिनामा मात्र २ जनाको ज्यान गएकोे छ । गेरुवा गाउँपालिका–४ दांगपुरकी ५६ वर्षीया रामकली शाही र ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँका ७० वर्षिय पहरिया थारुको बाघको आक्रमणबाट ज्यान गएको हो ।

संरक्षणमा जोड, चोरी सिकार नियन्त्रण लगायतका क्षेत्रमा कडाई गरिँदा निकुञ्जमा पाटेबाघको संख्या बढेको छ तर बाघ बढे संगै मानव सँगको द्वन्द पनि बढ्न थालेको छ । बुढोबाघ, आहाराको कमी लगायत बासस्थानमा समस्या आउँदा द्वन्दात्मक अवस्था आउने निकुञ्ज स्रोतले जनाएको छ । आक्रामक बाघको अनुगमन गर्ने लगायत सम्भावित आक्रमण हुन सक्ने क्षेत्रमा जाली जडान गर्ने तयारी निकुञ्जले गरेको छ ।

यसै बिच ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँका ७० वर्षिय पहरिया थारुलाई आक्रमण गर्ने लोपोन्मुख जातीको पाटे बाघ बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार केन्द्रमा मरेको छ । मानिसलाई आक्रमण गरेको भन्दै निकुञ्जले नियन्त्रणमा लिएर राखेको बाघ निकुञ्जको उद्धार केन्द्रमा मरेको हो  । निकुञ्ज स्रोतका अनुसार नियन्त्रणमा लिइएको पोथी बाघ करिब १४ देखि १५ वर्ष उमेरको बुढो र बिरामी अवस्थामा भेटिएको थियो । बाघ बुढो र बिरामी भएका कारण मरेको निकुञ्जले जनाएको छ ।

बन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउदै आएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा पाटेबाघ रहेको पछिल्लो तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...