वि.सं.   शुक्रबार, असार ८, २०७५   तदनुसार  22 June 2018

के बौद्धिक वर्गले दासता मन पराएकै हो त ?

        अयोध्या प्रसाद श्रीवास्तव   |   प्रकाशित मिति: आइतवार, चैत्र २५, २०७४ ।    
  • अयोध्या प्रसाद श्रीवास्तव

राजनीतिक स्थिरता , शासनमा शुद्धता, विकास र समृद्धि कुनै पनि देशको अनिवार्य आवश्यकता हो । तर यौटा कुरा सांचो के पनि हो भने देशमा विकासको गति मन्द नै किन न होस, मानिसहरु अशिक्षित, मूढ, गँवार गाउंले जस्ता किन न देखिउन्, औद्योगीकरण र शहरीकरणको दौड भले नहोस तर स्वाभाविक शान्ति भने कायम रहेको छ भने त्यहांका मानिसहरुबाट देश दुनियालाई त्यति धेरै खतरा हुने संभावना हुंदैन । तर देशको जनसंख्या मध्येको बुद्धिजीवी वर्ग यदि, आफूलाई मात्र बुद्धिमान ठान्दछ,, लालबुझक्कड छ, ,अरुको कुरा सुन्न बुझन मन पराउंदैन र यदि दास मानसिकतामा र भेडा प्रवृत्तिमा पनि डुबीसकेको छ, भने बुद्धिजीवी नै देशकालागि घातक हुन पुग्दछन् । त्यस्ताले जानी जानी राष्ट्र्को अहित नगरेपनि, जनतालाई दुख नदिएपनि , शोषण, अशान्ति र दमन नगरेपनि तिनका सूझबूझ, गतिविधि, ,चिन्तन, पाप पुण्य, राम्रो नराम्रो, उचित अनुचितको धारणा, बुझाई र क्रियाकलाप नै देश र जनताकोलागि अभिशाप बन्न पुग्दछ । अंतमा तिनी र तिनका संतति अर्काका क्रीत दास हुन पुग्दछन् । संसारको इतिहास नै यी कुराहरुको प्रमाण हो ।
हामीले आफुले गरेका प्राय सबै कामहरुलाई उचित र न्यायसंगत ठान्दछौं, हुन गएको गल्तीलाई सुधार्न र भविष्यमा आफू सुध्रिन प्रयास गर्दैनौं । कि त लापरवाही गर्छाैं कि त अरुले के भन्लान भनेर संकोच गर्दछौं कि त अब आफु सुध्रिन थाल्यो भने अहिले सम्म चोट खाएका पीडितहरुले मार्छन् भन्ने डर ले गर्दा पनि आफनो त्रास कायम राख्दै आफु सुध्रिन सकी रहेका हुंदैनौं । यस कारण आफूले गरेका अन्यायपूर्ण काममा पश्चाताप र प्रायश्चित गर्ने मानिस बहुतै कम भेटिन्छन् ।
यहां बुद्धिजीवीको कुरा यस कारण उठाइएकोछ कि राजनीतिक स्थिरता, शाशनको सुदृढीकरण, विकास, न्याय र शान्ति जस्ता कुराहरु बुद्धिजीवी कै संलग्नतामा संभव हुन सक्दछ । इनी लागीपरेमा देश बन्छ र नचाहेमा देश बिग्रन्छ । राजनीतिक र सामाजिक संस्कार निर्माणमा इनको ठूलो भूमिका हुन्छ । बुद्धिजीवी वर्ग, जसमा यदि नेतालाई राजनीतिक खेलाडी र नीति निर्माताको रुपमा अलग राखेर कुरा गर्ने हो भने सामाजिक आचरण को उदाहरणीय भूमिकामा मध्यम वर्गका गुरु पुरोहित, डक्टर, इन्जिनियर,ठेकेदार, कर्मचारी, वकील, शिक्षक, पत्रकार र अन्य शिक्षित व्यक्ति पर्दछन्, देशको उत्थान पतनको बढी जिम्मेवार यही बुद्धिजीवी वर्ग हो,जसमा कर्मचारी, शिक्षक र पत्रकार अझ बढी महत्वपूर्ण घटक हुन्छन् ।


यदि खतराको कुरा गर्ने हो भने सांच्चैको खतरा त शिक्षित र बुद्धिजीवीबाटै तब बढी हुन्छ जब ऊ आफु बढी महत्वाकांक्षी हुन्छ र राजनीतिक व्यक्तिहरुको सानिध्यमा पनि हुन्छ । बुद्धिमानले चिकित्सा जगतमा क्यांसरको औषधि सम्म खोज्न सफल भएकोछ,चन्द्रमामा पुगेको छ, विश्मयकारी भवन र त्यस भित्रका सुख सुविधा, तथा आश्चर्यजनक कामहरु गरेको छ तर बम पनि त उसैले बनाएको हो । शक्तिको कुरा गर्दा गर्दै युद्धको ताना बाना उसैले बुनेको त हो । यस्ता भयानक कार्यहरु अनपढ., गंवार गरीबगुरुवा र सर्वसाधारण मानिसले गरेको त होइन ।
बुद्धिजीवीले राम्रो भन्दा खराब काममा बढी ध्यान नदिएको भए यो दुनिया आज यति अशान्त हुने थिएन । नर नारी, गोरा काला, र्पुिर्वया पश्चिमेली,सवर्ण अछूत, धनी गरीब, आस्था विश्वास, भूमिमा कोरिएका सीमा रेखा तथा जाति वर्ग आदि आधारहरुमा घृणा, द्वैष र अपराध यसरी फैलिने थिएन र आज पनि यो अशान्तिको प्रमुख कारण रही आएकै छ । आफनो निष्कंटक, सुरक्षित र अभावरहित जीवन बिताउनकोलागी कल्पवृक्षका रुपमा रहेका धर्म र राजनीतिको नाममा लाखौं करोडौं मानिसको संहार, आंतक राज्य र व्यक्तिगत सम्पत्तिको लूट र विध्वंश । मानिसले, बुद्धिजीवीले नै त गरेको हो ।
नेपालको कुरा गर्ने हो भने मध्यम वर्गीय बुद्धिजीवीहरुको यौटा विशाल तबका केवल राजनीतिकर्मीहरुको पाउ मल्नमा लागीपरेको देखिदा आश्चर्य लाग्दछ । प्रकृतिले सबै मानिसमा यौटा न यौटा विशेष गुण दिएकोछ । झमक घिमिरे जस्ता शारीरिक अक्षमताका व्यक्तिले त कसैको पाउ मल्नु परेको छैन र आफनो लगन, परिश्रम र अठोटका भरमा प्राप्तगरेको उपलव्धिले देश ले नै श्रृंगार गरेर गर्व गर्नपाएकोछ भने सपांग सक्षम र कर्मठ बुद्धिजीवीहरुको यौटा ठूलो जमात यति लापरवाह, निराश र हतोत्साह किन ? राजनीतकर्मीलाई आवश्यक आदर सम्मान सम्म दिए पुगने हो तर तिनको पछि पछि लागेर आज्ञाकारी, वशवर्ती सेवक बन्ने प्रवृत्ति किन ? आफनै अवमूल्यन किन ? यसको एक मात्र उत्तर हो– अस्वस्थ्य प्रतिस्पर्धा, अत्यधिक उच्च महत्वाकांक्षा र विलासी जीवन बिताउने उत्कट अभिलाषा ।
अरुलाई लाभ हानि जे सुकै होस, तर प्रत्येक प्रतिफलमा बढी भन्दा बढी लाभ जसरी भएपनि आफुलाई प्राप्त होस भन्ने मानसिकताले काम हुन्छ भने यो बौद्धिक अधर्म हो , जसको अर्थ ऊ कहीं न कहीं राजनीतिक शक्तिको नजीक छ र उसले जे गरे पनि केही हुंदैन भन्नेमा ऊ ढुक्क छ । बौद्धिक अधर्मले देशको दुर्गति गराउंछ अंतमा कर्तालाई पनि दावानलले खान्छ । कुनै धूर्त या चतुर बुद्धिजीवीले आफू त “पापी पर्यावरण” मा परिदैन भन्ने परिकल्पना गर्नु व्यर्थ हो । केही पर्नगएको खण्डमा पहिलो चोट बार माथि नै हुन्छ र तिनीहरुलाई नै अचानो बनाइन्छ । सिकन्दर, हिटलर, सद्दाम हुसेन, इदी अमीन र तिनका आसेपासेका थुप्रै उदाहरण देखि आंखा चिम्लनु भनेको कंगारु बुद्धि हो ।
हाम्रो बौद्धिक वर्ग ले के गर्दैछ त ? अधिकांशको भूत र वर्तमान, काम, निष्ठा, वैभव, जीवन शैली, परिश्रमशीलता, कर्तव्यनिष्ठता, स्वक्षता र संगत यो सानो देश र पारस्परिक घनीभूत साहचर्य भएको समाजमा सबैको बारेमा समान्यतया सबैलाइ, नभए धेरैलार्ई थाह हुन्छ । कसैको बारेमा केही लुकेको छैन । “इस हमाम में हम सब नंगे हैं” भन्ने अवस्था मा छौं । कसैलाई लाज लागोस नलागोस या सबै उस्तै उस्तै भएपछि के को लाज ? भन्ने कुरा अलग हो । व्यवसायिक संगठनहरु राजनीतिक चाकरीबाजको रुपमा विकसित भएपछि राष्ट्र्सेवकले भीडमा झन् झन् मर्यादा बिर्सन र लाज पचाउन सजिलो हुने गर्दछ ।
बुद्धिजीवीले दुवै आंखा र मन बुद्धिलाई खुल्ला राखेर काम गर्नु पर्ने हो । किनकि ऊ बुद्धिजीवी हो, सामान्य राजनीतिकर्मी भन्दा एक अर्थमा बढी जान्ने बुझने हो र ऊ राजनीतिक कुकुर हुन सुहाउंदैन तर उसले बुद्धिमत्ताको प्रयोग गर्न नसकोस भन्नकालागि राष्ट्र्सेवकलाई धमिलो किसिमको वातावरण दिने क्रममा सर्व प्रथम संवत २०२८ साल पछि देशको यौटा ठूलो पवित्र शक्ति– शिक्षकहरुलाई प्रयोग गरेर २०३५ सम्म राजनीतिक समीपताको अभ्यास गराइएको भन्न सकिन्छ । त्यस पछि राजनीतिक खेलाडीले यो सफलतादेखि हौसिएर बुद्धिजीवीहरुलाई किन्न त सजिलो र लाभदायक रहेछ भन्ने ठम्म्याई गरेर अन्य बुद्धिजीवीहरुलाई घेरामा लिदै अब लगभग सबै तबकाका बुद्धिजीवीहरुलाई राजनीतिक अर्धराजनीतिक बनाउने काम सम्पन्न भैसकेको छ ।
जीवशास्त्रको आधारमा हेर्दा, मानिसलाई छोडेर संसारका सबै जीव एक देखि चार कोश सम्मका छन् तर मानिसलाई प्रकुतिले पांच कोशीय बनाएकोछ । यस अर्थमा अन्य जीवजन्तु जस्तै मानिसमा पनि आहार, निद्रा, भय, रोग र मैथुन जस्ता समान प्रवृत्ति भए पनि ऊ विवेकको शक्तिले गर्दा पशु पंक्षी र कीरा फटेंग्रा देखि भिन्न र उच्च स्तरमा छ । तब त्यो तत्व जसले गर्दा ऊ मानिस भएको हो र त्यो तत्वको अधिकारी व्यक्ति बुद्धिजीवी हो भने उसले मानव मूल्यको कदर किन गरिरहेको छैन ? आश्चर्य लाग्दछ । मानवमूल्यलाई सार्थक बनाउने दुइटा कुरा हुन्छन् (१) आफूलाई जानौं (२) अरुलाई सुनौं र बुझौं । यस्का प्रायोगिक सूत्र निम्नलिखित छन् ।
१, आफनो दिनचर्याको टाइमटेबुल बनाएर काम गर्नु ।
२, बचेको समय पठन पाठन र पुस्तकालयमा खर्चनु ।
३,बौद्धिक, नैतिक र विकासको छलफलमा सक्रिय भाग लिनु ।
४,आफनो ज्ञान, शीप, कला, र धन मध्येबाट नियमित अंशदान गर्नु ।
५, न्याय, अन्याय, सत्कर्म दुश्कर्म, उचित र अनुचितको निर्णय आफनो मन र सतही बुद्धिले नगर्नु, ज्ञानको कसीमा निर्णय गर्नु जस्को प्राप्ति अध्ययन, चिन्तन र सत्संगबाट हुन्छ ।
६, सादा जीवन उच्च विचारलाई गहना मान्नु ।
७,राजनेताहरुले राष्ट्र्सेवक, विशेषतया शिक्षक, कर्मचारी र पत्रकारलाई व्यवसायिक प्रतिबद्धतामा रहने वातावरण बनाई राखनु ।
विशुद्ध नीतिशास्त्रका बुंदा झैं देखिने ई कुराहरु राजनीतिशास्त्र संग सम्बन्धित छन् ।आफुलाई बुद्धिजीवी मान्नेले बुद्धि विवेकको काम गर्नै पर्दछ । धर्म र आस्था वा अन्य कुनै पूर्वाग्रह बिना जो जहां छ, दैनिक कम्तीमा दुइ घंटा समय पुस्तकालयमा र हप्तामा एक दिन केही समय बौद्धिक विचार विमर्शमा लगाउनु वेश हुन्छ । महान दार्शनिक प्लेटोले ई.पू. चौथो शतावदीमा रिपव्लिकमा स्वर्ग जस्तो राज्यको सिद्धान्त प्रतिपादन गर्दै लेखेका थिए “यदि समाजको प्रत्येक घटकले आफनो काम पूर्ण निष्ठा र इमादारीका साथ गर्दछ र अर्काको काममा हस्तक्षेप गर्दैन भने त्यही न्याय हो ।”

– यो लेखकको निजी विचार हो ।

प्रतिक्रिया दिनुहोस्: