वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

गर्भवती महिलालाई आयोडिनयुक्त नुन अभाव

        छापाबाट   |   प्रकाशित मिति: बिहिबार, फाल्गुन २४, २०७४ ।    

गुलरिया, बर्दिया ।

बर्दियाका ग्रामीण सीमावर्ती क्षेत्रका बस्ती तथा बजारमा कम आयोडिन भएका भारतीय नुन छ्यापछ्याप्ती बिक्री गरिएपछि त्यस क्षेत्रका गर्भवती महिला, बालबालिकालगायत स्थानीयले अन्तर्राष्ट्रिय मापदण्डअनुसार आयोडिनयुक्त नुन उपभोग गर्न पाएका छैनन् । बढी मुनाफाको प्रलोभनमा स्थानीय व्यापारीले कम आयोडिनयुक्त भारतीय नुन बिक्री गर्दा मापदण्डअनुसार आयोडिनयुक्त नुन अभाव भएको हो । ‘गर्भवती महिलाका लागि आयोडिनयुक्त नुन अनिवार्य हुन्छ’, जिल्ला स्वास्थ्य कार्यालय बर्दियाकी पोषण सम्पर्क व्यक्ति गीता घिमिरेले भनिन् ।

घिमिरेका अनुसार जिल्ला स्वास्थ्य कार्यालयसहितको संयुक्त अनुगमन टोलीले केही दिनअघि बजार अनुगमनका क्रममा २ सय २४ किलोग्राम गुणस्तरहीन नुन पसलबाट बरामद गरिएको थियो । आयोडिन अभावमा गर्भमा रहेका बालबालिकाको वृद्धि विकासमा समस्या पर्ने चिकित्सकको भनाइ छ। भारतीय बजारमा बिक्री हुने नुनमा रहेको आयोडिनको मात्रा भारतीय उपभोक्ताका लागि भने उपयुक्त मानिन्छ । भारतीयले प्रयोग गर्ने नुनमा १५ पीपीएम आयोडिनको मात्रा राखिन्छ भने नेपालीले प्रयोग गर्ने नुनमा ५० पीपीएम आयोडिन हुनुपर्ने डब्लुएफपीको मान्यता छ । नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन बिक्रीको जिम्मा लिएको छ ।

यो समस्यालाई ध्यानमा राख्दै बर्दियामा पनि कर्पोरेसनले डिपो कार्यालय सञ्चालनमा ल्याएको डिपो प्रमुख लोकनाथ शर्माले बताए । ‘नेपाल समुद्र क्षेत्रबाट टाढा रहेकाले र यहाँको माटोमा आयोडिनको मात्रा कम पाइने भएकाले नुनबाटै शरीरलाई चाहिने आयोडिन पूर्ति गर्नुपर्छ’, शर्माले भने, ‘त्यसैले बढी आयोडिन भएको नुन प्रयोग गर्नुपर्छ ।’ डिपो सञ्चालनमा आएपछि नुनको कुनै अभाव नरहने शर्माले प्रस्ट पारे ।

सरकारले दुई बालबालिका अंकित आयोडिनयुक्त खानेनुन उपभोक्ताको प्रयोगका लागि मान्यता दिएको छ। तर, व्यापारीको लापरबाहीलगायत उपभोक्तामा चेतना अभावले नेपालका लागि कम गुणस्तरीय मोर, तामस, टीवमलगायत ढिके नुन बिक्री भइरहेको पाइएको हो । विशेष गरी सीमा जोडिएका बजारमा धेरै समस्या रहेको शर्माको भनाइ छ ।

आयोडिनयुक्त नुन सहज रूपमा आपूर्ति नहुँदा यस्तो समस्या देखिएको राष्ट्रिय उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाले बताए । ‘नेपाली नुनमा व्यापारीलाई कम मुनाफा हुने भएकाले थोरै रुपैयाँ भए पनि मुनाफा हुने प्रलोभनमा स्वास्थ्यमाथि खेलबाड भएको हो’, अध्यक्ष तिमिल्सिनाले भने । ग्रामीण उपभोक्तामा आयोडिनका सम्बन्धमा चेतना कम भएको उनको भनाइ छ ।

– यादब आचार्यको यो समाचार हामीले अन्नपूर्णबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: